ममा कयौँ पुस्तकको प्रभाव छः दिनेश अधिकारी
सारांश
- कवि तथा गीतकार दिनेश अधिकारीसँगको कुराकानीमा किताब, कविता र गीतप्रतिको उनको धारणाबारे चर्चा गरिएको छ।
- उनले कविता लेख्न सुरु गरेको अनुभव र मदन पुरस्कार पाएपछिको अनुभवबारे बताउँदै, पठन संस्कृति र अनुवादको महत्त्वबारे पनि प्रकाश पारेका छन्।
- अधिकारीले पछिल्लो समयमा नेपाली साहित्यमा भइरहेका गतिविधि, अनुवादको आवश्यकता र आफूलाई मन परेका पुस्तकबारे विचार व्यक्त गरेका छन्।
चर्चित कवि तथा गीतकार हुन्, दिनेश अधिकारी । काठमाडौँमा जन्मिएर सर्लाहीको हरिवनमा हुर्किएका उनले लामो समय सरकारी सेवामा बिताए । वि.सं. ०३७ सालमा ‘अन्तरका छिटाहरू’ कविता सङ्ग्रह प्रकाशित गरेर पाठकमाझ आएका अधिकारीका हालसम्म ११ वटा कविता सङ्ग्रह प्रकाशित छन् । अन्तिम पटक अधिकारीले ०८१ मा ‘पानीका परेड’ कविता सङ्ग्रह प्रकाशित गरेका थिए । वि.सं. ०५६ मा उनको कृति ‘अतिरिक्त अभिलेख’ ले कविता विधामा मदन पुरस्कार प्राप्त गरेको थियो ।
यस बाहेक, अविराम यात्रासहित अधिकारीको चार वटा गीत सङ्ग्रह र १४ वटा गीति एल्बम पनि बजारमा आएको छ । ०५१ सालको साझा पुरस्कार, ०५८ सालको छिन्नलता गीत पुरस्कारले सम्मानित अधिकारीले दर्जनौँ पुरस्कार पदक र सम्मान पाएका छन् । उनै अधिकारीसँग रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलाका लागि रमा सुवेदीले गरेको कुराकानी -
- तपाईंका लागि किताब के हो ?
अहिले त मेरो लागि किताब बानी हो । सुरु–सुरुको चरणमा रहर र उत्सुकता थियो । मेरो पारिवारिक पृष्ठभूमिमै पठनपाठन थियो । मेरो पिताजी डायरी राख्नु हुन्थ्यो, कविता कोर्नुहुन्थ्यो । घरमा पठन पाठनमय वातावरण थियो । म स्कुलमा पढ्दाखेरि मेरो घरमा दराजभरि साहित्यिक किताब हुन्थे, पत्रपत्रिका हुन्थे । प्रत्येक पटक काठमाडौँबाट सर्लाही जाँदा साहित्यिक पत्रिका लगिन्थ्यो । यसरी किताब पढ्ने बानी बस्दै गयो ।
- तपाईंका लागि कविता के हो त ?
सबै चिज छ भने पनि आफूलाई अभिव्यक्त गर्न पाइएन भने मान्छेसँग भएका सबै ज्ञान अधुरा हुन्छन् । पीडा भयो, रुन पाएन भने मान्छे विक्षिप्त हुन्छ । खुसी छ, तर बाँड्न पाएन भने ऊ खुसी हुँदैन । मेरा लागि कविता अभिव्यक्तिको स्वतन्त्र माध्यम हो । कविका लागि मात्रै होइन, प्रत्येक मान्छेका लागि अभिव्यक्ति जीवनमा सबभन्दा ठुलो विषय हो भन्छु म । गीत पनि त्यही हो । गीत होस् वा कविता हरेकमा म आफैँलाई अभिव्यक्त गर्न खोज्छु । कविता र गीत मेरो मनका स्वतन्त्र पखेटाहरू हुन् ।
_7SQmtdfD3r.jpg)
ठ्याक्कै वर्ष त भन्न सकिन, ९–१० वर्षको थिएँ होला । म चार कक्षामा पढ्थेँ । कविता प्रतियोगिता हुन्थ्यो स्कुलमा, भाग लिएँ । के लेखेको थिएँ पनि सम्झना छैन तर म फस्ट भएँ । १६ पानाको कापी र एउटा सिसा कलम पुरस्कार पाएँ । छापिने हिसाबले कुरा गर्ने हो भने ०३२ सालदेखि मेरा कविताहरू छापिन थालेका हुन् । ‘रत्न श्री’ पत्रिकामा ०३२ सालमा पहिलो पटक मेरो कविता छापियो । ‘रत्न श्री’ त्यतिखेरको नेपाली साहित्यको स्तरीय र राम्रो साहित्यिक पत्रिकामध्ये एक मानिन्थ्यो ।
- तपाईं कविता र गीत दुवै लेख्नु हुन्छ । सामान्य मानिसका लागि कविता र गीत दुई फरक फरक विधा हुन् । कविता लेखिरहेको मान्छे गीत लेख्न कसरी पुग्छ वा गीत लेखिरहेको मान्छे कवितामा कसरी आइपुग्छ ?
कविताका अनेक रूप छन् । गद्य, पद्य, गीति कविता । हाइकु, मुक्तक र गजल पनि यसकै रूप हुन् । कविताको विशाल रुखको एउटा ठुलो हाँगो हो गीत । कविता र गीत धेरै फरक होइनन् । तर यिनीहरूका केही चरित्र फरक छन् । एउटा मान्छे हाँस्छ पनि, रुन्छ पनि । हाँस्दा हाँस्दै रुन्छ वा रुँदा रुँदै हाँस्छ । कसरी यसो गर्न सक्छ भनेर सोध्न मिल्छ र ? त्यसकारण एकैसाथ कविता र गीत लेख्ने कुरो अस्वाभाविक होइन ।
- पछिल्लो समय हामीकहाँ संख्याका हिसाबले एकदम धेरै किताबहरू आइरहेका छन् । कविता सङ्ग्रहका सङ्ख्या पनि बढेका छन् । बेला–बेलामा सङ्ख्या अनुसार स्तर भएन भन्ने कुरा पनि उठिरहेका छन् । तपाईंलाई के लाग्छ ?
कुरा के हो भन्दा एउटा कक्षामा दुई सय विद्यार्थी छन् भने त्यहाँ एउटै विद्यार्थी पहिलो हुने हो । दोस्रो र तेस्रो पनि एक–एक जना मात्रै हुन्छन् । केही पास मात्रै हुन्छन्, अनि केही फेल पनि । हामीकहाँ पछिल्लो समय प्रकाशित भएर आइरहेका कवितामा अलिकति पाको उमेरका स्थापित कविहरू, केही लामो समयदेखि कविता लेखिरहेकाहरू अनि नवोदित सबै छन् ।
भर्खरै लेख्न सुरु गरेको मान्छेलाई तेरो स्तर भएन भनेर कसरी भन्ने ? ऊसँग अपेक्षा गर्ने समय भइसक्या छ कि छैन ? काँचैमा टिपेर खायौँ भने सुन्तला गुलियो होला र ? यसलाई पहिला पाक्न त दिनुपर्यो नि । अलिकति समय त पर्खिनुपर्यो नि । चिचिलै टिपेर त भएन । सुन्तलामा सुन्तलाको गुण आउन समय लाग्छ । समयसँगै कविले पनि आफूलाई परिमार्जन गर्दै जान्छन् । परिमार्जनले कहिल्यै पुग्दैन ।
_OZT5p3siMw.jpg)
- प्रकाशन सँग–सँगै हामी कहाँ साहित्यिक कार्यक्रमहरू र प्रदर्शनीहरू प्रशस्तै भइरहेका छन् । यी कार्यक्रमहरूले हाम्रो पठन संस्कृतिलाई कत्तिको योगदान दिइरहेका छन् ?
कुनै पनि साहित्यिक कार्यक्रमले पठन संस्कृतिलाई नै जोड दिइरहेको हुन्छ भन्छु म । यति प्रतिशत भनेर चाहिँ भन्न सक्दिनँ । एउटा कार्यक्रममा कुनै राम्रो कविको कविता नयाँ पाठक/श्रोताले सुने भने एकैचोटी त होइन तर दुइटा, तीनवटा, चार वटा ठाउँमा उसले त्यो कविलाई याद गरिराखेको छ भने यो कविको कविता त पढ्नै पर्छ कि क्या हो भनेर खोज्न थाल्छ ।
अब अभ्यस्त भइराखेको पाठक हो भने उसका आफ्ना लेखकहरू हुन्छन् । उसका आफ्ना कविहरू हुन्छन् । उसले धारणा बनाएको हुन्छ कि फलानोको निस्कियो भने गएर किनिहाल्छ । त्यसैले यस्ता कार्यक्रमले पठन संस्कृतिलाई टेवा नै पुर्याउँछ । घाटा पार्दैन ।
- तपाईँले ‘अतिरिक्त अभिलेख’ कविता सङ्ग्रहबाट मदन पुरस्कार पाउनुभयो । त्यसले तपाईँको लेखनमा कस्तो प्रभाव प‘या कि ?
नेपाली साहित्यमा मदन पुरस्कारको आफ्नै गरिमा छ । पुरस्कारै लिन्न नै भन्नेहरू बाहेक सबैको चाहना यो पुरस्कार पाउनु हुन्छ । मदन पुरस्कारबारे मेरा दुइटा अनुभव छन् । पहिलो त मैले मेरो पुस्ताको प्रतिनिधित्व गर्न पाएँ । मदन पुरस्कारको माध्यमबाट कविता पुस्ताको प्रतिनिधित्व गर्न पाएँ । अनि दोस्रो यो पुरस्कार पाइसकेपछि म डराएँ । एक वर्षसम्म मैले कविता लेख्न झन्डै सकिनँ । त्यो पुरस्कारको छवि यति ठुलो भयो कि यसको गरिमाको भारले मलाई थिच्यो । त्योभन्दा राम्रो कविता लेख्न सकिनँ भने त म खत्तम हुन्छु नि भनेर प्रत्येक पटक लेख्न बस्दा ममा दबाब सिर्जना भयो ।
झन्डै एक वर्षसम्म म त्यो अवस्थामा रहेँ । त्यो बिचमा गीतहरू लेखेँ । अनि पछि लाग्यो पुरस्कार भनेको त यात्राको क्रममा भेटिने एउटा चौतारी न हो । म चौतारो भेट्छु भनेर यात्रामा हिँडेको त होइन । कहाँ पुग्छु कहाँ पुग्दिन थाहा थिएन । तर, हिँड्ने क्रममा राम्रो चौतारो फेला पर्यो । उत्साहित भएँ । यहीँ बसिरहूँ भनेर कहाँ पाइन्छ त । केही बेरमा त घाम पनि डुब्छ । हिँड्नु त पर्यो नि, हैन ? जब मैले यसरी सोचेँ त्यसपछि फेरि लेख्न थालेँ ।
- तपाईँलाई मन परेका नेपाली किताबहरू सम्झिनुपर्दा कुन–कुन सम्झिनुहुन्छ ?
सबैभन्दा पहिले महाभारत र रामायण भन्छु । अब त्यो भन्दा बाहिर आएर कवितामा सीमित रहेर कुरा गर्दा चाहिँ देवकोटा, गोपालप्रसाद रिमाल, भूपी शेरचन, वासु शशी, विजय मल्ल, वैरागी काइँला बढी मन पर्छन् । देवकोटालाई कुनै एउटा धारमा मात्रै बाँध्न सकिँदैन । अर्को धारको कुरा गर्दा मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ आदिका कविता मन पराउँछु ।
नयाँ पुस्तामा आशा लाग्दा कविहरू हुनुहुन्छ । उमेरका हिसाबले म जेठो भए पनि कविताका हिसाबले उहाँहरू जेठो हुनुहुन्छ । तर अब मलाई गाह्रो के छ भने तीन जना मान्छेको नाम लिएर पूर्ण हुँदैन । बाँकीलाई त बेवास्ता गरे जस्तो भयो नि हैन ? त्यसैले एउटा कुरा चाहिँ भन्छु, म भन्दा पछिको पुस्ताका सबै लेखक, केही कविहरू उत्कृष्ट हुनुहुन्छ । उहाँहरूलाई देखेर मलाई गर्व लाग्छ ।
- विदेशी लेखकहरूमा कसलाई सम्झिनुहुन्छ ?
म नेपाली साहित्यको विद्यार्थी होइन, कानुनको विद्यार्थी हुँ । साहित्य त आफ्नो अभिरुचिले पढेको हुँ । त्यसैले गर्दा मैले विश्व साहित्यको त्यति धेरै अध्ययन गरेको छैन । जसरी नेपाली कविता अथवा हिन्दी कविता पढेको छु । त्यसबाहेक विश्वका केही कविहरूलाई नजिकबाट नियालेको छु । तर सबै भाषा र सबै भूगोलका कविताहरू नपढेकाले उनीहरू मात्रैको नाम लिनु अन्याय होला भन्ठान्छु । मेरा पनि त आफ्ना सीमा छन् नि होइन र ?
- कवितामा ‘बासी बिम्ब’ का कुरा आइरहेका छन्, यस विषयमा तपाईँको धारणा के छ ?
बिम्बहरू मज्जाले दोहोरिन सक्छन् नि । द्रोणाचार्यको शिष्य एकलव्यकै उदाहरण दिन्छु । एकलव्यलाई कति अर्थमा प्रयोग गर्न सकिन्छ ? मैले ‘म एकलव्य समयमा बाँचिराखेको छु’ भन्दा एउटा अर्थ दिन्छ । ‘म एकलव्य अन्याय भोगिराखेको छु’ भन्दा अर्थ अर्को लाग्छ । ‘म एकलव्य दृढता समेटिरहेछु’ भनेर भन्दा अर्थ अर्को हुन्छ । त्यो त बिम्बलाई प्रयोग गर्ने ढङ्गमा भर पर्छ । बिम्ब कसैको पेवा होइन । बिम्बले एउटै मात्रै अर्थ दिने पनि होइन । सन्दर्भ अनुसार फरक–फरक हुन सक्छ । सबै कुरा सापेक्षतामा हेर्नुपर्छ ।
- तपाईँले पछिल्लो समय पढिराखेको पुस्तक कुन हो ?
भारतीय कवि गगन गिलको ‘मैं जब तक बाहर आईं’ पढी रहेको छु । यो कविता सङ्ग्रहले सन् २०२४ को साहित्य एकेडेमी अवार्ड पुरस्कार प्राप्त गरेको थियो ।
- साहित्यमा अन्डर–रेटेड र ओभर–रेटेड भन्ने हुन्छ कि हुँदैन त ?
तपाईँले मन पराउनुभयो भने सिद्धियो । मैले तपाईँले मन पराउन पाउनुहुन्न भन्न मिल्दैन । सामाजिक सञ्जाल र मिडियाले गर्दा वातावरण केही अस्वस्थ भएको छ । तर पाठकलाई त्यति धेरै अबुझ ठान्नु हुँदैन । म त भन्छु लेखक÷कविभन्दा पाठकमा बढी परख गर्ने क्षमता हुन्छ ।
दिनेश अधिकारीको कविता किन पढ्ने ? मसँग जवाफ छैन । तर मेरो पाठकसँग जवाफ छ । मैले छापिसकेको छु भने त्यो त मेरो हातबाट गयो, सार्वजनिक सम्पत्ति भयो । त्यसलाई पढ्ने नपढ्ने जिम्मा पाठकको हो । दिनेश अधिकारी किन पढ्ने अनि किन नपढ्ने भन्ने दुवै जवाफ पाठकसँग हुन्छ । लेखनमा शक्ति नभएसम्म हल्लाले मात्र सधैँ पुस्तक चल्दैन ।
_qrWPGXQbHJ.jpg)
- तपाईँको सोच नै बदलिदिएको पुस्तक चाहिँ कुन हो त ?
एउटै किताबले सोच बदल्दैन । मलाई बदल्या छैन । कवि केदारमान व्यथितले भन्नु भए जस्तो कयौँ पुस्तकको प्रभाव छ ममा । सुरुमा पढेको किताबदेखि अहिले पढेको किताबसम्मले अलि–अलि गरेर सोच बदलेका हुन सक्छन् । यो चाहिँ कुनै ठुलो डुङ्गालाई सय पटकको प्रहारमा दुई टुक्रा पारे जस्तै हो ।
पहिलो पटकको प्रहार पनि व्यर्थ हुन्न । त्यो डुङ्गालाई कमजोर बनाउने काम त पहिलो प्रहारबाटै सुरु भइसकेको हुन्छ । तर नतिजा अन्तिम प्रहारमा मात्रै देखिन्छ । फेरि सोचलाई धेरै कुराले प्रभाव पारेका हुन्छन् । पढाइले मात्रै हुँदैन । हामीले पढ्ने भनेको किताब मात्रै होइन । जीवन र समाजले पनि हामीलाई सिकाइ रहेको हुन्छ ।
- कविताले कालजीयता कसरी बोक्छन्, के लाग्छ तपाईंलाई ?
मलाई लाग्छ मानवीय संवेदना यसको मूल स्रोत हो । समय, परिस्थिति सबै चिज फेरिएला, मौसम फेरिएला । तर मेरी हजुरआमाले आफ्ना नाति÷नातिनीलाई गर्ने माया अनि मेरी श्रीमतीले आफ्ना नाति/नातिनालाई गर्ने माया उस्तै छ । फेरिएको छैन । त्यो मानवीय संवेदनासँग जोडिएका विषय हो । कविता आफैमा कालजयी हुन्छ । मात्र कसको प्रभावकारिता र प्रस्तुति कस्तो भन्ने मात्रै हो ।
- पछिल्लो समय अनुवादका कृतिहरू पनि प्रशस्तै आइरहेका छन् । तपाईं अनुवाद गरिएका कृति कत्तिको पढ्नु हुन्छ र त्यसको स्तर कस्तो लाग्छ ?
सबै किताबलाई ओरिजिनल भाषामा पढ्न सकिँदैन । भाषान्तर हुनेमा अनुवाद पढ्ने बाहेक विकल्प हुँदैन । त्यसैले म अनुवाद पढ्छु । कहिलेकाहीँ उपलब्धताको हिसाबले पनि अनुवाद पढ्नुपर्ने हुन्छ । तर खासगरी कवितामा अनुवाद अत्यन्तै जोखिमको काम हो । कहिले काहीँ अनुवादकले गर्दा कविको छवि बिग्रन्छ ।
सबभन्दा पहिले त अनुवाद गर्ने व्यक्तिको दुइटै भाषामा कमान्ड हुनुपर्छ । भाषाले मात्रै पनि पुग्दैन, उसले दुवै भाषा बोलिने देशको समाज, संस्कृति, भूगोल बुझेको हुनुपर्छ । अन्यथा: त्यसले उल्टो अर्थ दिने खतरा रहन्छ । कवि र अनुवादकको बिचमा छलफल भएर अनुवाद गरियो भने त्यो अत्यन्तै राम्रो हुन्छ । सबै ठाउँमा सम्भव हुन्न । नहुँदाखेरि पनि कमसेकम त्यो भाषाका अतिरिक्त संस्कृतिबारे जानकार व्यक्तिले अनुवाद गरेन भने जोखिम बढी हुन्छ ।
- नेपाली साहित्यको अनुवाद हुनुपर्ने खाँचो कत्तिको देख्नु हुन्छ ?
अनुवादमा त हुनै पर्छ, यसको विकल्प छैन । नेपाली साहित्यमा विश्व साहित्यसँग दाँज्न मिल्ने कृतिहरू छन् । तर समस्या अनुवादमा छ । राम्रो अनुवाद भएर हाम्रो साहित्य विश्व बजारमा पुगेमा त्यसले पक्कै कुनै मानक कायम गर्ने देखिन्छ । जस्तै देवकोटाको ‘शाकुन्तल’ महाकाव्य अनुवाद हुन सकेको भए सारै राम्रो हुन्थ्यो । यसमा हामीले अहिलेसम्म ध्यान दिन नसकेको तर ध्यान दिएर मसिनो गरी काम गरेको खण्डमा ठुलो सम्भावना बोकेको क्षेत्र हो यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण