‘अब नेपाल राम्रो हुन्छ, राम्रो हुनैपर्छ’
सारांश
- आगजनीबाट ध्वस्त भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट ५ महिनामै पुनः सञ्चालनमा आएको छ।
- अध्यक्ष मीनबहादुर गुरुङले घटनालाई शक्तिमा बदल्दै कर्मचारी र देशको लागि काम गरेको बताए।
- भाटभटेनीले २०८३ सालको नयाँ वर्षदेखि अन्य शाखाहरू पनि सञ्चालनमा ल्याउने योजना बनाएको छ।
गत २०८२ भदौ २४ गते भएको आगजनीको घटनापछि ध्वस्त बनेको भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखा पुनः सञ्चालनमा आएको छ।
यसै सन्दर्भमा खरानीबाट उठेर फेरि अत्याधुनिक स्वरूपमा सेवा सुरु गरेको सन्दर्भमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङसँग रातोपाटीका लागि अनिश मिजारले गरेको। कुराकानीको सम्पादित अंश :
- कोटेश्वरको भाटभटेनी खरानी भएको ५ महिनामै पुनः सञ्चालनमा ल्याउनुभएको छ। यो क्षणमा कस्तो महसुस भइरहेको छ?
-त्यो एउटा दुःखद घटना थियो, जुन नहुनुपर्ने थियो। तर, भइसकेपछि मैले त्यसलाई एउटा शक्तिको रूपमा लिएँ। जापानमा सन् १९४५ मा हिरोसिमा र नागासाकीमा बम खस्दा ध्वस्त भएको देश जसरी खरानीबाट उठेर विश्वको उत्कृष्ट मुलुक बन्यो, त्यसबाट मैले प्रेरणा लिएँ। जसरी बीएमडब्लुले युद्धपछि आफूलाई रूपान्तरण गरेर विश्वप्रख्यात भयो, हामीले पनि त्यही पाठ सिक्यौँ। भदौ २४ गतेको त्यो घटनालाई मैले त्यही दिन बिर्सिएँ। मैले त्यो पीडालाई शक्तिमा बदलेँ र आज यो नतिजा आएको छ।
_Mt8thbP6r7.jpg)
- एउटा व्यवसायीका लागि आफ्नो सम्पत्ति जलिरहेको देख्दा कस्तो पीडा हुँदो रहेछ? र फेरि उठ्ने आँट कसरी आयो?
-हेर्नुस्, म विगत कोट्याएर घाउ बल्झाउन चाहन्न। त्यो दिन जे भयो, त्यो एउटा इतिहास भइसक्यो। मैले त्यो दिनको घटनालाई त्यहीँ बेचिदिएँ । अब हामीले अगाडि हेर्ने हो। भाटभटेनी एउटा यस्तो संस्था हो जसले हजारौँलाई रोजगारी दिएको छ ।देशको ठुलो करदाता हो र स्वास्थ्य क्षेत्रमा पनि योगदान गरेको छ। यदि म नै हरेस खाएर बसेँ भने हजारौँ कर्मचारी र तिनका परिवारको के हुन्छ ? त्यसैले मलाई हरेस खाने छुट छैन। मेरो आँट र भरोसा भनेकै मेरा कर्मचारी र नेपाली दाजुभाइ दिदीबहिनी हुनुहुन्छ।
- कोटेश्वर त सञ्चालनमा आयो। आगजनीमा परेका अन्य शाखाहरूको अवस्था के छ?
_हामी तीव्र गतिमा काम गरिरहेका छौँ। २०८३ सालको नयाँ वर्ष वैशाख १ गते बौद्धको शाखा सञ्चालनमा ल्याउने छौँ। त्यसपछि क्रमशः पोखरा, त्रिपुरेश्वर, धरान, हेटौँडा र इटहरीका शाखाहरू पनि सञ्चालनमा आउनेछन्। मेरो योजना २०८३ को दसैँसम्ममा जलेका सबै स्टोरहरू अत्याधुनिक र अझ भव्य रूपमा सञ्चालनमा ल्याइसक्ने छ। साथै, हामी नयाँ स्थानहरू जस्तै दमक, बिर्तामोड, लहान लगायतका ठाउँमा पनि जाँदैछौँ।
_wiQeNZtsdq.jpg)
- ६० वर्ष उमेर पार गरिसक्दा पनि २५-२६ वर्षको युवकको जस्तो जोस र जाँगर देखाउनुहुन्छ, यसको रहस्य के हो?
यो सब इच्छाशक्तिको कुरा हो। उमेर केवल एउटा अङ्क हो। मलाई काम गर्दा कहिल्यै थकाई लाग्दैन। जब तपाईंसँग देशका लागि केही गर्ने हुटहुटी हुन्छ, तब ऊर्जा आफैँ आउँछ। मलाई अहिले पनि २५-२६ वर्षको युवा जस्तै महसुस हुन्छ।
- भाटभटेनीको भविष्य र पुस्तान्तरणको बारेमा के सोच्नुभएको छ?
- म एकदमै ढुक्क छु। मेरो परिवार र टिम एकदमै अनुशासित छ। मेरो अनुपस्थितिमा पनि यो संस्था चलाउन सक्ने सक्षम नेतृत्व तयार भइसकेको छ। छोराछोरी र टिम लिडरहरूले मेरो भिजनलाई बुझेका छन् र त्यसलाई अघि बढाउन सक्षम छन्।
- निराश भएका युवा र आम नेपालीलाई के सन्देश दिन चाहनुहुन्छ?
-अब नेपाल राम्रो हुन्छ, राम्रो हुनैपर्छ। हामीसँग क्षमता छ, हिम्मत छ। हामीले नकारात्मकतालाई त्यागेर सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ। भाटभटेनी जसरी खरानीबाट उठ्यो, नेपाल पनि त्यसरी नै उठ्न सक्छ। म दावाका साथ भन्छु, यदि हामीले इमानदार भएर मेहेनत गर्ने हो भने अबको १५ वर्षभित्र नेपाल सम्पन्न देशको नागरिक बन्नेछ। हामी आफैंले केही गर्नुपर्छ, अरुको मुख ताकेर हुँदैन। हामी गर्न सक्छौँ भन्ने भावना राखेर अघि बढौं।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण