सुशासन र विकासको अनुभूति दिलाउने नेतृत्वको खोजीमा बागलुङे मतदाता
सारांश
- बागलुङका मतदाता सुशासन र विकासको अनुभूति दिलाउने नेतृत्वको खोजीमा छन्, तर जीवनस्तरमा परिवर्तन नआएको गुनासो छ।
- मतदाताहरूले नेताहरूले चुनाव जितेपछि फर्केर नआएको र जनताका समस्यालाई बेवास्ता गरेको गुनासो गरे।
- स्थानीय बासिन्दाले विकास र सुशासनको लागि योग्य उम्मेदवार छान्नुपर्ने र नयाँ पार्टीलाई अवसर दिनुपर्ने बताए।
बागलुङ । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा बागलुङे मतदाता सुशासन र विकासको अनुभूति दिलाउने नेतृत्वको खोजीमा छन् । जति मतदान गरे पनि, जुन सरकार बने पनि आफूहरूको जीवनस्तरमा केही परिवर्तन आउन नसकेको उनीहरूको गुनासो छ ।
बागलुङ नगरपालिका–४ कुँडेलेका हेमलाल सापकोटालाई अझै पनि भदौ २३ र २४ गतेको आन्दोलनले झस्काई रहन्छ । जेन्जी आन्दोलनमा सापकोटाका नजिकका आफन्त त परेनन्, तर आन्दोलनमा मृत्युवरण गरेका तथा घाइते भएका युवाको दृश्य उनको मानसपटलमा अझै ताजा छ । त्यो घटनाले सापकोटालाई सत्ता र राजनीतिक दलप्रति वितृष्णा जगायो ।

‘त्यो (भदौ २३ र २४ गते) आन्दोलनमा परेका छोराछोरी सम्झिँदा कसैलाई पनि भोट नहालौँजस्तो हुन्छ । हाम्रै भोटले मन्त्री, प्रधानमन्त्री बनेकाहरूले सुख, सुविधा दिन सकेनन् । अधिकार माग गर्दा उल्टै गोली बर्साए,’ उनले भने ।
०४८ सालदेखि चुनावमा सहभागी हुँदै आएका सापकोटालाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले छोएको छैन । दिनहुँजसो उम्मेदवार भोट माग्न आउँछन् । छरछिमेकीले पनि भोट यसलाई, उसलाई भन्दै खासखुस गर्छन्, तर उनलाई त्यति चासो छैन ।
चुनावमा भोटै हाल्न परे वैकल्पिक शक्तिलाई दिनुपर्ने सापकोटा बताउँछन् । बहुदल आएपछि राजनीतिक दलहरूले लामो समय मुलुक चलाउँदा पनि जनताले सोचे अनुसार विकासको अनुभूति गर्न नसकेको उनले सुनाए ।
सापकोटाले भने, ‘यो देशमा जे तन्त्र आए पनि ठुला बडालाई मात्र रहेछ । गरिब, दुःखीलाई कहिल्यै केही आउन सकेन । बहुदल आएपछि अब त देश परिवर्तन होला, देशमा रोजगार मिल्ला भन्ने सोचेको थियौँ । नेताका आसपासका बाहेक अरूलाई केही भएन । अहिलेसम्म धेरै चुनाव आए, गए । नेताले जिते, मन्त्री भए, हामी जहाँको त्यहीँ छौँ ।’

ढोरपाटन नगरपालिका–५ का धिरेन्द्र घर्ती मगरले पुराना पार्टी सुध्रिन जरुरी रहेको बताए । ऐतिहासिक विरासत बोकेका पार्टीले जनचाहना अनुसार काम नगर्दा थुप्रै नयाँ पार्टी खुलेको उनको भनाइ छ । बागलुङमा अझै पनि थुप्रै दुरदराजका नागरिक आधारभूत सेवा पाउनबाट वञ्चित रहेका सुनाउँदै उनले जनताको समस्या बुझ्ने, सुशासन कायम गर्ने र विकास गर्ने उम्मेदवारलाई जिताउन जरुरी रहेको बताए ।
‘हरेक चुनावमा यो गर्छौँ, त्यो गर्छौँ भनेर भोट माग्छन् । काम केही गर्दैनन् । हाम्रो पश्चिम बागलुङमा धेरै विकट बस्ती छन् । ती ठाउँमा कहिले सुविधा पुग्ने ?’ उनले भने, ‘नयाँ पार्टीलाई स्थापित हुनै समय लाग्छ, पुराना पार्टी सुध्रिएर जनभावना अनुसार काम गरे छिटो विकास हुन सक्थ्यो । हामीले सुशासन र विकास चाहेका छौँ ।’

काठेखोला गाउँपालिका–६, बिहुँ किमबोटका पशुपति कँडेलले पाँच पटकसम्म भोट हाले पनि अहिलेसम्म किसानको समस्या बुझ्ने जनप्रतिनिधि नआएको सुनाए । ०५६ सालदेखि निरन्तर मतदानमा सहभागी हुँदै आएको जनाउँदै उनले जनचाहना अनुसार विकास नहुँदा बसाइसराइले गाउँ नै रित्तिदै गएको बताए ।
कँडेलले भने, ‘म एउटा किसान हुँ । म फलफूल र दुध उत्पादन गर्छु, तर राज्यबाट कहिल्यै पनि सहयोग पाइएन । हरेक चुनावमा नेतालाई भोट हालेर पठाउँछौँ । चुनावका बेला यो गर्छौँ, त्यो गर्छौँ भन्छन् । पछि कता हराउँछन् भन्ने पत्तो हुँदैन । बसाइसराइले गाउँ खाली भइसक्न लाग्यो । गाउँलेलाई गाउँमै बस्ने वातावरण गराइदिए हुन्थ्यो ।’

बागलुङ नगरपालिका–४ की सम्झना सापकोटाले सही उम्मेदवार छान्न नसक्दा जनताले दुःख पाएको बताइन् । यसभन्दा अगाडि दुई वटा निर्वाचनमा आफूले मत दिएका नेताहरू चुनाव चितेपछि एक पटक पनि फर्किएर गाउँमा नआएको उनको भनाइ छ । उनले पछिल्लो समय नयाँ पार्टीहरू खुलेर चुनावमा होमिएको हुँदा एक पटक उनीहरूलाई अवसर दिनुपर्ने बताइन् । आफ्नालागि मात्र नभई जनताका समस्यालाई प्राथमिकता दिने नेता अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।
‘मतदाता धेरै सजग हुनुपर्दो रहेछ । चुनावका बेला धेरै उम्मेदवार ढोगेरै भोट माग्छन् । चुनाव जितेर गए भने गाउँको समस्या बुझ्ने त कहाँ हो कहाँ, जिताउनु भएकोमा धन्यवाद भन्नसमेत एक पटक पनि आउँदैनन्’ उनले भनिन्, ‘जनतालाई झुक्क्याउने उम्मेदवारदेखि सावधान हुनु पर्छ, मतदाताले पनि सही नेतृत्व चयन गर्न ध्यान पुर्याइएन भने संसद्मा गतिलो नीति निर्माण हुँदैन ।’

गलकोट नगरपालिका–१० पाण्डवखानीका गंगाबहादुर घर्ती पुनले जनताको मर्म बुझ्ने नेतालाई जिताउनु पर्ने बताए । भौगोलिक रूपमा निकै विकट रहेको पाण्डवखानी गाउँमा दुई दशक अगाडि सडक पुगे पनि अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । जसका कारण बाह्रै महिना यहाँका हजारौँ नागरिकले दुःख पाउँदै आएको उनले गुनासो पोखे । यो ठाउँको विकास निर्वाचनका बेलामात्रै नेताको प्राथमिकतामा पर्ने, तर अरू बेला ओझेलमै पर्ने गरेको उनले सुनाए ।
पुनले भने, ‘यो ठाउँको जनताले धेरै दुःख पाएका छन् । हामीले राज्यबाट ठुलो अपेक्षा गरेका पनि छैनौँ । यत्ति बाटो सजिलो बनाइदिए हाम्रो जीवनस्तर नै फेरिने थियो । चुनावका बेला त नेताहरू आएर यो बाटो हामी बनाउँछौँ भन्छन्, तर चुनाव सकिएपछि कहाँ हुन्छन् ! नाक–मुख नै देखाउँदैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण