धनगढीका मतदाता भन्छन्– पुरानालाई धेरै हेर्यौँ, अब पालो नयाँको
सारांश
- कैलाली क्षेत्र नम्बर ५ मा आसन्न निर्वाचनको चर्चा छ, जहाँ मतदाताहरू परिवर्तनको पक्षमा देखिएका छन्।
- मतदाताहरू विगतका निर्वाचनमा निर्वाचित नेताहरूको कामप्रति असन्तुष्ट छन्, र यसपटक नयाँ उम्मेदवारलाई रोज्ने संकेत देखाएका छन्।
- स्थानीय समस्या, विकासको कमी, र भ्रष्टाचारका कारण मतदाताहरूमा निराशा छ, जसले गर्दा उनीहरू परिवर्तन चाहन्छन्।
धनगढी । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा चर्चाको केन्द्रमा छ– कैलाली क्षेत्र नम्बर ५ ।
कैलाली जिल्लाका पाँच निर्वाचन क्षेत्रमध्ये कैलाली–५ को राजनीतिक अर्थ फरक छ । प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीका १९ वटा वडा र कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ गरी कुल २१ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्दछन् ।
उम्मेदवारी दर्तासँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् । नेताहरू विकासका ठुला–ठुला सपना र एजेन्डा सुनाउँदै छन् । नेताहरूलाई चुनाव लागेको बेला मतदाताको अवस्था के छ ? यहाँका नागरिक यसपटक कस्ता उम्मेदवारको खोजीमा छन् ? यी यस्ता प्रश्नको खोजीका लागि हामीले धनगढीको मुख्य बजार, सहायक बजार, बस्ती र गल्लीहरूमा पुगेर मतदाताको नाडी छाम्ने प्रयास गरेका छौँ ।
विगतका निर्वाचन हेर्ने हो भने यो क्षेत्रको जनमत निकै अस्थिर र मुडी देखिन्छ । २०७९ सालको आम निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेस र माओवादीको बलियो सत्ता गठबन्धन थियो । त्यसको ठिक अघिल्लो कार्यकाल अर्थात् २०७४ सालको चुनावमा भने नेकपा एमालेका नारदमुनि रानाले चुनाव जितेका थिए ।
२०७० सालमा सम्पन्न संविधान सभा निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका दीर्घराज भट्ट र २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादीका लेखराज भट्ट यही क्षेत्रबाट निर्वाचित भएका थिए । यसरी हेर्दा यो निर्वाचन क्षेत्रमा कुनै एक दलको मात्र पकड देखिँदैन । विगतमा यहाँबाट प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पालैपालो निर्वाचित भएका छन् ।
अहिलेको अवस्था भने फरक छ । कैलाली क्षेत्र नम्बर ५ को मुख्यनिर्वाचन अधिकृतको कार्यालयका अनुसार, यस पटकको उपनिर्वाचनका लागि सुरुमा १६ जनाले उम्मेदवार मनोनयन दर्ता गराएका थिए । तीमध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएपछि अब १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मुख्य दलहरूले आफ्नो साख जोगाउन जोडतोडका साथ लागिरहेका छन् । नेपाली कांग्रेसबाट नरनारायण शाह ‘मनु’, नेकपा एमालेबाट यज्ञराज ढुंगाना, नेपाली कम्युनिस्ट पार्टीबाट प्रेम आले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आनन्द चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रोशन शाही र नेकपा माओवादी केन्द्रबाट बबरजंग सिंह उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवार प्यारेलाल राना लगायत अन्य साना पार्टीबाट पनि उम्मेदवार चुनावी मैदानमा छन् ।
कैलाली–५ अन्तर्गतका विभिन्न ठाउँमा स्थलगत रिपोर्टिङका क्रममा हामीले भेटेका मतदाता देशको अवस्थाप्रति चिन्ता प्रकट गर्दै आसन्न निर्वाचनलाई परिवर्तनको एउटा आधार बनाउने अठोट बोकेका देखिन्थे । धनगढीमा अस्थायी रूपमा बसोबास गर्ने, अध्ययन वा रोजगारीका लागि बाहिर रहेकाहरू पनि यसपटक गाउँ फर्केर मतदान गर्ने र परिवर्तनका लागि योगदान गर्ने योजना रहेको बताइरहेका छन् ।
के यो क्षणिक आवेग हो वा वर्षौंदेखिको निराशाको विष्फोट ? के साँच्चिकै धनगढीका मतदाताले परिवर्तन चाहेका छन् ? यो बुझ्न हामीले केही प्रतिनिधि पात्रहरूसँग लामो कुराकानी गर्यौं ।

बुधबार धनगढी उपमहानगरपालिका–३, रानामार्ग टोलको एउटा चिया पसलमा दुईचार जना गाउँले बसेर गफगाफ गरिरहेका थिए । त्यही गफगाफमा भेटिए ३७ वर्षीय करमसिंह राना । छिमेकीहरूसँग छलफलमा व्यस्त करमसिंहको अनुहारमा उत्साहभन्दा बढी चिन्ता थियो । करमसिंह एउटा सामान्य नागरिक हुन् । कहिले उनी पेन्टिङको काम गर्छन्, कहिले खेतीपातीमा जोतिन्छन् । अहिले भने उनी ट्याक्टर चलाएर गुजारा चलाउँदै आएका छन् ।
‘आफ्नो जमिन धेरै छैन, अधियामा जग्गा पाए खेती लगाउँछु,’ उनले भने, ‘आफ्नै ठाउँमा जे काम पाइन्छ, त्यही गर्दै जिन्दगीको गाडी गुडाउँदैछु ।’
श्रीमती र दुई छोराछोरीसहित चार जनाको परिवारको पूर्ण जिम्मेवारी उनको काँधमा छ । आफूले कक्षा ४ सम्ममात्र पढेका करमसिंहको सपना भने ठुलो छ– छोराछोरीले धेरै पढुन् । ‘हामीले त दुःख पायौँ, औँठाछाप जस्तै भयौँ, तर छोराछोरीको भविष्य अन्धकार नहोस्,’ उनले भने ।
यही सपना पूरा गर्न उनले दिनरात नभनी रगत–पसिना बगाएर कमाएको पैसाले छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएका छन् । सामुदायिक स्कुलको पढाइप्रति उनको खासै विश्वास छैन । ‘राम्रो पढ्लान् र ठुलो मान्छे बन्लान् भनेरै पेट काटेर बोर्डिङमा पठाएको हुँ,’ उनले भने ।
करमसिंहले लोकतान्त्रिक अभ्यास अन्तर्गत पटक–पटक भोट हाले । तीमध्ये केहीले जितेको र केहीले हारेको उनले बताए । आसन्न निर्वाचनमा धेरै विचार गरेरमात्र मत दिने उनको योजना छ ।
‘यसअघि दुई–दुई वटा निर्वाचनमा जिताएर पठायौँ, तर ती उम्मेदवारले हाम्रो बस्तीमा फर्केर हेरेनन्,’ उनले भने, ‘हाम्रो बस्ती डुबानमा पर्छ । हरेक वर्षामा घरभित्र पानी पस्छ, हामी अनिदो बस्नुपर्छ । बाटोघाटो बनेको छैन । विकास भन्ने कुरा हाम्रो टोलमा शून्य छ ।’
करिब ९० घरपरिवार रानाथारु समुदायको बसोबास रहेको उनको बस्तीमा खानेपानीको धारासमेत छैन । ‘धारा जडान गर्ने अवस्था छैन । सबैले नल्का (कल)को पानी पिउनुपर्छ, जसमा आर्सेनिकको डर हुन्छ । तर के गर्ने ? मजदुरी गरेको पैसाले घरखर्च चलाउने कि महँगो शुल्क तिरेर धारा जोड्ने ?’ उनले भने ।
स्थानीय सरकारप्रति पनि करमसिंह र उनका टोलवासी खुसी छैनन् । उपमहानगरपालिकाले सेवाभन्दा बढी ‘कर’ को भारी बोकाएको उनको गुनासो छ । फोहोर व्यवस्थापनको नाममा कर, सम्पत्ति कर, घरबहाल कर– जताततै करै कर ।
‘अस्ति मेरो त बिजोग नै भयो,’ करमसिंहले भने, ‘मैलेँ कच्ची घर बनाउन भनेर आधा जग हालेको थिएँ । मलाई थाहा थिएन कि आफ्नो घरको जग हाल्न पनि अनुमति लिनुपर्छ भनेर । मैले अञ्जानमा गल्ती गरेछु । उपमहानगरले विनाइजाजत घर बनाएको भनेर मलाई ठुलो जरिबाना तिरायो । करिब २१ हजार रुपैयाँ जरिबाना भर्नुपर्यो । हामी गरिबलाई नियम कानुन थाहा नहुँदा यत्रो सजाय ?’
२१ हजार रुपैयाँ भनेको करमसिंह जस्ता मजदुरका लागि महिनौँको कमाइ हो । ‘रोजगारी पाइँदैन । हामीलाई सरकारबाट खासै केही सुविधा छैन । उल्टै जरिबाना तिर्नुपर्दा मन कुँडिएको छ,’ उनले भने ।
उनले अर्को समस्या पनि सुनाए । उनको टोलमा भाउजू नाता पर्ने एक महिलाको ६ धुर जग्गा छ । उक्त जग्गामा आफ्नो आवश्यकता अनुसार घर बनाउनसमेत भाउजूले नपाएको गुनासो करमसिंहले सुनाए । ‘उपमहानगरपालिकाले घरनक्साको अनुमति १० धुर जग्गा भएपछि मात्र दिन्छ । उहाँको ६ धुरमात्रै जग्गा छ । जग्गा भएर पनि घर बनाउन दिँदैन । अब गरिबले थप जमिन कहाँबाट जोड्ने ?’ उनले प्रश्न गरे ।
यस्तै समस्या र बेथितिले गर्दा आफू र आफ्नो समुदाय यसपटक परिवर्तनको पक्षमा लागेको करमसिंहले बताए । ‘हाम्रो समुदायमा भोट कसलाई दिने भन्नेमा पहिले आपसी छलफल हुन्छ । हामी त सबै सल्लाह गरेर जसलाई दिने हो, उसलाई सबैले एकमुष्ट सहयोग गर्ने चलन छ । अहिले पनि सल्लाह हुँदैछ,’ उनले भने ।
करमसिंह सहकारी पीडित पनि हुन् । ‘मेरो करिब दुई लाखभन्दा बढी रुपैयाँ शिवशिखर सहकारीमा डुबेको छ,’ उनले भने ‘अहिलेसम्म फिर्ता लिन खोज्दा पाएको छैन । मजस्तै मेरा टोलका धेरैको पैसा डुबेको छ । सुदूरपश्चिममा दिनभरि मजदुरी गरेर सहकारीमा पैसा जम्मा गर्ने मजदुरको पसिना सहकारी सञ्चालकले खाइदिए । यदि त्यो पैसा फिर्ता दिलाउने ग्यारेन्टी कसैले गर्छ वा रास्वपाले पहल गर्छ भने मेरो भोट पक्का उनीहरूलाई नै हो ।’
शिवशिखर सहकारी प्रकरण सुदूरपश्चिमका धेरै निम्नवर्गीय परिवारका लागि ठुलो घाउ बनेको छ । यो मुद्दाले यसपटकको चुनावमा ठुलो प्रभाव पार्ने सङ्केत करमसिंहको भनाइले गर्छ । ‘उसै पनि नयाँलाई दिने मनस्थितिमा छौँ, यो सर्त पूरा भए त शतप्रतिशत भोट उनीहरूलाई नै जान्छ,’ उनले भने ।
करमसिंहको कुरामा छेउमै बसिरहेका ४३ वर्षीय रामनरेश रानाले पनि सहमति जनाए । उनी पनि पेसाले ट्याक्टर चालक नै हुन् । ‘जनतालाई नेताहरूले सधैँ आश देखाउँछन् । लोभ देखाउँछन् । हामी भोट हाल्छौँ, जिताउँछौँ तर पछि धोका पाउँछौँ,’ रामनरेशले भने, ‘भोट माग्दा सबैले राम्रो गर्छु भन्छन् । खुट्टा ढोग्छन्, तर जितेर माथि गएपछि कहिल्यै फर्केर आउँदैनन् ।’

धनगढी–३ कै ४५ वर्षीय हरिदत्त राना यसपटक कसैको करकाप वा अरुको सल्लाहमा भोट नदिने मुडमा छन् । ‘सधैँ अरुको लहैलहैमा लागियो, यसपटक आफ्नै मनले, आफ्नै विवेकले भोट दिने हो,’ उनले भने । उनको झुकाव पनि परिवर्तनकै पक्षमा देखिन्छ ।
अर्का स्थानीय ५५ वर्षीय अङ्गलाल चौधरी भने चुनावभन्दा पनि आध्यात्मिक चिन्तनमा बढी देखिए । छोराको बिहेको कार्ड बाँड्न हिँडेका उनले भने, ‘म त अहिले भगवानको शरणमा छु । पूजापाठमा छु । चुनावको खासै उत्साह छैन ।’ यद्यपि, नागरिकको कर्तव्य सम्झेर भोट हाल्ने उनको मनसाय छ ।
६० वर्षीय रामसिंह रानाले जीवनमा चार पटक एउटै दललाई भोट दिए । एउटा वफादार कार्यकर्ता झैँ भोट दिए । यसपटक उनी आफ्नो वर्षौं पुरानो आस्था बदल्ने मुडमा छन् । ‘चार पटकसम्म अरु केही नहेरी आफ्नो आस्था रहेको दललाई मत दिएँ, तर केही भएन । यो पटक मेरो भोट नयाँलाई जान्छ,’ उनले भने ।

धनगढी–३ शिवविकास टोलका रनबहादुर रानाको गुनासो पनि विकासकै सेरोफेरोमा छ । ‘टोल पुरानो भयो तर बाटो अझै बनेन । नेताहरूले पुरानो आश देखाए तर काम गरेनन् । त्यसैले यसपटक नयाँलाई अवसर दिने हो,’ उनले भने ।

सोही टोलका ३२ वर्षीय भागेश्वरराज पन्तले दुई पटक मतदान गरिसके । यसपटक उनी नयाँ पुस्तालाई रोज्ने बताउँछन् । उनले भने, ‘हाम्रो घरनजिकै ट्याङ्की छ, तर धारा छैन । खानेपानी विस्तार भएको छैन । अहिले र पहिलेको अवस्थामा आकाश–पातालको फरक हुनुपर्नेमा उस्तै छ । ३० वर्षदेखि शासन गरिरहेकाहरूलाई फेरि किन दोहोर्याउने ? केही परिवर्तन होस् भन्ने चाहनाले नयाँबाहेक अरू विकल्प देखेको छैन ।’

६८ वर्षीय दुलारी रानाको जीवन अभाव र समस्यामै बित्यो । उनले धेरै पटक भोट हालेका छन् । ‘भोट हाल्नु हाम्रो कर्तव्य हो, काम गर्नु नेताको धर्म हो । त्यो धर्म कसैले निभाएको देखिएन,’ उनले भने ‘मलाई त कुनै नेताले काम गर्छ भन्ने विश्वास नै छैन । अब मान्छे हेरेर भोट हाल्ने हो ।’

३२ वर्षीय कृष्ण राना युवा हुन् । उनले अहिलेसम्म कुनै नेताले साँच्चै काम गरेको छ भन्ने देख्नै पाएका छैनन् । त्यसैले उनको तयारी पनि युवालाई नै भोट दिने छ ।

धनगढी उपमहानगरपालिका–४ का ७० वर्षीय छोटेलाल चौधरीले १० वर्षअघि बस चलाउने पेसा छोडे । जीवनको उत्तरार्द्धमा रहेका उनले धेरै पटक चुनाव देखे, भोट हाले । कांग्रेस र एमालेलाई पालैपालो भोट दिए, तर उपलब्धि शून्य ।
‘गाउँमा आएको बेला सबै चिज बनाउँछौँ भन्छन्, तर केही गरेनन्,’ छोटेलाल गुनासो गर्छन्, ‘मेरो १५ धुर ऐलानी जमिन छ । पहिलाको चुनावमा ऐलानी जमिनको लालपुर्जा दिलाउँछौँ भनेर भोट मागे । हामीले भोट दियौँ तर लालपुर्जा पाएनौँ । जिन्दगी आज हो कि भोलि भन्ने भइसक्यो तर समस्या कहिल्यै समाधान भएन ।’ उनी पनि अब परिवर्तनको पक्षमा उभिने बताउँछन् ।

सबै मतदाता परिवर्तनको पक्षमा मात्रै छैनन् । ७० वर्षीय रामदत्त जोशी आफ्नो पुरानो आस्थामा अडिग छन् । २०३२ सालदेखि कांग्रेसको राजनीति गरेका उनले भने, ‘मैले जिन्दगीका धेरै वर्ष कांग्रेसको झण्डा बोकेँ । अब मर्ने बेला भोट परिवर्तन गर्दिनँ ।’

धनगढी–४ मा पसल चलाउने ३४ वर्षीय वीरेन्द्र धामीको विचार भने बिल्कुलै आधुनिक छ । ‘बारम्बार पुरानालाई कति दिने ? यसपटक नयाँलाई दिने हो,’ उनले भने ।
कैलाली–५ लाई कांग्रेसको गढ मानिन्छ । ‘सबै नागरिकले हाम्रोजस्तै सोच राख्छन भन्ने छैन, रास्वपालाई यहाँ चुनौती त छ, तर हामीले परिवर्तन चाहेका छौँ,’ उनले भने ।

५५ वर्षीय प्रकाश उप्रेती पनि यसपटकको भोट ‘परिवर्तनका लागि’ हुने दाबी गर्छन् । उता, ४७ वर्षीय माधव जोशी नयाँप्रति जनताको आश रहेको तर नयाँले पनि विधि र सिस्टममा चल्नुपर्नेमा जोड दिन्छन् । ‘नयाँले पहिला चुनाव जित्ने, सांसद बन्ने, मन्त्री बन्ने अनि प्रधानमन्त्री बन्ने हो । सिधै प्रधानमन्त्री बनेर गर्छु भन्ने होइन, तलबाटै गरेर देखाउँदै जानुपर्छ,’ उनले भने ।

माधव अहिले कसलाई भोट दिने भन्नेमा अलि दोधारमा छन्, तर उनको झुकाव बौद्धिक र केही गर्छु भन्ने उम्मेदवारतिर छ । ‘सुदूरपश्चिमबाट पटक–पटक चुनाव जितेर प्रधानमन्त्री बने (शेरबहादुर देउवा) तर केही काम गरेनन् । एउटा धारामा पानी दिन सकेनन् । त्यसैले जनताले उनीहरूप्रति आश मारेका हुन्,’ उनले स्पष्ट पारे ।
५२ वर्षीय यज्ञराज भट्ट सुदूरपश्चिमको सुगम जिल्ला र त्यसमा पनि उपमहानगरपालिकाको बासिन्दा भएर पनि आधारभूत आवश्यकता नपाउँदा दुःखी छन् । उनले यहाँका समस्याहरूलाई एक–एक गरेर केलाए, जुन सुन्दा लाग्छ– धनगढी उपमहानगर होइन, कुनै गाउँ हो ।

‘यहाँ समस्याको चाङ छ,’ यज्ञराजले भने, ‘बाटो बनेको छैन । सबै टोल, गाउँबस्ती धुलाम्य छन् । खानेपानी छैन । जमिन छ तर लालपुर्जा छैन । शिक्षाको अवस्थामा सुधार छैन, सामुदायिक विद्यालयहरू जीर्ण छन् । सरकारी अस्पतालमा सामान्य ज्वरो आउँदा पनि डाक्टर भेट्न मुस्किल छ ।’
उनका अनुसार उता कैलारी गाउँपालिकाका जनता झन् बढी समस्यामा छन् । धनगढीमा डुबानको समस्या, छाडा पशुचौपायाको समस्या, प्रशासनिक झमेला, किसानको तरकारीले बजार नपाउने समस्या, बेरोजगारी समस्या नै समस्या रहेको उनले सुनाए । ‘किसानले दुःख गरेर फलाएको धान, गहुँको मूल्य छैन । उद्योग, कलकारखाना छैनन् । बाहिरको सामानले मात्रै बजार चलेको छ,’ उनले भने ।
‘धनगढी उपमहानगरपालिकाले अरूभन्दा अलि फरक काम त गरेको छ, तर पछिसम्म प्रभाव पर्ने नीति के बनायो ?’ उनले भने, ‘त्यो पो महत्त्वपूर्ण विषय हो त ।’
सम्भावना हुँदाहुँदै पनि माटो सुहाउँदो नीति नबन्दा युवाहरू बेरोजगार भएको उनले बताए । ‘अब नयाँलाई भोट दिए केही हुन्छ कि भन्ने झिनो आशा बाँकी छ,’ उनले भने ।
धनगढी उपमहानगरपालिका–६ जाई टोलमा पसलको अगाडि बसिरहेका केही महिलाहरूसँग हामीले कुराकानी गर्यौँ । उनीहरूको पीडा पुरुषहरूको भन्दा अझ गहिरो थियो ।

पसल सञ्चालिका ३८ वर्षीय चन्द्रा बोहराले अहिलेसम्म दुई पटक भोट हालिन् । दुवै पटक उनले आफ्नो मत फरक–फरक दललाई दिइन् । तर जितेकाले खासै काम नगरेको उनको अनुभव छ । ‘आफ्ना दुःख यसै छन्, कहिल्यै समाधान हुँदैनन् । अझ डुबानको समस्याले हामीलाई सधैँ पिरोल्छ,’ उनले भनिन् ।

डोटीबाट धनगढी बसाइँ सरेर आएकी कौशिला विकको पीडा अझ गहिरो छ । ‘हामी त सुकुमबासी जस्तै हौँ, भाडामा बस्छौँ । जग्गाजमिन छैन,’ उनले भनिन्, ‘सरकारले हाम्रो व्यवस्था गर्नुपर्छ । जसले हाम्रो व्यवस्था गर्छ, हामी उसैलाई भोट दिन्छौँ ।’
३३ वर्षीया आशु ताम्राकार पनि कौशिलाको कुरामा सहमत छिन् । उनलाई यसपटक युवालाई जिताउने मन छ । ‘युवालाई स्थान दिनुपर्छ जस्तो लाग्छ । युवाले पनि गर्छन् कि नाइँ भन्ने चिन्ता त छँदैछ,’ उनले भनिन् ।
पढेलेखेका मान्छेलाई आफ्नै गाउँमा बसेर खाने अवस्था नभएकोमा उनी चिन्तित छिन् । उनले भनिन्, ‘जताततै समस्या छ । गाउँमा केही छैन, सहरमा बाँच्न गाह्रो छ । उद्योगधन्दा भए काम पाइन्थ्यो होला । हामी जग्गाजमिन नभएकाहरूलाई झनै समस्या छ । रोजगारी भए त सबै समस्या बिस्तारै हट्थ्यो ।’

भोट माग्न आउँदा फूलमाला लगाउने तर जितेपछि नचिन्ने नेताहरूको प्रवृत्तिले उनलाई दिक्क बनाएको छ । ‘गरिब गरिब नै छन्, धनीहरू झन्–झन् धनी भए,’ उनले सुनाइन् ।
कतिपय मतदाता त उम्मेदवार नै चिन्दैनन् । धनगढी–उपमहानगरपालिका–३ का ७२ वर्षका घनश्याम चौधरीले यो पटक आफ्नो क्षेत्रमा को–को उम्मेदवार छन् भन्ने पनि थाहा पाएका छैनन् । उनलाई नयाँ दलबारे पनि जानकारी छैन ।

‘मलाई त केही थाहा छैन, अब नेताहरू भोट माग्न आएका दिन चिनौँला, नत्र त कसैलाई चिन्दैन, कुन पार्टीबाट कुन उम्मेदवार छन् भन्ने थाहा छैन,’ उनले भने ।
उनी साइकल मर्मत गर्ने काम गर्छन् । आधा जिन्दगी उनले कमैया बसेर बिताए । त्यसपछि खेतीपाती गर्दै बिताए । ‘हाम्रो जिन्दगी यसै बित्यो, पढ्ने मन थियो तर पढ्न पाइएन । अब सरकारले जे–जति गरे पनि हाम्रो लागि के नै हुने हो र ?’ उनले भने, ‘त्यही पनि जो राम्रा छन्, उसलाई भोट दिउँला ।’
धनगढी–५, जाई टोलका ६४ वर्षीय लालबहादुर बोहरा एक जीवित इतिहास हुन्, जसले २०३६ सालदेखिको राजनीति नजिकबाट देखेका छन् । ०४६ सालको परिवर्तनपछि झन्डै डेढ दशक उनले एउटै दललाई मत दिए । ०६२/०६३ को जनआन्दोलन पछि देशमा ठुलो परिवर्तन आयो । उनले सोही परिवर्तनको वाहक बनेको एउटा मुख्य शक्तिलाई मत दिए । तर दलहरू र नेताप्रति जति अपेक्षा थियो, त्यसको सानो हिस्सा पनि पूरा हुन नसकेको उनको अनुभव छ ।
यद्यपि आफूले हिम्मत नहारेको लालबहादुरले सुनाए । उनले भने, ‘म यी तमान विकृति, बेथिति अन्त्य होस् भन्ने चाहन्छु । त्यसैले म फेरि पनि परिवर्तनको पक्षमा उभिनेछु ।’
५७ वर्षीय यज्ञराज जोशीको भोगाइ पनि उस्तै छ । उनी कर्मचारीतन्त्र र राजनीतिक दलको कार्यशैलीबाट आजित छन् । ‘कर थपिने तर त्यो पैसाले नेताका कार्यकर्ता मात्र पालिने,’ उनले आक्रोशित हुँदै भने, ‘प्रदेश सरकारको केही काम छैन । कर्मचारीले घुस नलिई काम गर्दैनन् । विकास पनि दिगो छैन । स्वास्थ्य बीमाको चर्चा भयो तर अहिले बजेट नहुँदा समस्या छ ।’
उत्पादनमा पछि परेको, अर्थतन्त्र कमजोर भएको र एनजीओ/आईएनजीओको भरमा गाउँका बस्ती चलेकोमा उनको चिन्ता छ । ‘वास्तविक वर्गसम्म विकास पुगेन । अर्थतन्त्र कमजोर भयो । यो पटक यी सबै कुरा सुधार गर्नेलाई भोट दिने योजना छ,’ उनले भने ।
७३ वर्षीय डमरशंकर भट्टले पनि जीवनभर एउटै पार्टी रोजे । उनी पनि यस पटक आफ्नो मत फेर्ने कि भन्ने योजनामा देखिन्छन् । ‘युवाले केही गर्छन् कि भन्ने आश लागेको छ,’ उनले भने ।
२०७९ सालको निर्वाचनमा यहाँ ६५ हजार ६१३ मत खसेको थियो । जसमा कांग्रेसका डिल्लीराज पन्तले २१ हजार ३ सय ९२ मत ल्याएर जित हासिल गरेका थिए । कांग्रेसको गढ मानिने वडाहरू पनि यहाँ छन् । यदि यी मतदाताहरूले भने अनुसार २१ वटै वडाका नागरिकले यही किसिमको अडान लिएर मतदान गरेमा नतिजा जे पनि हुनसक्ने धनगढी–८ बासुदेव बिकको भनाइ छ ।
धनगढीमा अस्थायी रूपमा बसोबास गर्नेहरू भोट हाल्न आ–आफ्नो गाउँ फर्कने तयारीमा छन् । उनीहरू पनि यसपटक आफूहरू परम्परागत दृष्टिकोण र सोचबाट माथि उठ्ने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण