शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्ड–विप्लव दोहोरी : वैचारिक विचलनको ‘ट्याग’

शुक्रबार, १६ माघ २०८२, १७ : ५१
शुक्रबार, १६ माघ २०८२

सारांश

  • प्रचण्ड र विप्लव, जो पहिले सहयात्री थिए, अहिले फरक-फरक पार्टीको नेतृत्व गर्छन्।
  • विप्लवले प्रचण्डमाथि माओवादी विचारलाई भत्काएको र एकताको आह्वान विचलनकारीले गरेको आरोप लगाए।
  • प्रचण्डले विप्लवलाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आग्रह गरे, तर विप्लवले एकता अस्वीकार गरे।

काठमाडौँ । १० वर्षे जनयुद्धमा सहकार्य र एकआपसमा साथ सहयोग गरेका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द विप्लव ‘सी’ अहिले फरक फरक पार्टीको नेतृत्व गर्छन् ।

२०६९ मा एकीकृत नेकपा माओवादीको नेतृत्व गर्दा प्रचण्ड–बाबुरामले लिएको शान्तिपूर्ण सङ्घर्ष र संसदीय राजनीतिको नीतिप्रति असहमति जनाउँदै विप्लव सशस्त्र सङ्घर्ष गर्ने भन्दै उक्त पार्टीबाट अलग भएका थिए । 

त्यसयता केही वर्ष भूमिगत राजनीति गरेका विप्लव २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सम्झौता गरेर शान्तिपूर्ण मूल राजनीतिमा फर्किएका थिए ।

शान्तिपूर्ण राजनीतिमा फर्किएका विप्लवले बितेको ५ वर्षसम्म राजनीतिक सङ्गठन मजबुत बनाउन सकेका छैनन् । यता प्रचण्ड भने कहिले एमाले त कहिले कांग्रेससँग गठबन्धन गर्दै नेपाली राजनीतिको केन्द्रभागमै रहने प्रयास गर्दै नेपाली कम्युनिस्ट पार्टी गठनको यात्रासम्म पुगिसकेका छन् । 

गत भदौमा भएको दुई दिने जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिस्थितिमा प्रचण्डले नेकपा एकीकृत समाजवादीलगायतका वाम घटकहरूसँग पार्टी एकीकरण गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए । तर, नेपाली कम्युनिस्ट पार्टी गठन गर्दा पनि विप्लव छुट्न पुगे । यद्यपि नेपाली कम्युनिस्ट पार्टी गठन अघिसम्म विप्लव र प्रचण्डहरू समाजवादी मोर्चा बनाएर सहकार्यमै रहेका थिए । माओवादी नामै त्यागेर जब प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी गठन गरे तब प्रचण्ड र विप्लवबिच एक अर्कामा वैचारिक विचलनको ट्याग भिराउन थालेका छन् ।

शुक्रबार मात्रै काठमाडौँमा भएको एक कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू नभई प्रचण्ड भागिरहेको आरोप लगाए । 

जबकि प्रचण्डले बुधबारमात्रै विप्लवलाई कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्न एकता अपरिहार्य आवश्यकता भएको भन्दै विप्लव नेतृत्वको पार्टीलाई आत्म समीक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरेका थिए ।

उनले वास्तविक घर नेपाली कम्युनिस्ट पार्टी मात्र भएकाले यताउता भौँतारिएर केही नहुने बरु आत्म समीक्षा गरेर एकतामा प्रक्रियामा आए विप्लवलाई आफू स्वागत गर्न तयार रहेको बताएका थिए ।

‘म उहाँहरूलाई पनि अपिल गर्न चाहन्छु, तपाईँहरू पनि आत्म समीक्षा गर्नुस्, तपाईँहरूको रियल घर यही हो, तपाईँहरू आउनुपर्ने ठाउँ यही हो’, प्रचण्डले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘विप्लवजी यता र उता गरिराख्नुभएको छ, आजभोलि । त्यसले केही हुनेवाला छैन ।’ प्रचण्डले विप्लवलाई आत्मसमिक्षा गर्न सुझाव समेत दिए । ‘म गम्भीर ढङ्गले मेरो पुरानो, सँगै बसेको कमरेडहरू हुनुको नाताले पनि म भन्न चाहन्छु, तपाईँहरूले आत्म समीक्षा गर्ने यो बेला हो । अझै पनि तपाईँहरूको पूरै अवसर गुमिसकेको छैन’, प्रचण्डले भने, ‘तपाईँहरूले आत्म समीक्षा गर्नुभयो र एकतामा आउनुभयो भने तपाईँहरूलाई स्वागत गर्न फेरि पनि तयार नै छौँ ।’

तर प्रचण्डलाई शुक्रबार जवाफ फर्काउँदै विप्लवले माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरूसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने जवाफ दिए । उनले विचलनकारीहरूले एकताको अपिल गरेको नसुहाउने भन्दै जनतासँग सम्पूर्ण रूपमा जोडिएको शक्तिले मात्रै एकताको अपिल गर्न सुहाउने तर्क गरे ।

माओवादी आन्दोलनलाई बिसर्जन गर्ने प्रकारको कुनै पनि एकतामा आफूहरू सहभागी नहुने बताएका विप्लवले पार्टीले उठाएका एजेण्डाका साथै सत्य तथ्य विचारका साथ जनतामाझ जाने भन्दै प्रचण्डसँग एकता सम्भव नभएको जनाए ।

‘प्रचण्डजी बेलाबेला एकताको अपिल पनि गर्नुहुन्छ ।म त के भन्छु भने एकताको अपिल विचलनकारीले गरेको सुहाउँदैन’, विप्लवले भने,‘आफ्ना मूल्यमान्यताबाट भाग्नेले गरेको सुहाउँदैन ।’

विप्लवले प्रचण्ड अनुशासनमा नबसेको नेताका रूपमा समेत चित्रित गरे । ‘एकताको अपिल जनतासँग सम्पूर्ण रूपले जोडिएको शक्तिले गर्नुपर्छ । अनुशासनमा बसेको पार्टी नेता कार्यकर्ताले गर्नुपर्छ । एकता गर्ने राइट सही बाटोमा हिँडेको शक्तिलाई अधिकार हुन्छ’, उनले प्रचण्डलाई दलदलमा फसेको तथा दलदलमा फस्दै विकृतिमा हुइँकिएको टिप्पणी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप