बर्दिया-२ : रेशमका बुवाले जितेको क्षेत्रमा पुराना दललाई दिनसक्छ उज्यालो नेपालले टक्कर
बुटवल । २०७९ को निर्वाचनमा नयाँ दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले जितेको बर्दिया क्षेत्र नम्बर २ यसपटक पनि चासोमा छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा नाउपाका तत्कालीन संरक्षक रेशम चौधरीका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवार बनेरै निर्वाचित भएका थिए ।
फागुन २१ मा हुने निर्वाचनमा बर्दिया-२ मा पुरानासँगै अन्य दलका उम्मेदवारबिच प्रतिस्पर्धा हुने आकलन छ । यसपटक नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसँगै जेनजी आन्दोलनपछि खुलेका उज्यालो नेपाल पार्टी र घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्त मुख्य प्रतिस्पर्धामा देखिन्छन् ।
चुनावी मैदानमा कांग्रेसका किशोरसिंह राठोर, एमालेकी विमला विक र नेकपाका सुरेश पन्थ छन् । रेशम चौधरीको पार्टी छाडेर प्रदेशसभाबाट राजीनामा दिँदै उज्यालो नेपालबाट उम्मेदवार बनेका धर्मबहादुर चौधरीलाई पनि बलियो प्रतिस्पर्धीको रूपमा हेरिएको छ । नेकपा संयुक्तले युवा उम्मेदवार नीता शर्मालाई मैदानमा उतारेको छ ।
२८ वर्षीया शर्माको प्रतिस्पर्धा पुरानासँगै उज्यालो नेपाल पार्टीसँग देखिएको नेकपा संयुक्तका केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्याल बताउँछन् । उज्यालो नेपालका उम्मेदवार धर्मबहादुर चौधरी भने आफ्नो मुख्य प्रतिस्पर्धा पुराना तीन दलका उम्मेदवारसँग हुने दाबी गर्छन् । चौधरी लुम्बिनी प्रदेशका पूर्व भौतिक योजना मन्त्री हुन् ।
आफ्नो जित्ने आधार स्पष्ट भएका कारण नै प्रदेशसभा सदस्य पद त्यागेर चुनाव लड्न आएको उनको दाबी छ । साबिक नागरिक उन्मुक्ति पार्टी नेकपामा विलय भइसकेको छ ।
आगामी निर्वाचनका लागि बर्दिया-२ मा १५ जनाले उम्मेदवारी दिएका छन् । संगठनको बलियो आधार आफ्नो जित्ने आधार भएको कांग्रेस, एमाले र नेकपाको दाबी छ । तर जेनजी आन्दोलनपछि परिस्थितिमा नयाँ दल नै भारी पर्ने दाबी एकथरीको छ ।
कांग्रेसबाट उम्मेदवार बनेका किशोरसिंह राठोर यसअघि बाँके-३ बाट निर्वाचित भएका थिए । एमालेकी उम्मेदवार विमला विक पूर्व सङ्घीय राज्यमन्त्री समेत हुन् भने नेकपाका सुरेश पन्थ पनि बलिया प्रतिस्पर्धी मानिन्छन् । यी तीनै जना पुराना र चिनिएका अनुहार हुन् । पन्थ २०७९ को निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए ।
बर्दिया-२ मा १ लाख ५५ हजार २३० जना मतदाता छन् । जसमध्ये पुरुष ७५ हजार ५८४ र महिला ७९ हजार ६४६ जना छन् ।
छैन एउटै पार्टीले जितेको रेकर्ड
रेशम चौधरी जेलमै रहेको बेला स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले २०७९ को निर्वाचनमा बर्दियामा सबैभन्दा धेरै मत ल्याएको थियो । प्रतिनिधिसभा सदस्यतर्फ लालवीरले जित्दा प्रदेशसभा सदस्यमा धर्मबहादुर चौधरी निर्वाचित भएका थिए ।
_MghzGUTaJA.jpg)
लालवीर चौधरी
धर्मबहादुर अहिले उज्यालो नेपाल पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।
नाउपामा टुटफुटपछि रेशमले नाउपा नेपाल गठन गरेका छन् भने रञ्जिता नेतृत्वको नाउपा नेकपामा विलय भइसकेको छ । लालवीर अहिले चुनावी मैदानमा छैनन् । नाउपा नेपालबाट बर्दिया-२ मा खुसीराम थारू चुनावी प्रतिस्पर्धामा छन् ।
यो क्षेत्रमा २०४८ सालदेखिको इतिहास हेर्दा कुनै पनि उम्मेदवारले दोहोर्याएर जितेका छैनन् । यसले यस क्षेत्रका मतदाताले नयाँ-नयाँ उम्मेदवारलाई मत दिएको देखिन्छ ।
२०४८ सालको आम निर्वाचन एमालेका खगराज शर्माले जितेका थिए । २०५१ मा एमालेका श्यामप्रसाद ढकाल र २०५६ मा कांग्रेसका मंगलप्रसाद थारु निर्वाचित भएका थिए । २०६४ को संविधानसभा निर्वाचन तत्कालीन नेकपा माओवादीका विष्णुप्रसाद चौधरीले जितेका थिए भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका सञ्जयकुमार गौतम विजयी भएका थिए ।
गौतम अहिले क्षेत्र नम्बर २ छाडेर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचन माओवादी केन्द्रका सन्तकुमार थारुले जितेका थिए भने २०७९ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका थिए । रेशमका बुवा समेत रहेका लालवीर पछि नाउपामा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण