निर्वाचनमा उम्मेदवारहरूको अमर्यादित भाषा र घृणाजन्य अभिव्यक्तिप्रति आयोगको आपत्ति
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै सचेत गराएको छ।
- राजनीतिक दलका नेता र उम्मेदवारहरूले अमर्यादित भाषा प्रयोग र घृणाजन्य अभिव्यक्ति दिएको पाइएको छ।
- आयोगले डिजिटल प्रविधिको दुरुपयोग, मतदाताको गोपनीयता हनन र भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण गराएको छ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको भन्दै सम्बद्ध सबै पक्षलाई सचेत गराएको छ।
आयोगले गरेको पछिल्लो अनुगमन र सरोकारवालासँगको छलफलमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले एक–अर्काप्रति अमर्यादित भाषा प्रयोग गर्ने र घृणाजन्य अभिव्यक्ति दिने गरेको पाइएको छ। आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन र आचारसंहिताको पूर्ण पालना गर्न जोड दिएको हो।
आयोगका अनुसार अहिले डिजिटल प्रविधिको दुरुपयोग गरी अरूको मर्यादामा आँच आउने सामग्री उत्पादन र प्रचारप्रसार गर्ने क्रम बढेको छ। त्यस्तै, मतदाताहरूलाई कुन दल वा नेतालाई भोट दिने भनी सोध्ने र त्यसको भिडियो वा अडियो रेकर्ड गरी सामाजिक सञ्जालमा राख्ने कामले मतदाताको गोपनीयताको हक र गोप्य मतदानको अधिकार उल्लंघन भएको आयोगको ठहर छ।
कतिपय सञ्चारमाध्यमले निर्वाचनअघि नै फलानो उम्मेदवारले जित्छ भनी समाचार सम्प्रेषण गरेर भ्रम सिर्जना गरेको र मतदाता शिक्षा पनि प्रभावकारी नभएको आयोगले जनाएको छ।
विभिन्न राजनीतिक दलका कार्यालयमा भएका तोडफोडका घटनाप्रति पनि आयोगले चासो देखाएको छ। प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै घृणायुक्त आरोप–प्रत्यारोप नगर्न, सामाजिक सञ्जालको दुरुपयोग नगर्न र हिंसात्मक क्रियाकलाप बन्द गर्न आग्रह गरेका छन्।
आयोगले भ्रमपूर्ण समाचार प्रकाशन नगर्न र निर्वाचनलाई मर्यादित बनाउँदै मानव अधिकारको सम्मान गर्न राजनीतिक दल, उम्मेदवार र सञ्चारकर्मी लगायत सबै पक्षलाई आह्वान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण