बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी चर्चा

मत बदल्ने ‘मुड’मा छैनन् बागलुङका पाका पुस्ता

मङ्गलबार, २० माघ २०८२, १९ : ००
मङ्गलबार, २० माघ २०८२

सारांश

  • बागलुङमा निर्वाचन नजिकिँदै गर्दा सहरी क्षेत्रमा चुनावी माहोल तातेको छ भने ग्रामीण क्षेत्रमा अझै चुनावको रौनक छाएको छैन।
  • ग्रामीण भेगका वृद्धवृद्धाहरू पुरानै पार्टीलाई विश्वास गर्छन् र चुनावको मिति समेत थाहा नभएको बताउँछन्।
  • मतदाताहरू विकासका कामहरू नभएको गुनासो गर्छन् र नयाँ पार्टीलाई हेर्ने सोच बनाएका छन्।

बागलुङ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङका सहरी इलाकामा चुनावी सरगर्मी बढेको छ । चिया–चौतारादेखि टोल छिमेकमा चुनावकै कुरा हुन थालेका छन् । ग्रामीण क्षेत्रमा भने अझैसम्म चुनावको रौनक छाएको छैन ।

गाउँका खेतबारीमा काम गर्ने किसान आफ्नै धन्दामा व्यस्त छन् । फाट्टफुट्ट नेताहरू भोट माग्न आउने गरे पनि चहलपहल कमै छ ।

नजिकिएको चुनावले युवाहरू केही उत्साहित छन्, तर बुढापाकामा त्यति उत्साह छैन । सामाजिक सञ्जाल र सञ्चार माध्यमको सहज पहुँचमा भएका ज्येष्ठ नागरिकलाई आगामी निर्वाचनका बारेमा जानकारी भए पनि गाउँका बुढापाकालाई चुनावको मितिसमेत थाहा छैन । नेता–कार्यकर्ता सहर बजार केन्द्रित हुँदा कतिपय पाका मतदाता चुनावबारे बेखबर छन् ।

बागलुङ क्षेत्र नम्बर २ विकासका हिसाबले पछाडि नै छ । भौगोलिक हिसाबले ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला केही विकट छन् । माथिल्लो क्षेत्रमा अझै हिउँ नै छ । त्यसले गर्दा चिसो बढी छ । यहाँका मतदाता दैनिकी चलाउन मेलापात र मजदुरीमा व्यस्त छन् । फागनुमा चुनाव हुने भनिए पनि यकिन मिति थाहा नभएको ढोरपाटन नगरपालिका–६ का ७७ वर्षीय भक्तराम अदैले सुनाए ।

भक्तराम अदै

बिहानदेखि साँझसम्म बस्तुभाउकै रेखदेखमै हुने अदैले ०८४ मा हुने नियमित चुनाव जेनजी आन्दोलनका कारण फागुन मै हुन लागेको थाहा पाए पनि मिति भने थाहा हुन नसकेको बताए । लामो समयदेखि पुरानै पार्टीलाई विश्वास गर्दै आएका उनले यसपाली पनि मत बदल्ने पक्षमा नरहेको प्रस्ट पारे ।

अदैले भने, ‘चुनाव फागुनमा हो भन्ने त सुनेको थिएँ, कति गते हो ? भोट त हाल्ने नै हो । हामी त सानैदेखि एउटै पार्टीमा लागेका हौँ । मर्ने बेला के अर्को पार्टीलाई भोट हाल्ने ?’

०७९ को निर्वाचनमा भोट माग्न धेरै नेताहरू आएको उनले सुनाए । ‘भोट माग्न आएकाहरूलाई हुन्न, जाऊ त भन्न भएन । एउटा भोट कतिलाई दिन सकिन्छ र ?’ उनले भने, ‘आफूले मान्दै आएको पार्टीलाई छोडेर अरुलाई भोट हाल्दा त हात काम्छन् ।’

गलकोट नगरपालिका–१० का ८५ वर्षीय कुल घर्तीले सबै निर्वाचनमा मतदान गर्दै आएको सुनाए । चुनावमा आफूले मत दिएका धेरैजसो नेताले जित्ने गरेको भन्दै उनले सोचे अनुसार विकास भने गर्न नसकेको सुनाए । गाउँमा सडक, खानेपानी, विद्युत् र सामान्य उपचारका लागि स्वास्थ्य संस्था स्थापना भए पनि गुणस्तरीय सेवा प्रवाह हुन नसकेको घर्ती बताउँछन् ।

कुल घर्ती

‘विकास हुँदै नभएको होइन, आजभन्दा १०÷१२ वर्षको अगाडिको अवस्था निकै अप्ठ्यारो थियो । हामीले जिताएका नेताले आधारभूत सेवा त दिए, तर यहाँको सडक राम्रो बनाउने, पढाई राम्रो बनाउने काम अली गर्न सकेका छैनन्,’ घर्तीले भने, ‘अब आउनेले गर्छन् कि भन्ने आशचाहिँ छ । अहिले त नयाँ पार्टी पनि आएका छन् । उनीहरूको मलाई त्यत्ति विश्वास लागेको छैन, तर काम हेर्न बाँकी छ ।’

काठेखोला गाउँपालिका–५ का ८४ वर्षीय लालबहादुर सापकोटाले पञ्चायतकालदेखि नै चुनावमा सहभागी हुँदै आएको सुनाए । २०६२/०६३ को आन्दोलनपछि देशमा धेरै विकास भएको उनको भनाइ छ । पुराना पार्टीले लामो समय सङ्घर्ष गरेर देशलाई विकासको गतिमा अगाडि बढाएको भन्दै उनले अहिले नै विकल्प खोज्ने समय नआएको बताए ।

लालप्रसाद सापकोटा

जेनजी आन्दोलन हुनु दुःखद् भएको उनको भनाइ छ । अहिलेको नेता समय र परिवेश अनुसार बदलिएर काम गर्न जरुरी रहेको उनी सुनाउँछन् ।

‘हाम्रो पालामा खुलेआम राजनीति गर्न पाइँदैनथ्यो । लुकीछिपी संगठन निर्माण गर्नु पर्थ्यो । अहिले त राजनीति गर्न सजिलो छ । काम गरे जनताले स्याबासी दिन्छन् । नगरे मतमार्फत कारबाही गर्छन्,’ सापकोटाले भने, ‘सडक बने, पुलपुलेसा बने । ठुलाठुला भवन बने । गाउँमा बिजुली आयो । विकास यही त हो । हामी त आठ÷दश दिन लगाएर बटौली (बुटवल) पुगेर नुन बोकेर ल्याउनु पर्थ्यो । अहिले सबैथोक घरमै आउँछ । अब नेता सुध्रिनु प¥यो । देश बन्छ ।’

बागलुङ नगरपालिका–४ की ६७ वर्षीय पार्वती सापकोटा चुनाव अगाडि हात जोडेर भोट माग्न आउने नेता चुनाव जितेपछि फर्किएर नआउने गरेको बताउँछिन् । खानेपानी र सिँचाइको ठुलो समस्या रहेको कुँडुलेमा २० वर्षदेखि एउटै माग राख्दा पनि कसैले समाधान गर्न नसकेको उनको गुनासो छ ।

पार्वती आचार्य

पुराना पार्टीबाट आश हराउन थालेको उनले बताइन् । गाउँको समस्या बुझ्ने उम्मेदवारलाई मत दिने सोच बनाएको उनको भनाइ छ ।

सापकोटाले भनिन्, ‘पुराना सबै पार्टीलाई पालैपालो भोट दियौँ, तर कसैले पनि हाम्रो समस्या सुनेनन्, बुझेनन् । फेरि पनि उनीहरू नै भोट माग्न आउँछन् । अहिले नयाँ पार्टी पनि आएका छन् । एक पटक उनीहरूलाई हेर्ने कि भन्ने पनि छ । पुराना पार्टी छोड्दा पाप नै पो लाग्छ कि भन्ने पनि हुन्छ ।’

चुनावमा भोट हाल्ने दिनसम्म कस्तो अवस्था, त्यो हेरेर निर्णयमा पुग्ने उनले सुनाइन् । यद्यपि अघिल्ला पटक जितेका नेताहरूले आफूहरूको समस्या नबुझेको उनको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर बुढामगर
डम्मर बुढामगर
लेखकबाट थप