बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि गर्न तालिम

मङ्गलबार, १३ माघ २०८२, ०१ : ४०
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • पोखरामा महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम सुरु भएको छ।
  • तालिममा ८५ जना व्यवसायीको सहभागिता रहेको छ, जसमा व्यक्तित्व विकास, व्यवसाय प्रवद्र्धन र साइबर सुरक्षाबारे जानकारी दिइनेछ।
  • नेपाल पर्यटन बोर्डले व्यवसायीको सवलीकरणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको छ।

गण्डकी। महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि सोमबारदेखि पोखरामा तीन दिने तालिम आयोजना गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ, नेपाल (टेवान) को आयोजना एवं नेपाल पर्यटन बोर्डको सहयोगमा सो तालिम आयोजना गरिएको हो ।

पर्यटन व्यवसायमा क्रियाशील महिलाको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने मूल लक्ष्यका साथ आयोजित तालिममा ८५ जना महिला पर्यटन व्यवसायी सहभागी रहेको टेवानका अध्यक्ष शोभा पाण्डेले जानकारी दिइन्। पोखरामा टेवानमा आबद्ध १६२ जना महिला पर्यटन व्यवसायी रहेको जानकारी दिँदै उनले पछिल्ला समयमा पर्यटन व्यवसायतर्फको आकर्षण बढिरहेको बताए । तालिमको पहिलो दिन सोमबार डा आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गर्दै शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् ।

तालिमको दोस्रो दिन मंगलबार व्यवसाय प्रवर्द्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिने तालिम संयोजक मीना बरालले जानकारी दिइन् । तेस्रो दिन साइबर अपराध र अनलाइन ठगी सचेतना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सहजीकरण गर्ने कार्यक्रम छ ।

तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ निर्देशक मणिराज लामिछानेले तालिममा गरिने लगानीले व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुपर्ने धारणा राखे । पर्यटन व्यवसायी महिलाको सबलीकरणका लागि आवश्यकताका आधारमा अन्य शीर्षकमा पनि बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।

पोखरा पर्यटन परिषद्का सचिव नारायणप्रसाद सुवेदीले तालिमबाट लाभ लिएर व्यावसायिक जीवनमा उतार्न सहभागीलाई आग्रह गरे । टेवानका संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले शारीरिक र मानसिक रूपमा स्वस्थ हुँदा मात्रै व्यवसायमा पनि सफल हुन सकिने भएकाले यस्ता तालिम फलदायी हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप