बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शाहिदको ‘ओ रोमियो’लाई अदालतको क्लिन चिट, रोक्न माग गरिएको रिट खारेज

आइतबार, २५ माघ २०८२, १२ : २३
आइतबार, २५ माघ २०८२

सारांश

  • बलिउड अभिनेता शाहिद कपूर र तृप्ति डिमरीको चलचित्र 'ओ रोमियो' पूर्वनिर्धारित समयमै प्रदर्शन हुने भएको छ।
  • अदालतले ग्याङ्स्टर हुसैन उस्तराकी छोरीको रिट खारेज गरेपछि चलचित्रको प्रदर्शनका लागि कानुनी बाटो खुलेको हो।
  • अदालतले निजताको अधिकार व्यक्तिगत हुने र व्यक्तिको मृत्युपछि यो अधिकार स्वतः समाप्त हुने फैसला सुनाएको छ।

मुम्बई । बलिउड अभिनेता शाहिद कपूर र तृप्ति डिमरी स्टारर चलचित्र ‘ओ रोमियो’ पूर्वनिर्धारित समयमै प्रदर्शन हुने भएको छ। ग्याङ्स्टर हुसैन उस्तराकी छोरीले चलचित्रको प्रदर्शन रोक्न माग गर्दै दायर गरेको रिटलाई बम्बे सिटी सिभिल कोर्टले खारेज गरिदिएपछि चलचित्रका लागि कानुनी बाटो खुलेको हो। 

फेब्रुअरी ७ मा भएको सुनुवाइका क्रममा अदालतले निजताको अधिकार व्यक्तिगत हुने र व्यक्तिको मृत्युपछि यो अधिकार स्वतः समाप्त हुने फैसला सुनाएको छ। हुसैन शेखकी छोरीले चलचित्रले आफ्ना पिताको प्रतिष्ठा र निजतामा आँच पुर्‍याएको दाबी गरेकी थिइन्। 

तर अदालतले निजताको अधिकारलाई पारिवारिक विरासतका रूपमा लिन नसकिने र कुनै पनि सिर्जनात्मक कार्यलाई रोक्न व्यक्तिगत अधिकारको दुरुपयोग गर्न नपाइने प्रस्ट पारेको छ। साथै, निर्माण पक्षले चलचित्र काल्पनिक भएको र यसका पात्रहरू कसैसँग मेल खानु संयोग मात्र भएको भन्दै ‘डिस्क्लेमर’ दिएकाले पनि अदालतले यसलाई ‘फिक्सनल मुभी’को रूपमा स्वीकार गरेको छ।

सुनुवाइका क्रममा अदालतले उजुरीकर्ताको नियतमाथि पनि प्रश्न उठाएको छ। सन् २०२४ मा चलचित्रको घोषणा हुँदा मौन बसेर प्रदर्शनको मुखमा मात्र याचिका दर्ता गर्नुले निर्माण पक्षलाई ठूलो आर्थिक नोक्सानी पुग्न सक्ने अदालतको ठहर छ। 

विशाल भारद्वाजको निर्देशनमा बनेको यो चलचित्र फेब्रुअरी १३ मा रिलिज हुँदैछ। लेखक हुसैन जैदीको पुस्तक ‘माफिया क्विन्स अफ मुम्बई’ मा आधारित यस चलचित्रमा शाहिद कपूरका साथै नाना पाटेकर, फरिदा जलाल र तमन्ना भाटिया जस्ता कलाकारको मुख्य भूमिका छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप