शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टी–२० विश्वकपः अमेरिकाविरुद्ध भारत दबाबमा, ६ विकेट गुमायो

शनिबार, २४ माघ २०८२, २० : २७
शनिबार, २४ माघ २०८२

सारांश

  • टी-२० विश्वकपमा अमेरिकाविरुद्धको खेलमा भारतले खराब प्रदर्शन गर्दै ६ विकेट गुमायो।
  • भारतका ब्याटरहरू एकपछि अर्को गर्दै आउट हुँदा ६३ रनमा ४ विकेट गुमायो, स्याड्ली भान सालवकले ३ विकेट लिए।
  • अभिषेक शर्मा, रिंकु सिंह र हार्दिक पाण्ड्या जस्ता महत्त्वपूर्ण ब्याट्सम्यानले खासै रन बनाउन सकेनन्।

मुम्बई । आजदेखि सुरु भएको टी–२० विश्वकपअन्तर्गत अमेरिकाविरुद्धको खेलमा भारतीय टोलीले खराब प्रदर्शन गर्दै दबाबमा परेको छ ।

मुम्बईको वाङ्खडे स्टेडियममा भइरहेको खेलमा भारतीय ब्याटरहरू एकपछि अर्को गर्दै पेभेलियन फर्किँदा टोली संकटमा परेको हो । यो समाचार तयार पार्दासम्म भारतले ६ विकेट गुमाइसकेको छ । 

भारतीय टोलीले १० ओभर सकिँदा मात्र ६३ रन जोडेर चार महत्त्वपूर्ण विकेट गुमाएको थियो । त्यसपछि पनि विकेट पतनको क्रम रोकिएन । अमेरिकी बलर स्याड्ली भान सालवकले घातक बलिङ गर्दै ३ विकेट लिएर भारतीय ब्याटिङ लाइनअप ध्वस्त पारे । उनले ओपनर इसन किसन, तिलक बर्मा र शिवम् दुवेलाई आउट गरे । 

ओपनिङमा आएका इसन किसनले २० रन बनाएर आउट भए । १६ बलको सामना गरेका उनले २ छक्का र एक चौका प्रहार गरे पनि स्याड्लीको बलमा मिलिन्ट कुमारबाट क्याच आउट हुन पुगे । स्याड्लीले नै तिलक बर्मालाई पनि १६ बलमा २५ रन बनाएको अवस्थामा पेभेलियन फर्काए । शिवम् दुवे भने स्याड्लीको पहिलो बलमै सौरभ नेत्रवल्करको हातबाट क्याच आउट हुँदै शून्य रनमा आउट भए । 

भारतीय टोलीका विष्फोटक ब्याटर अभिषेक शर्मा पनि आज शून्य रनमै आउट भए । उनलाई अलि खानले सञ्जय कृष्णमूर्तिको हातबाट क्याच आउट गराए । यस्तै रिंकु सिंहको ब्याटिङ पनि चल्न सकेन । उनले ९ बलमा मात्र ३ रन बनाएर मोहम्मद मोसिनको बलमा मिलिन्द कुमारबाट क्याच आउट भए । हार्दिक पाण्ड्या पनि मात्र ६ बलमा ५ रन बनाएर आउट भएका छन् । 

लगातार विकेट गुमाउँदा भारतीय टोली ठुलो दबाबमा छ । यो समाचार तयार पार्दासम्म कप्तान सूर्यकुमार यादव र अक्षर पटेल क्रिजमा छन् ।

अमेरिकाले यसअघिको विश्वकपमा पाकिस्तानलाई हराएको थियो । शीर्ष ८ भित्र पर्दै ऊ यस विश्वकपमा सहभागी भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप