शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनपछि बन्ने सरकारका लागि सुशासन र भ्रष्टाचारविरुद्धको मार्गचित्र तयार हुँदै

बुधबार, १४ माघ २०८२, २१ : ३०
बुधबार, १४ माघ २०८२

सारांश

  • आगामी निर्वाचनपछि बन्ने सरकारका लागि सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि मार्गचित्र बनाइँदैछ।
  • नागरिक सेवा प्रवाह सुधार, कर्मचारीतन्त्रको कार्यशैली परिवर्तन र सूचना प्रणाली विकासमा जोड दिइनेछ।
  • कार्यशालामा सचिव र सहसचिवहरूको राय लिई भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने योजना बनाइनेछ।

काठमाडाैँ । अगामी २१ फागुनको निर्वाचनपछि बन्ने सरकारको लागि सुशासन र भ्रष्टाचारमुक्त समाज स्थापना गर्न आवश्यक कानुनी, प्रशासनिक र संरचनागत सुधारसहितको मार्गचित्र निर्माण गर्न थालिएको छ ।

नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह सुधार, कर्मचारीतन्त्रको कार्यशैली परिवर्तन एवं एकद्वार सूचना प्रणालीको विकासलाई केन्द्रमा राखेर सरकारले अगामी निर्वाचनपछि बन्ने सरकारको लागि कार्ययोजनाको गृहकार्य अघि बढाएको हो ।

बुधबार काठमाडौंमा एक कार्यशालाको आयोजना गर्दै सरकारका सचिव एवं सहसचिवहरुको राय समेत लिइएको छ । नेपालको भविष्यको सुशासन र डेलिभरीका लागि कर्मचारीतन्त्र र सरकारको काम समेतको मार्गचित्र तयार पारिने बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित शासकीय सुधार महाशाखाका प्रमुख भिष्म भुसालले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नकेो लागि कुन निकायले के गर्ने ? कसरी गर्ने स्पष्ट दिशननिर्देशसहित कार्ययोजना निर्माण गरिने बताए ।

उनले आम नागरिकलाई सेवा प्रवाहमा देखिएका समस्याहरुको पहिचान गरी सेवा प्रवाह कमजोर रहेका निकायहरुको सुदृढिकरण गर्न सकिने आधारहरु समेत मार्गचित्रमा उल्लेख गरिने बताए ।

उनका अनुसार तत्काल सुधार गर्न सकिने, केही तयारी गरेपछि मात्र सुधार गर्न सकिने र कानून संशोधन नगरी सुधार गर्न नसकिने क्षेत्रहरुको पहिचान गरी तीन चरणमा काम गर्नेगरी मार्गचित्र तयार गरिने बताए ।

सरकार एक्लैले मात्र मुलुकमा सुशासन कायम गर्न नसक्ने उल्लेख गर्दै तीन तहको सरकार र कर्मचारीतन्त्रका लागि साझा एजेण्डा समेत मार्गचित्रमा उल्लेख गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप