बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी खुलामञ्च

संस्कार र संस्कृतिभित्रको विज्ञान

सोमबार, १९ माघ २०८२, ०५ : ५७
सोमबार, १९ माघ २०८२

सारांश

  • लेखमा नेपाली समाजमा रहेका विभिन्न संस्कार र तिनको महत्वबारे चर्चा गरिएको छ।
  • खाना खाने बेलाका केही सामान्य प्रचलन र तिनको वैज्ञानिक महत्वबारे विश्लेषण गरिएको छ।
  • पुराना चलनहरूलाई समयसापेक्ष नबुझ्दा मौलिक परम्पराहरू कसरी हराउँदै गए भन्ने कुरालाई उजागर गरिएको छ।
00:00 / NaN:NaN
Audio By AI

हरेक व्यक्ति, परिवार र समुदायका आ–आफ्ना विशिष्ट चलनहरू हुन्छन् । आफ्नो कुल वा समुदायमा चल्दै आएका आदत वा चलनलाई संस्कार भनिन्छ । यही संस्कार धेरै समुदाय र समाजमा पुस्तौनीदेखि चल्दै जाँदा संस्कृति बन्ने रहेछ । यसैगरी लामो समयदेखि चल्दै आएको संस्कृतिलाई सभ्यता भनिँदो रहेछ । संस्कारबाट संस्कृति बन्दै सभ्यता बन्न हजारौँ वर्ष लाग्ने गरेको कुरा इतिहासबाट देखिन्छ ।

हाम्रा परिवार र समाजमा संस्कारका रूपमा केही विशिष्ट प्रचलनहरू थिए र छन् पनि । यस्ता कतिपय संस्कारले समाजलाई उन्नत बनाएको हुन्छ । यस्ता चलनलाई राम्रो, नराम्रो छुट्याउन नसक्दा हामीले आफ्ना पुर्खाहरूलाई अन्धभक्त पनि भन्यौँ कि ! कहिलेकाहीँ नमान्न वा नटेर्न पनि खोज्यौँ । यस्ता चलन किन चले भन्ने कुराको भित्री रहस्य खोजेनौँ । जानेर वा नजानेर परिवार वा समाजले पनि हामीलाई बुझाएन । त्यसैले समाजमा चल्दै आएका कतिपय राम्रा चलन र संस्कारहरू पनि क्रमशः छोडिँदै गए ।

बुझ्दै जाँदा हामीले धार्मिक संस्कारका रूपमा चलेका केही चलनहरू स्वास्थ्यको दृष्टिकोणले उपयुक्त रहेछन् । हाम्रो बहुलवादी समाजमा यस्ता विषयहरू धेरै होलान् । सबैको चर्चा एकै बसाइमा गर्न सम्भव हुँदैन । त्यसैले यहाँ केवल खाना खाने बेलाको सामान्य प्रचलनलाई मात्र लिएको छु ।

  • भन्ने र गर्ने गरिन्थ्यो

हरेक दिन नुहाएर सफा सुग्घर होऊ । नित्य पूजा गर, सूर्य र तुलसीमा जल चढाऊ । सफा लुगा लगाएर खान बस । ताजा खाना खाऊ । खानुभन्दा पहिला अग्नि र धर्तीमा चढाऊ । गाई, चराचुरुङ्गीलाई समेत खाना छुट्याऊ । खाना खानुअघि थाल वरपर पानी घुमाऊ । खाना मुखमा राख्नुअघि पाँचपटक पानी आचमन गर । पहिला हातका औँला अनुसार पञ्चगास खाऊ । खाना खाइरहँदा नबोल । पहिला पाहुना, साधुसन्त, जोगीलाई खुवाऊ आदि ।

यस मान्यताभित्रका विज्ञानलाई हेरौँ । बिहान सफा भएर एकाग्र चित्तले पूजा गर्दा ब्रह्म वा देवत्वप्रति भक्तिभाव बढ्छ । भक्तिले मानिसलाई प्रेमिल बनाउँछ । यसैगरी विराट ऊर्जाका स्रोत सूर्यलाई जल चढाउँदा आफ्नो शारीरिक ऊर्जामा सकारात्मक प्रभाव पर्छ । तुलसीमा भरपुर अक्सिजन भएकाले समीपमा जाऊ, जल चढाऊ, पूजा गर, औषधियुक्त तुलसीको जलपान गर भनियो ।

यसो गर्नु भनेको भरपुर अक्सिजन लिएर प्राणवायु बलवान् बनाउने तरिका रहेछ । प्रेम भावका साथ ऊर्जावान् हुनका लागि यी चलनलाई हाम्रा पुर्खाले निरन्तरता दिए । यस्ता कुराहरू स्वास्थ्यका लागि उपयुक्त देखे र धर्म हुने भनेर लागु गराए ।

शायद त्यतिबेला हाम्रा बाबुबाजेले ननुहाए पाप लाग्छ भनेर नुहाए । बासी खाना बिटुलो हुन्छ भनेर खाएनन् । तर केटाकेटीलाई भने त्यो नियम चलाएनन् । उनीहरूले जसरी खाए पनि हुने सुविधा दिएझैँ गरे । यस्ता सुविधाले बच्चाहरूको सरसफाइमा कमी भयो ।

बासी खानामा गुणकारी तत्त्व कम हुन्छ, किटाणुहरू हुन सक्छन् भन्ने बुझेको भए केटाकेटीलाई पनि दिने थिएनन् होला । त्यो बुझेनन् । यस्तो आचरण उल्लङ्घन गर्दा ठुला मानिसलाई मात्र पाप लाग्ने हो, बच्चाहरू पाप धर्मभन्दा माथि छन् भन्ने माने । त्यसैले होला त्यतिबेला बाल मृत्युदर अत्यधिक थियो ।

त्यसैगरी विवाहित महिलाले खाना पकाउनु वा खानुअघि नुहाउनै पर्ने र बासी खाना खान नहुने चलन भने थियो । तर सबै नियम महिला, केटाकेटी र बाहुन पुरुषबाहेक अरूका लागि होइन झैँ गरेको पाइयो ।

खानुअघि धर्ती, अग्निमा चढाउनु भनेको पक्कै पनि दाताप्रति अहोभाव प्रकट गर्न हो । गाई चराचुरुङ्गीलाई छुट्याउनु पनि सबै प्राणी एउटै ईश्वरका सन्तान हुन् भन्ने समभावले नै होला । यस्तो सबैले गर्नुपर्छ भनेर सिकाउनुपर्ने थियो ।

यसैगरी बासी खाना नखानुको कारण खाना चिसो भएपछि तताउनुपर्छ । जुनसुकै खानाले पनि पेट भर्ला । जिब्रोको स्वाद मेटाउला । तर जस्तो पनि खानाले शरीरका लागि चाहिने तत्त्व भने दिँदैन । पकाएर लामो समय राख्दा र धेरैपटक तताउँदा त्यही खाना तामसी बन्छ भन्ने कुरा ऋग्वेदमा नै लेखिएको रहेछ ।

यही शास्त्रीय मान्यताको पालना समाजले गरेको देखियो । एकपटक मात्र तताए पनि खानाको मौलिक गुण नाश हुन्छ भनिन्छ । त्यसमा पनि पटक–पटक तताउँदा खाना विषाक्त हुन्छ भन्छन् खाद्यविज्ञहरू पनि । प्रोटिन, भिटामिन, म्याग्नेसियम, पोटासियम, फलामजस्ता तत्त्व खानाबाट पाइन्छन् । यिनै हुन् हामीलाई चाहिने पौष्टिकताका स्रोतहरू ।

आजकल फ्रिजमा खाना राख्दा बिग्रँदैन भनेर धेरै दिनसम्म राख्ने प्रचलन छ । फलफूल र सागसब्जी पनि बेमौसमी र वर्णशङ्कर पाइन्छन् । त्यस्ता फसलबाट अमृत होइन बरु विष तत्त्व प्राप्त हुन्छ भनिन्छ । त्यसैले आजकल शरीर, मन, विचारमा आउने शुद्धताका लागि आवश्यक खानाको अभाव बढ्दै गएको छ । जसले गर्दा चिनी रोग, उच्च रक्तचाप, तनाव, डिप्रेसनजस्ता रोगहरू सामान्य हुँदै गएका छन् ।

यसैगरी पहिला थाल वरिपरि पानी घुमाएर खानुको कारण हेरौँ । यसो गर्नाले आफ्नो खानामा त्यो पानीको रेखा काटेर कमिला वा अरू केही आएर नपरोस् भनेर रहेछ । पञ्चगासकै लागि भए पनि 'बल' भनेर घिउ राखेको खानाले खान पनि सजिलो र स्वास्थ्यवर्धक समेत हुने भयो ।

पाँचपटक पानी आचमन गर्नुको झन् वैज्ञानिक कारण देखियो । सुक्खा घाँटीमा खाना राख्दा अड्किने सम्भावना हुने रहेछ । पानी आचमन गरेपछि घाँटी रसिलो भएर खाना निल्न सजिलो हुने भयो । यस्तो कार्य आजकल बुढापाकाबाहेक अरूले गरेको देखिँदैन ।

पानी घुमाउने, पञ्चगास खाने, पानी आचमन गर्नेजस्ता कार्य धार्मिक मानेर त होला, घरमूली पुरुष र भर्खर व्रतबन्ध गरेका केटामान्छेलाई मात्र गराएको देखिन्थ्यो । आमा, भाउजू, छोरी, बुहारी, बहिनी र वयस्कको पनि खाना अड्किन सक्थ्यो । स्वास्थ्यका लागि हो भन्ने बुझेर सबैले गरेको भए यस्तो चलनले निरन्तरता पाउने थियो ।

न विज्ञान जान्ने, न शास्त्रलाई पूरा मान्ने । धर्म बचाउन घरमूलीले मात्र परम्परा धाने । अहिले यस्ता कुरा गर्दा नपत्याउने अवस्था छ ।

यसैगरी अर्को कुरा छ– नबोलीकन खाना खानु । यसमा दह्रो वैज्ञानिक कारण रहेछ । खाँदै बोल्दै गर्दा सँगै बसेर खाने अरूलाई छिटा पर्छ । बोलेर खाँदा खानामा ध्यान कम हुन्छ र स्वादको पनि याद हुँदैन । खानामा भन्दा अन्यत्र ध्यान जान्छ । कति मात्रामा खाइयो भन्ने पनि ख्याल नहुन सक्छ ।

यसले गर्दा पाचन क्रियालाई चाहिने रस कम निस्कने र गल लाग्ने समस्या पनि हुने रहेछ । यसरी नबोली खाने नियम सबैले पालना नगरी भर्खर व्रतबन्ध गरेका केटाहरूलाई गराइयो, त्यो पनि एक्काइस दिन वा एक महिना मात्र । यसलाई केवल व्रतबन्धको अंशजस्तो मानियो ।

अहिलेको विकसित भनिएको समाजमा यो प्रचलन पालनाको कुरै छैन । 'डिनर मिटिङ' भनेर छलफल कार्यक्रम समेत राख्ने गरिन्छ । त्यस्तो उन्नत संस्कृति अहिले कथाजस्तो भयो ।

पहिला पाहुना, साधुसन्त, जोगीलाई खुवाऊ भनियो । पहिला–पहिला घरमा पाहुना आउनु लक्षिनको प्रतीक मानिन्थ्यो । कुन दिन, कसका घरमा, कति जनाले खाना खाए भन्ने कुराको चर्चा हुन्थ्यो समाजमा । पहिला अन्नदानलाई महादान भनिन्थ्यो । अर्काको क्षुधालाई शान्त पार्नु ठूलो पुण्य मानिन्थ्यो । सेवालाई धर्म मानेर अतिथिको सम्मान हुन्थ्यो । आजकल यसको महत्त्व हरायो ।

अहिलेको समयमा आइपुग्दा हाम्रा पुराना यस्ता उपयोगी चलनलाई बुझ्ने र बुझाउने काम भएन । त्यसैले हाम्रा अनगिन्ती मौलिक परम्पराहरू पुस्तान्तरण भएनन् । हाम्रो नेपालमा जन्मेर हुर्केको योग, ध्यान अहिले विदेश घुमेर 'योगा' बनेर आएको छ । हाम्रा संस्कार, संस्कृति पनि पश्चिमा मुलुकको मौलिकता नबनोस् भन्नेतर्फ जागरूक बन्ने बेला आएको छ ।

त्यसैले, सेवा नै धर्म हो भन्ने मान्यता आत्मसात् गरौँ । यसैगरी ताजा, शुद्ध आहार–विहारले शरीर, मन, भावनालाई बलवान् बनाउँछ । चिल्लोले सागसब्जी र अन्य खाना पचाउन मद्दत गर्छ । निश्चित मात्राको शुद्ध घिउको सेवनलाई खाद्यविज्ञहरूले पनि स्वास्थ्यवर्धक मानेका छन् ।

यसैगरी फ्रिजमा राखेको खानाको प्रयोग सकेसम्म कम गरौँ । घरमा तुलसी रोपौँ । बगैँचा बनाऊँ । हाम्रा पुर्खाले प्रचलनमा ल्याएका अन्य समृद्ध प्रचलन धेरै हुन सक्छन् । यस्ता मौलिक चलन र संस्कारको खोजी एवं मूल्याङ्कन गरौँ । उपयोगी संस्कार, संस्कृतिबाट सभ्यता निर्माण गर्दै समृद्ध समाजको पुनर्स्थापना गरौँ ।

(लेखक जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक हुन्) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप