आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

प्रश्नपत्र चुहावट घटना : छानबिन समिति विघटन गरी नयाँ बनाउन स्ववियुको माग

आइतबार, १० साउन २०८३, २२ : १८
आइतबार, १० साउन २०८३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायको डिन कार्यालयले गठन गरेको छानबिन समिति निष्पक्ष नभएको भन्दै विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सो समिति विघटन गरी तीन दिनभित्र नयाँ समिति बनाउन माग गरेको छ।

त्रिवि व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाप्रति स्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्ववियुका अध्यक्ष दीपकराज जोशीद्वारा जारी प्रेस विज्ञप्तिमा परीक्षा सञ्चालन हुनुपूर्व वा सञ्चालन भइरहेकै समयमा प्रश्नपत्र बाहिरिनुले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर आघात पुगेको उल्लेख छ।

परीक्षा सञ्चालनको सम्पूर्ण जिम्मेवारी बोकेको डिन कार्यालय स्वयंले आफ्नै कमजोरीको अनुसन्धान गर्न समिति गठन गर्नु 'स्वार्थको द्वन्द्व' हुने भन्दै स्ववियुले सुशासन र पारदर्शिताका लागि स्वतन्त्र तथा निष्पक्ष छानबिन संयन्त्र गठन गर्न माग गरेको हो।

स्ववियुले आगामी तीन दिनभित्र घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही अगाडि बढाउन र शिक्षा मन्त्रालयलाई समेत यस विषयमा सक्रियता देखाउन आग्रह गरेको छ। तोकिएको अवधिभित्र सत्यतथ्य बाहिर नल्याइए र जिम्मेवारी निर्धारण नगरिएमा व्यवस्थापन संकायका परीक्षा हेर्ने सहायक डिनसहित डिनले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ।

साथै, यसबाट उत्पन्न हुने परिस्थितिको प्रशासनिक तथा नैतिक जिम्मेवारी शिक्षा मन्त्रालयले समेत लिनुपर्ने स्पष्ट पार्दै स्ववियुले विद्यार्थीको मेहनत र विश्वविद्यालयको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप