प्रधानमन्त्री जन्माउने थलो बनिरहेको तराई-मधेस
काठमाडौँ । फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । तर अहिले माहोल प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचनजस्तो बनिरहेको छ । सबैजसो प्रमुख दलले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएका छन् ।
जेनजी आन्दोलनपछि कतिपय जेनजी समूहले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग राखेका थिए । फागुन २१ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको ‘मिनी इलेक्सन’ हुने देखिन्छ । महत्त्वपूर्ण के छ भने प्रधानमन्त्रीको उम्मेदवार घोषित तीन जना नेता तराई-मधेसमा चुनाव लड्दैछन् । यस हिसाबले जो बनेपनि यसपटक तराई-मधेसबाटै निर्वाचित व्यक्ति प्रधानमन्त्री बन्नेछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । कांग्रेस सभापति गगन थापा मधेस प्रदेशको सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका छन् ।
झापादेखि कञ्चनपुरसम्मका २२ जिल्लालाई तराई-मधेस मानिन्छ । यी जिल्लाहरुमा मधेसी र थारू समुदायको बाक्लो उपस्थिति छ । देशमा हालसम्म बनेका प्रधानमन्त्रीहरू अधिकांश तराई-मधेसकै जिल्लाका छन् । वर्तमान प्रधानमन्त्री सुशीला कार्की विराटनगरकी हुन् भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापाका हुन् ।
२००७ सालमा प्रजातन्त्र स्थापनापछिका पहिलो प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला र गिरिजाप्रसाद कोइराला विराटनगरका हुन् । बीपी र गिरिजाप्रसाद मोरङबाटै चुनाव जितेर प्रधानमन्त्री बनेका थिए । २०५६ सालमा कृष्णप्रसाद भट्टराई पर्साबाट चुनाव जितेर प्रधानमन्त्री बनेका थिए ।
२०७२ मा संविधान जारी गर्नेबेलामा सुशील कोइराला प्रधानमन्त्री थिए । उनी बाँकेबाट निर्वाचित भएका थिए । नेपाली कम्युनिस्ट पार्टी (यसअघि माओवादी)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड तीन पटक प्रधानमन्त्री भए । उनी पनि एकपटक मधेसको सिरहाबाट र अर्को एकपटक चितवनबाट निर्वाचित भएका थिए । नेपाली कम्युनिस्ट पार्टीकै सहसंयोजक माधवकुमार नेपाल पनि प्रधानमन्त्री बनिसकेका छन् । उनी रौतहटबाट निर्वाचित भएका थिए ।
पञ्चायतकालमा तत्कालीन राजा महेन्द्रको शासनकालमा २०१९, २०२० र २०३२ गरी तुलसी गिरी तीन पटक प्रधानमन्त्री भए । उनी सिरहाका हुन् ।
प्रजातन्त्र स्थापनापछि २०१५ सालमा पहिलो पटक भएको आम निर्वाचनबाट बीपी कोइराला प्रधानमन्त्री भए । उनी मोरङबाट निर्वाचित थिए ।
२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारका प्रधानमन्त्री भए । २०४८ सालको निर्वाचनमा उनी पराजित भए भने २०५६ मा पर्साबाट निर्वाचित भएर दोस्रोपटक प्रधानमन्त्री भएका थिए ।
मोरङबाट पटक-पटक निर्वाचित हुँदै गिरिजाप्रसाद कोइराला पाँच पटक प्रधानमन्त्री बनेका थिए ।
प्रधानमन्त्री मात्रै होइन, गणतन्त्र स्थापनापछि नेपालको पहिलो राष्ट्रपति मधेसबाटै बने । पहिलो राष्ट्रपति डा. रामवरण यादव धनुषाका हुन् । यस्तै देशको पहिलो उपराष्ट्रपति परमानन्द झा सप्तरीका हुन् भने वर्तमान उपराष्ट्रपति रामसहाय प्रसाद यादव बाराका हुन् ।
यसपटकको निर्वाचनबाट पनि जो आएपनि तराई-मधेसबाटै निर्वाचित व्यक्ति प्रधानमन्त्री बन्नेछन् । बालेन बने मधेसी समुदायबाट पहिलो प्रधानमन्त्री बन्नेछन् भने गगन बने मधेसबाटै निर्वाचित प्रधानमन्त्री बन्नेछन् । ओली बने तराई–मधेसकै जिल्लाबाट निर्वाचित भएर पाँचौंपटक प्रधानमन्त्री बन्नेछन् । महत्त्वपूर्ण कुरा जो प्रधानमन्त्री बनेपनि मधेसी र थारू समुदायको मत निर्णायक हुनेछ ।
राजनीतिकर्मी खुसीलाल मण्डल भन्छन्, ‘देशका प्रधानमन्त्री मात्र होइन, इतिहास हेर्ने हो भने हरेक दलको जन्म नै मधेसबाट भएको हो । हरेक राजनीतिक दलका नेताहरुको राजनीतिक सेल्टर नै मधेस थियो ।’ बीपी कोइराला, गिरिजाप्रसाद कोइराला मधेसीको मत लिएर पटक-पटक प्रधानमन्त्री भए । केपी ओली पनि झापामा मधेसीको निर्णायक मतले जित्दै आएका हुन् ।‘ तर पनि मधेसप्रतिको दृष्टिकोण सकारात्मक नभएको उनको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण