शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतसँग नखेल्ने पाकिस्तानको घोषणापछि आईसीसीको चेतावनी

सोमबार, १९ माघ २०८२, ०६ : ५९
सोमबार, १९ माघ २०८२

सारांश

  • पाकिस्तान सरकारले २०२६ को टी-२० विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्ने घोषणा गरेपछि आईसीसीले कडा प्रतिक्रिया जनाएको छ।
  • आईसीसीले सरकारको यस्तो निर्णयले पाकिस्तानी क्रिकेटलाई दीर्घकालीन असर गर्ने र खेलकुदको मर्मविपरीत हुने चेतावनी दिएको छ।
  • भारत र पाकिस्तानबीचको खेल बहिष्कार गरेमा पाकिस्तानले महत्त्वपूर्ण २ अंक गुमाउने र रनरेटमा भारी गिरावट आउनेछ।

इस्लामाबाद । सन् २०२६ को टी–२० विश्वकप अन्तर्गत भारतविरुद्धको समूह चरणको खेल बहिष्कार गर्ने पाकिस्तान सरकारको घोषणापछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कडा प्रतिक्रिया जनाएको छ । पाकिस्तान सरकारले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भारतसँगको खेल नखेल्ने घोषणा गरेको तीन घण्टा नबित्दै आईसीसीले विज्ञप्ति जारी गर्दै यसले पाकिस्तानी क्रिकेटलाई दीर्घकालीन असर गर्ने चेतावनी दिएको हो ।

आईसीसीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट यस विषयमा आधिकारिक जानकारी प्राप्त नभएको बताए पनि सरकारको यस्तो निर्देशनले ‘सेलेक्टिभ’ अर्थात् छानिएका खेल मात्र खेल्ने प्रवृत्तिलाई बढावा दिने र यो विश्वव्यापी खेलकुदको मर्मविपरीत भएको स्पष्ट पारेको छ । आईसीसीले विश्वकपमा छनोट भएका सबै टोलीले तालिका अनुसार समान रूपमा प्रतिस्पर्धा गर्नु प्रतियोगिताको आधारभूत सर्त रहेको उल्लेख गरेको छ । छानिएका खेल मात्र खेल्ने निर्णयले प्रतियोगिताको निष्पक्षता, प्रतिस्पर्धा र गरिमामा आँच पुर्‍याउने आईसीसीको ठहर छ ।

फेब्रुअरी १५ मा हुने भनिएको भारत र पाकिस्तानबिचको खेल प्रतियोगिताकै सबैभन्दा धेरै आर्थिक लाभ दिने खेल मानिएको छ । आईसीसीले राष्ट्रिय नीतिमा सरकारको भूमिकालाई सम्मान गर्ने भए पनि यो निर्णयले विश्वभरका समर्थक र स्वयम पाकिस्तानी क्रिकेटको हित नहुने बताएको छ । 

आईसीसीले पीसीबीलाई आफू पनि सदस्य र लाभग्राही रहेको विश्व क्रिकेटको संरचना (इकोसिस्टम) मा यसले पार्ने गम्भीर र दीर्घकालीन असरबारे सोच्न आग्रह गरेको छ । साथै, सबै सरोकारवालाको हित रक्षा हुने गरी आपसी समझदारीमा समाधान खोज्न आईसीसीले पीसीबीलाई सुझाव दिएको छ ।

यसअघि नै पीसीबी अध्यक्ष मोहसिन नकभीले विश्वकपमा पाकिस्तानको सहभागिताबारे शंका व्यक्त गरिसकेका थिए । सुरक्षाको कारण देखाउँदै भारतमा खेल्न अस्वीकार गरेपछि बंगलादेशलाई २४ जनवरीमा प्रतियोगिताबाट हटाइएपछि विवाद चर्किएको थियो । बंगलादेशको पक्षमा बोल्ने एक्लो राष्ट्र पाकिस्तानले आईसीसीमाथि भारतको पक्षपोषण गरेको र दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको थियो ।

समूह ‘ए’ मा रहेको पाकिस्तानले भारत, नामिबिया, नेदरल्यान्ड्स र अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको सह–आयोजक रहेको श्रीलंकामा पाकिस्तानले आफ्ना सबै खेल खेल्ने तालिका छ । तर, फेब्रुअरी १५ मा हुने भारतविरुद्धको खेल बहिष्कार गरेमा पाकिस्तानले महत्त्वपूर्ण २ अंक गुमाउनेछ । 

आईसीसीको नियम (क्लज १६.१०.७) अनुसार खेल बहिष्कार गर्दा ‘वाकओभर’ पाउने भारतको रनरेटमा कुनै असर पर्दैन, तर पाकिस्तानको नेट रनरेट गणना गर्दा भने पुरै २० ओभर ब्याटिङ गरेको मानिने हुँदा रनरेटमा भारी गिरावट आउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप