बेइजिङको सिरेटो र त्यो भव्य शौचालय
मेरो चीन यात्राको श्रीगणेश अध्ययनको सिलसिलाबाट भयो भन्नु नै उपयुक्त होला । भारतसँग सीमा जोडिएको भूगोलको बासिन्दा भएर पनि अहिलेसम्म एक पटक मात्र दिल्ली पुग्ने आँट गरेको सन्दर्भलाई यहाँ सविनय स्वीकारोक्ति दिँदै म सीधा मुख्य प्रसङ्गतिरै फर्कन चाहन्छु ।
कुरा एकाबिहानैको हो– बेइजिङको समय अनुसार झिसमिसे ५ बजेको । बाहिर हेमन्त ऋतु आफ्नो चरम उत्कर्षमा थियो । भर्खरैको हिम वर्षापछि जमेको हिउँ पग्लिँदै गर्दा हड्डी नै कँपाउने चिसोको अनुमान सायद मलाई थिएन । मनमा भने चीनको वैभव र विश्व राजनीतिको केन्द्र मानिने ‘थिआन् मन स्क्वायर’ हेर्ने उत्कट अभिलाषा थियो । यस स्थानको इतिहाससँग जोडिएका मेजर जनरल स्यू छिनको विद्रोहपूर्ण गाथा पढेदेखि नै म भित्र थप कौतूहल जागेको थियो । स्यू छिन तिनै सैन्य कमान्डर हुन्, जसले सन् १९८९ को जनआन्दोलन ताका आफ्नै जनतामाथि गोली चलाउने आदेशलाई ‘अनुचित’ भनेपछि पदच्युत भइ काराबास पुगेका थिए ।
बेइजिङमा होटल भन्नु केवल सुत्ने र बिहानीको नित्यकर्म गर्ने ठाउँ मात्र रहेछ । खानाका लागि कि त महँगो मूल्य तिरेर बिहानको नास्तामा चित्त बुझाउनुपर्ने, नत्र साइबर संसारको सहारा लिनुपर्ने । चिनियाँ मोबाइल एपहरू यति प्रभावकारी छन् कि खाना अर्डर गरेपछि कोठाको ढोकासम्मै डेलिभरी ब्वाईहरूको दौडादौड चलिरहन्छ । हामी ‘बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालय’ को नवौँतले होटेलको छैटौँ तलामा बसेका थियौँ । विश्वविद्यालयको होटल रोज्नुको मुख्य कारण अन्यत्रको महँगो शुल्क नै थियो ।
त्यो सिरेटोमा ‘दिदी एप’ मार्फत ट्याक्सी बुक गरेर हामी गेटसम्म पुग्यौँ । होटलबाट विश्वविद्यालयको मुख्यद्वारसम्मको १० मिनेटको पैदल यात्रा चिसोका कारण निकै कष्टकर र हतारपूर्ण भयो । ट्याक्सीमा बस्नासाथ चालकको मुखबाट फुत्त निस्कियो– वाइ ग्वो रन (विदेशी हो ?) । हामीले चिनियाँ भाषामै ‘सि द’ (हो) भनेर जवाफ दिएपछि ऊ अकमक्क प¥यो । उसले अचम्म मान्दै सोध्यो, ‘यति छिटो कहाँ जान लागेको ? बाहिर त कडा चिसो छ त ।’
थिआन् मन स्क्वायरको बिहानी कार्यक्रम सूर्योदयको समयसँग जोडिएको हुँदो रहेछ भन्ने कुरा पछि मात्र बोध भयो । अनलाइन अनुमति पत्रमा बिहान ४ः३० देखि प्रवेश सुरु हुने उल्लेख थियो । झण्डोत्तोलनको सैन्य प्रदर्शनी हेर्न निश्चित सङ्ख्यामा मात्र अवलोकनकर्तालाई प्रवेश दिइने नियम रहेछ । झन्डै एक हजार नेपाली रुपैयाँ तिरेर पुग्दा पनि सुरक्षा नियमका कारण ट्याक्सीले हामीलाई प्रवेशद्वार भन्दा एक किलोमिटर टाढा मात्रै रेडलाइटमा ओराले ।
बिहानीको बेइजिङ शान्त थियो । फाट्टफुट्ट गाडी गुडिरहेका सडकमा हामी नेपाली पारामा ट्राफिक बत्तीलाई बेवास्ता गर्दै बाटो काट्न खोज्दै थियौँ । एक प्रहरी केही फुतफुताउँदै हामीतिर लम्किए । हामीले तुरुन्तै चिनियाँ भाषामै ‘हामी विदेशी हौँ’ भन्यौँ । विदेशी भन्ने थाहा पाएपछि उनी मुस्कुराउँदै रोकिए । सायद चिसोले उनलाई पनि हामीसम्म आएर थप केरकार गर्न अल्छी लागेको हुनुपर्छ ।
थिआन् मन स्क्वायर क्षेत्रमा पुग्दा यस्तो लाग्थ्यो, मानौँ त्यहाँ कुनै गम्भीर सुरक्षा चुनौती छ । हरेक कुनामा कडा सुरक्षा घेरा थियो । चिनियाँ नागरिकहरूको लामो घुमाउरो लाइन देख्दा हामी अलि अत्तालियौँ । तर, पहिलो सुरक्षा गेटमा पुग्ने बित्तिकै एक जवान सुरक्षाकर्मीले हाम्रो पासपोर्ट हेरेर सोधे– ‘ना ग्वो रन ?’ (कुन देशबाट ?) । हामीले ‘निबोअर’ (नेपाल) भनेपछि उनले मुस्कुराउँदै हामीलाई त्यो लामो लामबाट ‘भीआईपी’ शैलीमा अर्को गेटतर्फ पठाइदिए ।
त्यहाँको सुरक्षा जाँचमा अनौठो लैङ्गिक विभेद देखियो । महिला सुरक्षाकर्मीले टाउकोदेखि जाँघसम्म छामछुम गर्थे भने पुरुष सुरक्षाकर्मीले जुत्ता र खुट्टाको जाँच गर्थे । हाम्रो संस्कारमा खुट्टा छुनुलाई सम्मान वा हीनताको रूपमा लिइन्छ, तर त्यहाँ यो अनिवार्य सुरक्षा प्रक्रिया थियो । जाँचका क्रममा एक महिला सुरक्षाकर्मीले मेरो साथीको पुठोमा अलि कसिलो गरी समातेपछि हामी मुसुक्क हाँस्यौँ, उनी भने लाजले भुतुक्कै भए ।
अन्ततः हामी विशाल थिआन् मन स्क्वायरको चोकमा थियौँ । बायाँतिर माओको स्मारक भवन, दायाँतिर संग्रहालय र अगाडि ‘फरबिडन किंगडम’ को विशाल ढोका ! त्यही ढोकामा माओको विशाल तस्बिर सजाइएको थियो, जुन प्रत्येक वर्ष अक्टोबर १ मा फेरिँदो रहेछ ।
चिसोले शरीरका अङ्गहरू पालैपालो कठाङ्ग्रिँदै थिए । मधेसको तातो हावामा हुर्किएको मेरो ज्यानले पग्लँदो हिउँको सिरेटोलाई पहिलो पटक महसुस गर्दै थियो । त्यत्तिकैमा सान्सी प्रान्तबाट आएका एक वृद्धले आफ्नो काँधमा बसेको नातिसँग भने, ‘यही हो ठुलो चोक ? यो त हाम्रो गाउँको भन्दा पनि सानो छ त !’ उनको कुरा बुझेर हामी हाँस्यौँ । सायद आधुनिक चीनका नयाँ सहरहरूका चोक यो ऐतिहासिक चोकभन्दा पनि विशाल बनाइएका होलान्, जसले गर्दा उनलाई थिआन् मन सानो लागेको हुनुपर्छ ।
चिसोले जुत्ता छेडेर खुट्टाका औँलाहरू शून्य हुन थालेपछि मेरा साथीले न्यानोका लागि सब–वेको सुरुङमा छिर्ने जुक्ति निकाले । त्यहाँ पुग्दा त चिनियाँहरूको पनि थामिनसक्नु भीड रहेछ, जो जाडो छल्न त्यहाँ आएका थिए । त्यहीँ एउटी युवती चिसोले निलो भएर बसिरहेकी थिइन् ।
केही बेरमा शौचालयका लागि जानै पर्ने भएपछि हामी ‘बाइदु म्याप’ को सहारामा शौचालय खोज्दै लाग्यौँ । शौचालयको गेटमा पुग्दा, हामी चकित पर्यौँ ! सुरुमै चिया, तातो दूध र उपहार पसलहरूले सजिएको त्यो ठाउँ शौचालय हो भनेर पत्याउनै गाह्रो थियो । भित्र पसेपछि देखियो– मानिसहरू चिया पिउँदै, मोबाइल चलाउँदै त्यहीँ आइल्याण्डजस्तो ठाउँमा गफिइरहेका थिए । सामूहिक स्नानागारमा अभ्यस्त चिनियाँहरूका लागि त्यो सामान्य होला, तर हाम्रा लागि अनौठो दृश्य थियो ।
सरसफाइ यति दुरुस्त थियो कि त्यहाँ दुर्गन्धको नामोनिसान थिएन । हामीले त्यहाँबाट तातो दूध–चिया लियौँ र फर्कँदा ती चिसोले कठाङ्ग्रिएकी युवतीलाई पनि शौचालयको न्यानोपन र चियाबारे जानकारी दियौँ । उनले धन्यवाद भन्दै हतार–हतार शौचालयतिरै पाइला चालिन ।
केही समयपछि झण्डोत्तोलनको सैन्य परेड सुरु भयो । भीड यति थियो कि प्रत्यक्ष हेर्न सम्भव थिएन । अन्ततः हामीले अगाडि उभिएकी एक महिलाको मोबाइल स्क्रिनमा लाइभ हेरेर चित्त बुझायौँ ।
त्यसपछि हाम्रो यात्रा माओको पार्थिव शरीर दर्शनतर्फ मोडियो । नेपालका केही कम्युनिस्ट नेताहरूले ‘माओको अनुहार हेर्दा अहिले नै जुरुक्क उठेर कुरा गर्लान् जस्तो लाग्छ’ भनेर सुनाएको कुराको सत्यता जाँच्नु थियो । चिनियाँहरू पहेँलो फूलको गुच्छा किनेर भित्र जाँदै थिए । चिनियाँ संस्कृतिमा पहेँलो फूल मृत्युसँग जोडिने रहेछ, तर नेपालमा भने चिनियाँ पाहुनालाई त्यही पहेँलो मालाले स्वागत गरेको सम्झेर मलाई मनमनै हाँसो उठ्यो ।
माओको शवलाई दुईतर्फबाट हिँड्दै हेर्ने व्यवस्था थियो । जति नै आँखा तिखारेर हेर्दा पनि उनको अनुहारको एक पाटो मात्र देख्न सकिन्थ्यो ।
माओको पार्थिव शरीर अवलोकन गरेपछि भोको पेट लिएर सब–वे चढ्दै ग्रेट वालतर्फ लाग्यौँ । बेइजिङ नर्मल विश्वविद्यालयमा पढ्ने भाइ बादलले हातमा पाउरोटी र तातो कफी लिएर हामीलाई कुरिरहेका थिए । त्यो तातो कफीको सुरुप्पसँगै बेइजिङको त्यो बिहानीको सिरेटो र शौचालयको भव्यता मेरो स्मृतिमा सदाका लागि कैद भयो ।
(रिजाल चीनमा अध्ययनरत छन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण