इरानमा राष्ट्रव्यापी प्रदर्शन दमनमा कम्तीमा ६ हजार १२६ जनाको मृत्यु: अधिकारकर्मी
सारांश
- इरानमा सरकारविरोधी प्रदर्शनमा दमन हुँदा ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा प्रदर्शनकारी, सुरक्षाकर्मी, बालबालिका र सर्वसाधारण छन् ।
- इरान सरकारले भने मृत्युको सङ्ख्या कम देखाउँदै आएको छ।
काठमाडौँ । इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकार विरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा कम्तीमा ६ हजार १२६ जनाको ज्यान गएको अधिकारकर्मी संस्थाहरूले बताएका छन् । अझै पनि धेरै मानिस बेपत्ता रहेको आशङ्का गरिएको छ ।
अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये कम्तीमा ५ हजार ७७७ जना प्रदर्शनकारी, २१४ जना सरकार समर्थित सुरक्षाकर्मी, ८६ जना बालबालिका तथा प्रदर्शनमा सहभागी नभएका ४९ जना सर्वसाधारण रहेका छन् । साथै, ४१ हजार ८ सयभन्दा बढी मानिसलाई पक्राउ गरिएको जनाइएको छ ।
इरानका अधिकारीहरूले इन्टरनेट सेवा बन्द गर्नुका साथै सञ्चारमा अवरोध गरेकाले स्वतन्त्र रूपमा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भएको एसोसिएटेड प्रेसले जनाएको छ ।
यसैबिच, इरान सरकारले भने मृत्यु हुनेको सङ्ख्या ३ हजार ११७ रहेको दाबी गर्दै अधिकांश नागरिक र सुरक्षाकर्मी भएको जनाएको छ भने बाँकीलाई ‘आतङ्ककारी’को संज्ञा दिएको छ । यसअघि पनि इरानी सरकारले आन्दोलनका क्रममा भएको क्षतिको यथार्थ विवरण सार्वजनिक नगरेको आलोचना हुँदै आएको छ ।
यी प्रदर्शनहरू गत डिसेम्बर १३ गतेदेखि सुरु भएका हुन् । इरानी मुद्राको तीव्र अवमूल्यनपछि सुरु भएको आन्दोलन देशभर फैलिएको थियो । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारले कडा दमन गरेपछि अवस्था झन् तनावपूर्ण बनेको छ । दुई साताभन्दा बढी समयसम्म इन्टरनेट पूर्ण रूपमा बन्द गरिएको छ, जुन इरानको इतिहासकै सबैभन्दा व्यापक अवरोध मानिएको छ ।
यसबिच, अमेरिकाले मध्यपूर्व क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । अमेरिकी विमानवाहक युद्धपोत समूह उक्त क्षेत्रमा पुगेको छ, जसलाई इरानविरुद्ध सम्भावित सैन्य कारबाहीका लागि तयारीका रूपमा हेरिएको छ । यद्यपि खाडी क्षेत्रका केही अरब राष्ट्रहरूले आफूहरू कुनै पनि आक्रमणमा सहभागी नहुने संकेत दिएका छन् ।
इरानले अमेरिकाको धम्कीले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको भनेको छ । संयुक्त राष्ट्रसङ्घमा इरानका प्रतिनिधिले अमेरिकाले हिंसा भड्काएको दाबी गरे पनि त्यसको ठोस प्रमाण भने प्रस्तुत गरिएको छैन ।
यी घटनाले इरानमा दशकौँयताकै सबैभन्दा ठुलो मानवीय संकट उत्पन्न गरेको विश्लेषकहरूको भनाइ छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछिको अवस्थासँग तुलना गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण