‘नाडी चिर्ने’ उम्मेदवार उमेशजंग थापा सम्झँदै मोरङका पुराना मतदाता
सारांश
- मोरङका ग्रामीण भेगका मतदाताहरू चुनावको माहोलबाट अझै टाढा छन् र दैनिक जीवनका अभावहरूमा केन्द्रित छन्।
- कतिपय स्थानीयहरू राजनीतिक दलका आश्वासनभन्दा स्थानीय विकास र रोजगारीको अवसर खोजिरहेका छन्, साथै भोट किनबेचको संस्कारप्रति चिन्तित छन्।
- ग्रामिण भेगका मतदाताहरूले खानेपानीको धारा जडान र राज्यका सेवा सुविधाको कमी जस्ता समस्याहरू औंल्याएका छन्, र बेरोजगारी अन्त्यको माग गरेका छन्।
विराटनगर । देशमा चुनावको रापताप सञ्चारमाध्यमहरूमा चर्कै छ । तर मोरङका ग्रामीण बस्तीहरूमा भने अझै उत्साह पलाउन सकेको छैन । मोरङ क्षेत्र नम्बर ४ र ६ अन्तर्गत पर्ने ग्रामथान र बुढीगंगाका मतदाताहरू यसपटक राजनीतिक दलका नाराभन्दा आफ्नो दैनिक जीवनका अभाव र अधुरा विकासका योजनाहरूमा बढी केन्द्रित देखिन्छन् ।
बाँसका चोया काट्दै र चित्र बुन्दै गरेका ग्रामथान–५ का बलराम माझी, हरिनारायण चौधरी, चितनारायण धामी र बाबुराम चौधरीलाई चुनावको खासै चासो छैन । उनीहरूका लागि चुनाव भनेको केबल आउने र जाने प्रक्रिया हो । उनीहरूको एउटै कुरा छ– ‘चुनावको माहोल अझै हाम्रो गाउँसम्म आइपुगेको छैन, सायद बेला भएको छैन होला ।’
_ygTu4KAfrC.jpg)
गिधनीया बस्तीका हेमलाल विश्वासको अनुभव पनि उस्तै छ । उनी भन्छन्, ‘रेडियो र समाचारमा चुनावको कुरा सुनिन्छ, तर हाम्रो बस्तीमा अहिलेसम्म कुनै रौनक छैन ।’ अघिल्ला चुनावहरूमा देखिएको तामझाम देखिन सुरु नभएको उनको भनाइ छ ।
८१ वर्ष पुगेका वयोवृद्ध फोक्सु विश्वास थारू चुनावी विकृतिबाट चिन्तित छन् । उनले धेरै चुनाव देखेका छन्, तर अहिलेको जस्तो भोट किनबेचको संस्कार पहिले कहिल्यै नदेखेको गुनासो गर्छन् । ‘पहिले पहिले यस्तो हुँदैन थियो,’ उनी भन्छन्, ‘अहिले त पैसा खाएर पनि भोट अन्तै दिने चलन सुरु भयो । यो लोकतन्त्रका लागि राम्रो होइन ।’
_Kg560HezZw.jpg)
यस्तै ७२ वर्षका जगदीश भगतले इतिहासको एउटा रोचक तर शिक्षाप्रद घटना सुनाउँदै अहिलेको राजनीतिक लहरबाट सचेत रहनुपर्ने बताए । उनी २०४२ सालको राष्ट्रिय पञ्चायत निर्वाचन सम्झन्छन्, जहाँ मोरङबाट उमेशजंग थापा क्रान्तिकारी नारासहित उदाएका थिए । ‘थापाले राजा र जनताबिचको पर्खाल भत्काउँछु भन्दै भाषण गर्दा आफ्नै नाडी ब्लेडले चिरेर देखाएका थिए,’ भगत सम्झन्छन्, ‘हामीले सारा काम छोडेर उनलाई हेर्न गयौँ, विश्वास गर्र्यौं । तर जितेर गएपछि उनले केही गरेनन् । त्यसैले यसपालि पनि नयाँ लहरबारे विचार गर्नुपर्छ, काम गर्नेलाई रोज्नुपर्छ ।’
_KvVYIICroR.jpg)
ग्रामथान–३ डंटोलीका गुरूदयाल माझी गाउँमा सडक नपुगेकोमा दुःखी छन् । जताततै कालोपत्रे भइसक्दा पनि आफ्नो बस्ती अझै धुलो र हिलोमा सीमित भएको उनी बताउँछन् । उता बुढीगंगा–५ का ७२ वर्षीय वेचन पण्डितको गुनासो पनि उस्तै छ, ‘जितेर गएका नेताहरू कहिल्यै फर्किएर आउँदैनन् । बाटो छैन, विकास छैन, हामी केका लागि भोट दिने ? ।’
_eC20dkkpdh.jpg)
बुढीगंगा–७ की गीता ऋषिदेवको समस्या झन् मर्मस्पर्शी छ । एउटा खानेपानीको धारा जडान गर्न नसक्नुको पीडा पोख्दै उनले भनिन्, ‘खानेपानीको धारा जोड्न १२ हजार रुपैयाँ माग्छन् । हामी गरिबले त्यति पैसा कहाँबाट ल्याउनु ? जसले धारा जोडिदिन्छ, हाम्रो भोट उसैलाई जान्छ ।’ उनी र उनका साथीहरू यतिबेला आफ्नो कुल देवता दिनाभद्रीको पूजाका लागि चन्दा संकलन गर्दै गोकुवा चोकमा भेटिए । चन्दा दिए मात्र भोट दिने उनीहरू सामूहिक रूपमा बताउँछन् ।
_PVkDmuVfGm.jpg)
स्थानीय काजवती थारू भने राज्यको सेवा सुविधा जनतासम्म नपुगेकोमा चिन्ता व्यक्त गर्छिन् । स्वास्थ्य बिमाजस्ता महत्त्वपूर्ण सुविधाहरूबारे अझै पनि ग्रामीण क्षेत्रका जनता सचेत नभएको उनको बुझाइ छ । ‘राज्यले जनचेतना जगाउनुपर्यो, जनतालाई आफ्ना अधिकारबारे बुझाउनुपर्यो,’ उनी भन्छिन् ।
_BPXCTFJY6v.jpg)
फिरनलाल भगत कृषि र शिक्षा क्षेत्रमा ठुलो सुधारको खाँचो देख्छन् । सामुदायिक विद्यालयको गुणस्तर खस्कनु र कृषकले समयमा मल तथा बीउ नपाउनु यहाँका मुख्य चुनावी मुद्दा हुन् । साथै, द्वन्द्वपीडित चतुरलाल राजवंशी घाइते र अपाङ्गता भएकाहरूलाई राज्यले अभिभावकत्व प्रदान गर्नुपर्ने माग गर्छन् । जनआन्दोलन र द्वन्द्वमा मारिएकाका परिवारलाई बिर्सिएर गरिने राजनीति दिगो नहुने उनको तर्क छ ।
सबैको साझा र बलियो माग छ, ‘बेरोजगारीको अन्त्य ।’
_eaJ8PKP3Re.jpg)
खाडीको तातो घाममा छोराछोरी पठाउनुपर्ने बाध्यताबाट मुक्ति चाहन्छन् मोरङका बासिन्दा । ‘हाम्रो गाउँमै रोजगारी सिर्जना गर्ने नेता चाहियो, आश्वासन बाँड्ने मात्र होइन,’ गिधनियाका फिरनलाल भगतले भने, ‘रोजगारी नहुँदा ऋण लिएर विदेश जाने, विदेशमा कमाउन पनि नसक्ने र श्रीमतीले घर छोडेर हिँड्ने धेरै देखिएको छ । घर परिवार बर्बाद भएको छ । यस्तो रोकिनुपर्यो । यहीँ रोजगारी पाउनुपर्यो ।’ उनी सामुदायिक विद्यालयको दुर्दशा देखेर दुःख व्यक्त गर्छन् । ‘यहाँ दुई खालको शिक्षा हुनु भएन । राज्यले लगानी गरेका विद्यालयको अवस्था खराब छ । निजी विद्यालय बन्द गर्नुपर्छ,’ भगत भन्छन् ।
_spWVqk6O3U.jpg)
मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट गुरुराज घिमिरे, नेपाल कम्युनिस्ट पार्टीबाट अमनलाल मोदी, नेकपा एमालेबाट जीवन घिमिरे उम्मेदवार छन् भने रास्वपाबाट सन्तोष राजवंशी छन् ।
त्यस्तै मोरङ–६ मा नेकपाबाट ओपन्द्र कुमार राय, नेकपा एमालेबाट विनोद ढकाल, नेपाली कांग्रेसबाट शेखर कोइराला र रास्वपाबाट रुबिना आचार्य उम्मेदवार छन् ।
_0FRqBFj9hs.jpg)
_8njTgWeDKX.jpg)
_I1jaiOfnyz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण