शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आईसीसीले पाकिस्तानसँग माग्यो कानुनी आधारसहित स्पष्टीकरण

आइतबार, २५ माघ २०८२, ११ : ५५
आइतबार, २५ माघ २०८२

सारांश

  • पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारत विरुद्धको खेल बहिष्कार गर्ने निर्णय गरेपछि आईसीसीमा विवाद उत्पन्न भएको छ।
  • पीसीबीले सरकारी आदेशको कारण देखाउँदै कोलम्बोमा भारतसँग खेल्न नसक्ने जनाएको छ, जसलाई आईसीसीले अस्वीकार गरेको छ।
  • आईसीसीले पीसीबीलाई बहिष्कारको निर्णय फिर्ता लिन आग्रह गर्दै कानुनी र आर्थिक क्षतिपूर्तिको चेतावनी दिएको छ।

दुबई । टी–२० विश्वकपअन्तर्गत फेब्रुअरी १५ मा तय भएको भारतविरुद्धको बहुप्रतिक्षित खेल बहिष्कार गर्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को निर्णयले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा खैलाबैला मच्चिएको छ। पीसीबीले सरकारी आदेशको हवाला दिँदै ‘फोर्स मेजोर’ नियमअन्तर्गत भारतसँग कोलम्बोमा खेल्न नसक्ने इमेल आईसीसीलाई पठाएपछि विवादले नयाँ मोड लिएको हो। 

आईसीसीले पीसीबीको यो दाबीमाथि प्रश्न उठाउँदै यसको विस्तृत कानुनी कारण र ठोस प्रमाण माग गरेको छ। फोर्स मेजोर एक यस्तो कानुनी अवधारणा हो जसमा प्राकृतिक विपत्ति, युद्ध वा सरकारको आकस्मिक आदेशजस्ता नियन्त्रण बाहिरका घटना हुँदा कुनै पनि पक्षले आफ्नो सम्झौता पालना गर्न नसक्ने छुट पाउँछ। 

पाकिस्तान सरकारले बंगलादेशलाई प्रतियोगिताबाट हटाइएको विरोधमा ऐक्यबद्धता जनाउन भारतसँग नखेल्ने घोषणा गरेको थियो। प्रधानमन्त्री शहबाज सरिफले मन्त्रिपरिषद् बैठकमा यसबारे जानकारी गराएपछि पीसीबीले बहिष्कारको बाटो रोजेको हो। यद्यपि, आईसीसीले भने पीसीबीलाई यो समस्या समाधान गर्न उसले के-कस्ता प्रयास गर्‍यो र यसबाट हुने व्यावसायिक तथा खेलगत क्षतिबारे कत्तिको सचेत छ भन्दै प्रश्नको वर्षा गरेको छ।

आईसीसीले पीसीबीलाई बहिष्कारको बाटो नरोके गम्भीर कानुनी र आर्थिक क्षतिपूर्तिको सामना गर्नुपर्ने चेतावनी समेत दिएको छ। आईसीसी विधानअनुसार यस्तो कदमलाई सम्झौताको गम्भीर उल्लंघन मानिने र यसले सदस्यता निलम्बन वा खारेजीसम्मको चरम स्थिति निम्त्याउन सक्ने संकेत गरिएको छ। 

यता पीसीबीले भने यसअघि भारतले सरकारी अनुमति नभएको भन्दै पाकिस्तानसँग द्विपक्षीय सिरिज खेल्न अस्वीकार गरेको घटनालाई नै नजिर बनाएर आफ्नो अडान बलियो रहेको दाबी गरिरहेको छ। हाल दुवै पक्षबिच भित्री रूपमा वार्ता जारी रहे पनि कुनै आधिकारिक सहमति भने जुट्न सकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप