बागमतीका ३३ क्षेत्रमा कांग्रेस-एमालेलाई यसपटक पनि रास्वपाको ‘थ्रेट’
हेटौंडा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । बागमती प्रदेशमा कांग्रेस, एमाले र नेकपामाथि रास्वपाले यसपटक राम्रैसँग दबाब दिने आँकलन गरिएको छ ।
२०७९ को निर्वाचनमा रास्वपाले बागमतीका ३३ मध्ये ७ सिट जितेको थियो । रास्वपाका कुल २२ सांसदमध्ये १० जनाले बागमतीकै प्रतिनिधित्व गरेका थिए । जसले बागमती प्रदेशलाई रास्वपाको ‘उर्वर भूमि’ समेत मानिन्छ ।
युवापुस्तामा चुलिएको आकर्षण, जेनजी आन्दोलनको प्रभाव र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको लोकप्रियताका कारण रास्वपाले बागमतीका अधिकांश जिल्लामा आफ्नो पकड विस्तार गरिरहेको छ । भावी प्रधानमन्त्रीमा बालेन र पार्टी सभापति रवि लामिछानेको संगमलाई लिएर मतदातामा पनि केही उत्साह देखिन्छ । मतदाताको ‘परिवर्तन चाहने’ मनस्थितिले आगामी चुनावमा रास्वपालाई थप बल पुग्ने आँकलन गरिएको छ ।
गत निर्वाचनमा १३ सिट जितेर बागमतीमा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेसका लागि ‘अन्तरघात’ सबैभन्दा ठुलो शत्रु बनेको छ । आन्तरिक विवादका कारण निश्चित जित भएका क्षेत्रहरु समेत गुमाउनु परेको पीडा कांग्रेसमा अझै देखिन्छ । आगमाी निर्वाचनमा कांग्रेसले विशेष माहधिवेशन मार्फत् नेतृत्व परिवर्तन गरेर सभापतिमा गगन थापालाई चयन गरेको छ । युवा नेतृत्वबाट चुनावी मैदानमा होमिएको कांग्रेसमा आन्तरिक विवाद रहेपनि सतहमा भने देखिएको छैन । यद्यपि निर्वाचनको समयमा उक्त असन्तुष्टि देखिन सक्ने आशंका पनि छ ।
कांग्रेसले भावी प्रधानमन्त्रीमा सभापति थापालाई औपचारिक रुपमा नै घोषणा गरेकाले युवापुस्तामा त्यसको प्रभाव सकारात्मक देखिन्छ । विचार, सिद्धान्त र स्पष्ट मार्गदर्शनका साथ कांग्रेस निर्वाचनमा होमिएकाले युवापुस्तासहित मतदातामा सकारात्मक छाप पर्न सक्छ । यद्यपि जेनजी आन्दोलनमा सरकारमा रहेकाले कांग्रेसमाथि प्रश्न कायमै छ ।
यता, संगठनात्मक रूपमा बलियो मानिएको नेकपा एमालेका लागि बागमती प्रदेश निकै महँगो सावित भएको छ । काठमाडौंका १० मध्ये ९ सिट गुमाएको एमाले समग्रमा ४ सिटमा खुम्चिएको थियो । युवापुस्तालाई अवसर नदिएको र पुस्तान्तरण नगरेको आरोपका बिच एमालेका लागि आगामी चुनाव झन् चुनौतीपूर्ण हुने देखिएको छ । विशेषगरी विद्यार्थीमाथि गोली प्रहारको आरोप र टिकट वितरणको असन्तुष्टिले एमालेलाई थप रक्षात्मक बनाएको छ ।
गत निर्वाचनमा ६ सिट जितेको तत्कालीन माओवादी केन्द्र (हाल विभिन्न पार्टीसँगको एकतापछि नेकपा) भित्र पनि ठुलो हलचल देखिएको छ । प्रभावशाली नेताहरु जनार्दन शर्मा र सुदन किरातीले पार्टी छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मार्फत चुनावी अभियान चलाउँदा केही मात्रामा नेकपाको मत काटिन सक्छ ।
त्यस्तै, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र विप्लव नेतृत्वको नेकपा माओवादीले पनि नेकपाकै परम्परागत मतमा हस्तक्षेप गर्न सक्छन् ।
रास्वपाका केन्द्रीय सदस्य एवम् विघटित प्रतिनिधिसभामा रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ आगामी निर्वाचनमा बागमती प्रदेशमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दाबी गर्छन् । बागमती प्रदेशका कुल ३३ निर्वाचन क्षेत्रमध्ये रास्वपाले कम्तीमा २२ सिट जित्ने लक्ष्यका साथ तयारी अगाडि बढाएको उनको दाबी छ ।
‘हामीले संसद्मा शिष्ट र सुसंस्कृत तरिकाले बेथिति र सुशासनका पक्षमा आवाज उठायौँ । पछिल्लो समय मानव तस्करी विरुद्ध रास्वपाले संसद्मा गरेको आन्दोलनले पनि जनतामा सकारात्मक सन्देश गएको छ,’ श्रेष्ठ भन्छन् ।
निर्वाचनको तयारीका लागि रास्वपाले वैज्ञानिक पद्धति अपनाएको श्रेष्ठ बताउँछन् । उनका अनुसार पार्टीले विभिन्न निर्वाचन क्षेत्रलाई ‘ग्रिन, ओरेन्ज र रेड जोन’ मा वर्गीकरण गरी काम गरिरहेको छ । डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको कार्यदलले चुनावी घोषणापत्र र पार्टीले गर्ने कामको स्पष्ट खाका (रोडम्याप) तयार पारिरहेको उनको भनाइ छ । सहरी क्षेत्रमा रास्वपाको राम्रो प्रभाव देखिएपनि ग्रामीण भेगमा संगठन विस्तारमा केही चुनौती रहेको श्रेष्ठ बताउँछन् ।
यता, एमालेका केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला आगामी निर्वाचनमा बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा एमालेले जित हासिल गर्ने दाबी गर्छन् । मकवानपुर–२ बाट उम्मेदवार रहेका बर्तौला एमाले अहिले बहुमत स्थानमा विजय हासिल गर्नेगरी सांगठनिक तयारीमा जुटेको बताउँछन् ।
गत २०७९ को निर्वाचनमा एमालेले बागमती प्रदेशमा विपक्षी गठबन्धनका कारण सोचे जस्तो मत प्राप्त गर्न नसकेको उनी जिकिर गर्छन् ।
‘गत निर्वाचनमा एमाले एक्लै गठबन्धनका विरुद्ध लड्नुपरेको थियो । गठबन्धनको मतभारका सामु हाम्रो मतले चुनौती सामना गर्न सकेन । जसकारण धेरै ठाउँमा पराजित हुनुपर्यो,’ बर्तौला भन्छन्, ‘अघिल्लो निर्वाचनमा बागमतीका ३३ मध्ये ४ सिटमा खुम्चिनुको मुख्य प्राविधिक कारण दलहरुबिचको मोर्चाबन्दी हो ।‘
पछिल्लो समय युवापुस्ता र जेनजी आन्दोलनका नाममा एमालेमाथि ‘प्रायोजित भ्रम’ सिर्जना गर्ने काम भएको बर्तौलाको आरोप छ । ‘भ्रम सिर्जना गरेर विजय हासिल गर्न सकिन्छ भन्ने एउटा प्रायोजित प्रयत्न भइरहेको छ । तर तथ्यले पुष्टि नगरेका काल्पनिक कुराहरुले सधैं काम गर्दैनन्,’ उनी भन्छन्, ‘पार्टीभित्रको सुदृढ एकता र जनताको मुद्दा बोक्ने क्षमताका कारण हामी फेरि बलियो शक्तिका रुपमा उदाउनेछौँ ।’
यस्तो थियो २०७९ को निर्वाचन परिणाम
गत निर्वाचनमा बागमतीका ३३ निर्वाचन क्षेत्रबाट कांग्रेसले १३, रास्वपाले ७, नेकपाले ६, एमालेले ४, राप्रपाले २ र नेमकिपाले १ क्षेत्रमा चुनाव जितेका थिए । कांग्रेसबाट (१३ सिट) काठमाडौं–१ प्रकाशमान सिंह, काठमाडौं–३ सन्तोष चालिसे, काठमाडौं–४ गगनकुमार थापा, काठमाडौं–५ प्रदीप पौडेल, काठमाडौं–१० राजेन्द्रकुमार केसीले चुनाव जितेका थिए ।
ललितपुर–१ उदय शमशेर राणा, भक्तपुर–२ दुर्लभ थापा क्षेत्री, सिन्धुपाल्चोक–२ मोहनबहादुर बस्नेत, नुवाकोट–२ अर्जुननरसिंह केसी, धादिङ–२ रामनाथ अधिकारी, सिन्धुली–१ श्यामकुमार घिमिरे, रामेछाप–१ पूर्णबहादुर तामाङ (कान्छाराम), रसुवा–१ मोहन आचार्यले चुनाव जितेका थिए ।
रास्वपाबाट (७ सिट) काठमाडौं–२ सोविता गौतम, काठमाडौं–६ शिशिर खनाल, काठमाडौं–७ गणेश पराजुली, काठमाडौं–८ विराजभक्त श्रेष्ठ, ललितपुर–३ डा. तोसिमा कार्की, चितवन–१ हरि ढकाल र चितवन–२ रवि लामिछानेले चुनाव जितेका थिए ।
माओवादी केन्द्र अर्थात् हाल नेकपाले (६ सिट) काभ्रे–१ सूर्यमान दोङ, सिन्धुपाल्चोक–१ माधव सापकोटा, नुवाकोट–१ हितबहादुर तामाङ, सिन्धुली–२ लेखनाथ दाहाल, दोलखा–१ गंगा कार्की र धादिङ–१ राजेन्द्रप्रसाद पाण्डेले निर्वाचन जितेका थिए । एमालेबाट (४ सिट) काठमाडौं–९ कृष्णगोपाल श्रेष्ठ, ललितपुर–२ प्रेमबहादुर महर्जन, काभ्रे–२ गोकुलप्रसाद बास्कोटा र मकवानपुर–२ महेशकुमार बर्तौलाले चुनाव जितेका थिए । राप्रपाबाट (२ सिट) मकवानपुर–१ दीपकबहादुर सिंह र चितवन–३ विक्रम पाण्डे, नेमकिपा (१ सिट) भक्तपुर–१ प्रेम सुवालले चुनाव जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण