बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सन्दर्भ : जनयुद्ध दिवस

माओवादी जनयुद्धका १९ केन्द्रीय सदस्य : कोही पटक–पटक मन्त्री र प्रधानमन्त्री, कोही गुमनाम

शुक्रबार, ०१ फागुन २०८२, १५ : ००
शुक्रबार, ०१ फागुन २०८२

काठमाडौँ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दा उठाएर राज्य सत्ताविरुद्ध २०५२ सालमा सशस्त्र विद्रोह गरेको नेकपा (माओवादी)को मूल नेतृत्व यतिबेला तितरबितर भएको छ । जनयुद्ध सुरु गर्दा केन्द्रीय समितिमा रहेका नेतामध्ये कोही अझै सक्रिय राजनीतिमा छन् भने कोही निष्क्रिय भइसकेका छन् । 

माओवादी जनयुद्ध सुरु भएको ३० वर्ष पार हुँदा मूल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्कालीन केन्द्रीय समितिमा रहेका चार जना– अग्नि सापकोटा, पम्फा भुसाल, देव गुरुङ र मातृका यादवले मात्र अहिलेसम्म साथ दिएका छन् । 

सरकारसँग ४० बुँदे माग राखेर सशस्त्र विद्रोह सुरु गर्दा माओवादीको १९ सदस्यीय केन्द्रीय समिति थियो । प्रचण्ड त्यतिबेला पार्टीका महामन्त्री थिए । ६ जना पोलिटव्यूरोमा प्रचण्डसहित मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई ‘लालध्वज’, रामबहादुर थापा ‘बादल’, पोष्टबहादुर बोगटी ‘दीवाकर’ र सीपी गजुरेल ‘गौरव’, थिए ।

केन्द्रीय समिति सदस्यहरूमा, हरिबोल गजुरेल ‘शितलकुमार’, यानप्रसाद गौतम ‘आलोक’, टोपबहादुर रायमाझी ‘अनिल’, देवप्रसाद गुरुङ ‘कान्छाबहादुर’, पम्फा भुसाल ‘विद्युत’, दण्डपाणि न्यौपाने ‘दीपेन्द्र’, अग्नि सापकोटा ‘कञ्चन’, थिए । यसैगरी फणिन्द्र आचार्य ‘अनल’, लोकेन्द्र विष्ट ‘अभ्यास’, हरिभक्त कंडेल ‘प्रतीक’, मातृका यादव ‘रामसिंह’, दिनेश शर्मा ‘सागर’, र नारायण शर्मा ‘कमलप्रसाद’ थिए । 

१० वर्ष लामो जनयुद्ध २०६२ साल मंसिर ७ गते तत्कालीन संसदवादी सात दल र तत्कालीन विद्रोही माओवादीबिच १२ बुँदे सहमति भएपछि टुङ्गिएको थियो । त्यही सम्झौताको जगमा भएको २०६२/०६३ सालको जनआन्दोलनले परम्परागत राजतन्त्र ढाल्यो भने २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । 

गणतन्त्र स्थापना भएको २० वर्षमा निरन्तर सत्ताको वरपर माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) मात्र देखिएको छ । यद्यपि विगतमा आफैँले उठाएको मुद्दा सम्बोधन गर्न नसक्दा यतिबेला माओवादी आन्दोलन नै कमजोर अवस्थामा पुगेको छ । 

सत्ता स्वार्थ र शक्ति सङ्घर्षका कारण माओवादी पार्टी झन्डै दुई दर्जन समूहमा विभाजन भइसकेको छ । शान्ति प्रक्रियामा आएको २० वर्षमा पार्टी विभाजन र एकताको शृङ्खला जारी नै छ । 

फागुन २१ गते हुन लागेको निर्वाचनमार्फत शक्ति पुनर्स्थापनाका लागि प्रचण्डले नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी लगायत विभिन्न २६ घटकलाई मिलाएर कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी गठन गरेका थिए । यो पार्टीले २०६४ सालदेखि निरन्तर संविधान सभा, संघीय संसद्, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा भाग लिँदै आएको छ । पार्टी पुनर्गठनको नाममा युद्धकालीन माओवादी धार, चुनाव चिह्न छोडेका प्रचण्ड शक्ति परीक्षणका लागि निर्वाचनमा होमिएका छन् । कहिले कांग्रेस, कहिले एमालेसँग मिलेर सत्ता केन्द्रित राजनीति गरेको आरोप लागेका प्रचण्ड १२ वर्षपछि गठबन्धनविना निर्वाचनमा होमिएका हुन् ।

२०७० देखि हरेक निर्वाचन बहिष्कार गर्दै आएको विप्लव नेतृत्वको नेकपा (माओवादी) पनि यो पटक चुनावमा होमिएको छ ।  प्रभु साह नेतृत्वको आम जनता पार्टी, बाबुराम संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी लगायत केही पूर्वमाओवादी घटक पनि निर्वाचनमा सहभागी भएका छन् । 

सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत घटकहरूले निर्वाचन बहिष्कार गरेका छन् । 

क्रान्तिकारी कम्युनिस्ट पार्टी अहिले गतिहीन अवस्थामा छ । २०६९ साल असारमा किरणको नेतृत्वमा माओवादीको झन्डै आधा हिस्सा लिएर अलग पार्टी गठन भएको थियो । सबै निर्वाचन बहिष्कार गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अहिलेको व्यवस्था खारेज गरी जनगणतन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ । 

गत वर्ष मंसिरमा भएको महाधिवेशनबाट महासचिव चुनिएका किरणले जेनजी विद्रोहपछि राजीनामा दिएका थिए । जनयुद्ध र वीर योद्धाहरूको सपनालाई प्रचण्डले गद्दारी गरेको आरोप लगाउँदै किरणको पार्टीमा गएका नेत्रविक्रम चन्द ‘विप्लव’ले पछि आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरे । राज्यविरुद्ध एकीकृत क्रान्ति गरेका उनी १२ वर्षपछि फेरि संसदीय निर्वाचनमा सहभागी भएका छन् । 

जनयुद्धकालीन नेकपा (माओवादी) ब्युँताएका विप्लव पार्टीका नेता तथा कार्यकर्ताहरूले छाड्दै जाँदा सेनापति विनाको सिपाही जस्तै देखिएका छन् । 

यता माओवादी त्यागेर २०७३ सालमा वैकल्पिक नयाँ शक्ति गठन गरेका डा. बाबुराम भट्टराईले विभिन्न पार्टी चहार्दै पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन् । असोजको पहिलो हप्ता साविक नेसपा (नयाँ शक्ति)को अध्यक्ष पदबाट उनले राजीनामा दिएका थिए ।

फागुन २१ मा हुने निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिएका भट्टराईले चुनावी परिणाम अनुकूल नदेखिएपछि उम्मेदवारी फिर्ता लिए । रामबहादुर थापा ‘बादल’, टोबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायत नेताहरू नेकपा एमाले प्रवेश गरे । रायमाझी भुटानी शरणार्थी प्रकरणमा अहिले जेलमा छन् । एमाले छाडेका मणि थापा निष्क्रिय छन् । 

२०७४ सालमा माओवादी छोडेका गोपाल किराती पुनः नेकपामा प्रवेश गरेका छन् । धर्मेन्द्र बास्तोला, आहुति लगायतका नेताहरू स–साना पार्टी चलाएर बसेका छन् । लोकेन्द्र विष्ट राजनीतिबाट सन्यास लिएर कृषि फर्म चलाएर बसेका छन् ।

प्रत्यक्ष युद्ध लडेका सयौँ माओवादी योद्धा जीविकोपार्जनका लागि खाडी मुलुक पुगेका छन् । युद्धको क्रममा घाइते तथा अपाङ्गता भएका हजारौँ लडाकु अझै पनि शरीरमा गोली र बारुदका छर्रा बोकेर बस्न बाध्य भएको आरोप लाग्ने गरेको छ । 

पटक–पटक सरकारमा माओवादी सहभागी भए पनि सहिद परिवार, बेपत्ता, घाइते तथा अपाङ्गता भएकाहरूको उचित व्यवस्थापन गर्न नसकेको आरोप नेतृत्वमाथि लागेको छ ।

  • युद्धकालीन १९ जना केन्द्रीय सदस्य को कता ?  

पुष्पकमल दाहाल ‘प्रचण्ड’

जनुद्धका सर्वोच्च कमाण्डरसमेत रहेका प्रचण्ड तीन पटक प्रधानमन्त्री भए । उनी २०६४, २०७३ र २०७९ मा प्रधानमन्त्री भए ।  २०११ साल मंसिर २६ गते कास्कीमा जन्मिएका प्रचण्डले ३० वर्षसम्म अँगालेको विचारधारा ‘माओवाद’ छाडेर नेपाली कम्युनिस्ट पार्टी बनाएका छन् । 

२०४५ सालमा तत्कालीन नेकपा (एकता) केन्द्रका महामन्त्री भएका उनले २०४७ सालमा विभिन्न वाम घटकलाई मिलाएर नेकपा (एकता केन्द्र) बनाएका थिए । २०५१ साल असारमा चितवनमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले पार्टीको नाम एकता–केन्द्रबाट परिवर्तन गरी नेकपा (माओवादी) बनाएको थियो । त्यतिबेला प्रचण्ड महामन्त्री थिए । २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनपछि प्रचण्ड पार्टी अध्यक्ष बनेका थिए । 

मोहन वैद्य ‘किरण’

२०६४ को संविधान सभा निर्वाचनपछि छोटो समय संविधान सभा सदस्य रहेका किरण त्यसयता राजकीय पदमा रहेनन् । प्रचण्डअघि महामन्त्री रहेका उनले २०४५ को सेक्टर काण्ड असफल भएपछि पदबाट राजीनामा दिएका थिए । उनी वामपन्थी आन्दोलनका दार्शनिक नेता र सौन्दर्य चिन्तकका रूपमा परिचित छन् । 

२००३ साउन १५ मा प्युठानको खैरागाउँमा जन्मिएका वैद्य जनयुद्ध सुरु गर्दा पार्टीको दोस्रो वरीयतामा थिए । जनयुद्ध अवधिभर पार्टीको वैचारिक नेतृत्व गरेका उनले २०६९ असारमा विद्रोह गरी नेकपा (माओवादी) गठन गरे । २०७१ सालमा पार्टी विभाजन भएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी पुनर्गठन गरेका उनले सशस्त्र बल प्रयोग गरी राज्य सत्ता कब्जा गर्नुपर्ने युद्धकालीन धङधङी अहिलेसम्म त्याग्न सकेका छैनन् । 

गत वर्ष मंसिरमा भएको महाधिवेशनबाट महासचिव निर्वाचित भएका उनले जेनजी विद्रोहपछि अस्वस्थताको कारण देखाउँदै पद त्याग गरे । निमोनियाबाट ग्रसित भएका किरण अहिले घरमै आराम गरिरहेका छन् । 

डा. बाबुराम भट्टराई ‘लालध्वज’,

२०११ साल असार ४ गते गोरखाको खोप्लाङमा जन्मिएका भट्टराई युद्धकालमा माओवादीको तेस्रो वरीयतामा थिए । नेपाली राजनीतिमा बौद्धिक नेताको छवि बनाएका उनी २०६८ सालमा प्रधानमन्त्री भए । २०७२ सालमा नयाँ संविधान जारी भएपछि उनले माओवादी परित्याग गरी नयाँ शक्ति पार्टी गठन गरे । 

२०७४ को निर्वाचनमा असफल भएपछि उपेन्द्र नेतृत्वको संघीय समाजवादी पार्टीसँग पार्टी एकता गरेका भट्टराई जसपा नेपाल, नेसपा हुँदै अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बनेका छन् । भट्टराई २०६४, २०७०, २०७४ को निर्वाचनमा गोरखा–२ बाट विजयी भएका थिए । २०७९ को निर्वाचनमा प्रचण्डका लागि आफ्नो निर्वाचन क्षेत्र त्यागेका उनले योपटक उम्मेदवारी दिएर पनि पछि फिर्ता लिए । 

रामबहादुर थापा ‘बादल’

जनयुद्धमा चौथो वरीयतामा रहेका बादल सैन्य रणनीतिकार थिए । उनको जन्म २०१२ वैशाख १९ गते गुल्मीको सुन्दर गाउँमा भएको थियो । उनी शान्ति प्रक्रियापछि रक्षामन्त्री भएका थिए । २०६९ सालमा पार्टीभित्र विद्रोह गरी वैद्य नेतृत्वको माओवादीतिर लागेका उनी २०७३ मा मूलधारमा फर्किएका थिए ।

बादल एमाले र माओवादीबिच एकता भई बनेको नेकपाका सचिवालय सदस्य थिए । २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्री रहेका उनी २०७४ सालमा ओली नेतृत्वको सरकारमा गृहमन्त्री रहे । नेकपा विघटनपछि उनी एमालेमै बसे । एमालेको ११औँ महाधिवेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका छन् । 

पोष्टबहादुर बोगटी ‘दीवाकर’

पोष्टबहादुर बोगटी युद्धकालमा नुवाकोटमा रहेको आफ्नो सबै जायजेथा स्थानीय विद्यालयलाई दिएर युद्धमा होमिएका थिए । २०१० साल साउन ३ गते तुप्चेमा जन्मिएका उनी  माओवादीभित्र शालिन तथा सादगी नेता मानिन्छन् । शान्ति प्रक्रियापछि ऊर्जामन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका उनको २०७१ भदौ ३१ मा हृदयघातका कारण निधन भयो ।

सीपी गजुरेल ‘गौरव’

सीपी गजुरेल वैचारिक नेता मानिन्छन् । उनी कूटनीतिक मामिला र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि दख्खल राख्छन् ।

२००५ साल वैशाख १७ गते सिन्धुलीमा जन्मिएका गजुरेलले जनयुद्धकालभरि विदेश विभागको नेतृत्व गरेका थिए । शान्ति प्रक्रियापछि उनलाई परराष्ट्रमन्त्री बनाउने चर्चा चले पनि पार्टीभित्र अन्तर्विरोधका कारण बन्न सकेनन् । माओवादी विभाजनपछि उनी किरण नेतृत्वको पार्टीमा लागे । उनी अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव छन् । 

देवप्रसाद गुरुङ ‘कान्छाबहादुर’

पार्टीभित्र अध्ययनशील तथा वैचारिक नेता मानिने गुरुङ अहिले नेकपाका नेता छन् । २०६९ सालमा किरणको पार्टीमा लागेका उनी २०७३ सालमा मूलधारमै फर्किएका थिए । माओवादीको आठौँ महाधिवेशनबाट महासचिव भएका उनले युद्धकालमा प्रचण्डसँग मिलेर हतियार सङ्कलनको काम गरेका थिए । 

२०१० सालमा मनाङमा जन्मिएका गुरुङ जनयुद्ध सुरु गर्दा माओवादीमा केन्द्रीय सदस्य थिए । उनी शान्ति प्रक्रियापछि कानुनमन्त्री भएका थिए । 

टोपबहादुर रायमाझी ‘अनिल’

माओवादीमा हुँदा बाबुराम भट्टराई निकट रहेर काम गरेका टोपबहादुर रायमाझी विद्रोही स्वभावका नेता मानिन्छन् । २०७३ मा भट्टराईले माओवादी त्याग गरे पनि रायमाझी मूलधारमै रहे ।

शान्ति प्रक्रियापछि पटक–पटक मन्त्री बन्न सफल उनी नेकपा विघटन भएपछि एमालेमा गए । एमालेको १०औँ महाधिवेशनबाट सचिवमा निर्वाचित उनले २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका थिए । २०१८ कार्तिक २५ मा अर्घाखाँचीमा जन्मिएका रायमाझी अहिले भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा छन् । 

अग्नि सापकोटा ‘कञ्चन’

२०११ साउन १४ गते सिन्धुपाल्चोकमा जन्मिएका सापकोटा पूर्वसभामुख हुन् । शिक्षक पृष्ठभूमिबाट राजनीतिमा लागेका उनी शान्तिप्रक्रियामा आएपछि पटक–पटक मन्त्री भए । माओवादीको आठौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका उनी अहिले नेकपाका नेता छन् । 

हरिबोल गजुरेल ‘शितलकुमार’

पूर्वकृषिमन्त्री रहेका गजुरेल पछिल्लो समय प्रचण्ड नेतृत्वको नेकपामै रहँदा पार्टीको कारबाही झेल्दै निष्कासित भएका छन् । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा सिन्धुली–२ बाट बागी उम्मेदवारी दिएका महेश्वर दाहाललाई समर्थन गरेको आरोपमा नेकपाले गजुरेललाई पार्टीबाट निष्कासन गरेको छ । 

प्रचण्ड पछिल्लोपटक प्रधानमन्त्री हुँदा उनको प्रमुख राजनीतिक सल्लाहकार रहेका गजुरेलले सुशासन, सामाजिक न्यायको पक्षमा सरकारले राम्रोसँग काम नगरेको आरोप लगाउँदै पदबाट राजीनामा दिएका थिए ।  २०१२ साल वैशाख ६ गते सिन्धुलीमा जन्मिएका उनी जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए । 

२०४७ सालमा मोहनविक्रमसँग विद्रोह गरी उनी माओवादीमा लागेका थिए । शान्ति प्रक्रियापछि उनी कृषिमन्त्री भएका थिए । साविक माओवादीका उपमहासचिव रहेका गजुरेल केही महिना नेकपाको नेता भए । 

पम्फा भुसाल ‘विद्युत’

२०१९ साल साउनमा अर्घाखाँचीमा जन्मिएकी पम्फा भुसाल जनयुद्ध सुरु गर्दा माओवादीमा एकमात्र महिला केन्द्रीय सदस्य थिइन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनले २२ जना पदाधिकारी निर्वाचित गर्दा भुसालमात्र एक जना महिला पदाधिकारी थिइन् । 

जनयुद्धको कुशल नेता मानिने भुसाल शान्ति प्रक्रियापछि पटक–पटक मन्त्री भइन् । अघिल्लो निर्वाचनमा उनी ललितपुर–३ बाट पराजित भइन् । अहिले उनी नेकपाको केन्द्रीय सदस्य छिन् । 

मातृका यादव ‘रामसिंह’

विद्रोही स्वभावका यादवको जन्म २०१६ सालमा सप्तरीमा भएको थियो । युद्धकालमा मधेसी समुदायका उनी एकमात्र केन्द्रीय सदस्य थिए । २०५१ सालमा रामवृक्ष यादव मारिएपछि मधेसमा माओवादी संगठन विस्तार गर्न उनी सक्रिय रहे । 

२०६४ मा उनी वनमन्त्री हुँदा स्थानीय विकास अधिकारीलाई मन्त्रालयमा थुनेर चर्चामा आएका थिए । शान्ति प्रक्रियापछि केही समय पार्टीबाट अलग्गिएका उनी फेरि माओवादी केन्द्रमै फर्किए । 

हरिभक्त कंडेल ‘प्रतीक’

जनयुद्धकालमा प्रवासमा रहेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सक्रिय रहेका हरिभक्त कंडेल २०६९ मा किरणको पार्टीमा लागेका थिए । वामपन्थी राजनीतिमा लागेर उनले अहिलेसम्म कुनै राजकीय पद लिएका छैनन् । २०११ साउन १४ गते जन्मिएका कंडेल अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टीमा छन् । 

नारायण शर्मा ‘कमलप्रसाद’

२०१४ पुस ४ मा दाङमा जन्मिएका शर्मा त्यतिबेला माओवादीका केन्द्रीय सदस्य थिए । २०६४ मा संविधान सभा सदस्य भएका उनी एकीकृत नेकपा (माओवादी) बाट विद्रोह गरी किरणको पार्टीमा लागेका थिए । उनी २०७३ सालपछि पुनः माओवादीमा फर्किएका थिए । पछि आफ्नै नेतृत्वमा अखिल नेपाल कम्युनिस्ट पार्टी गठन गरेका उनले भदौ ३० गते लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गरेका छन् ।  

दण्डपाणि न्यौपाने ‘दीपेन्द्र’

बौद्धिक नेताका रूपमा चिनिने न्यौपाने जनयुद्धकै क्रममा २०५६ जेठ ७ गते काठमाडौँबाट गिरफ्तार भए । त्यसपछि हालसम्म उनी बेपत्ताको सूचीमा छन् । उनी २००३ चैत १२ गते चितवनमा जन्मिएका थिए । बेपत्ताको सूचीमा रहेका उनी सबैभन्दा उच्च तहका नेता हुन् ।

दिनेश शर्मा ‘सागर’

शर्मा २०१६ साल साउन ७ गते काभ्रेमा जन्मिएका थिए । उनी युद्धकालमा मारिएका चर्चित नेता यानप्रसाद गौतम ‘आलोक’का नातेदारसमेत हुन् । युद्धकालमा उनकी श्रीमतीलाई राज्यले बेपत्ता बनाएको थियो । किरणसँगै एमाओवादीबाट अलग भएका उनी क्रान्तिकारी कम्युनिस्ट पार्टीमा सक्रिय छन् । 

लोकेन्द्र विष्ट ‘अभ्यास’

लोकेन्द्र विष्ट शान्ति प्रक्रियामा आएपछि पर्यटनमन्त्रीसमेत भए । प्रचण्डको कडा आलोचक रहेको उनी युद्धकालमा केन्द्रीय सदस्य थिए । २०२१ सालमा रुकुममा जन्मिएका विष्ट राजनीतिबाट सन्न्यास लिएर केही समय दाङमा ‘ड्रागन फ्रुट’ खेती गरेर बसेका थिए । त्यसअघि उनले केही समय काभ्रेमा मार्सी धानको खेतीसमेत गरेका थिए । अहिले ‘ड्रागन फ्रुट’को खेती छाडेका उनी निष्क्रिय छन् । 

यानप्रसाद गौतम ‘आलोक’

पार्टीभित्र प्रखर वक्ताको रूपमा चिनिने यानप्रसाद गौतम ‘आलोक’लाई कुनै बेला प्रचण्डकै प्रतिस्पर्धी रूपमा हेरिन्थ्यो । युद्धकालमै उनीमाथि यौन दूराचार र पार्टी नेतृत्वका विरुद्ध षड्यन्त्र गरेको आरोपमा पार्टीले कारवाही गरेको थियो । 

२०५९ मा रोल्पाको उवामा सेनाको कारबाहीमा उनको मृत्यु भएको थियो । माओवादीभित्र अहिलेसम्म पनि उनको प्रवृत्तिलाई लिएर ‘आलोक प्रवृत्ति’ भन्ने गरिन्छ । उनी २०१७ वैशाखमा काभ्रेमा जन्मिएका थिए । 

फणिन्द्र आचार्य ‘अनल’

जनयुद्ध सुरु गर्दा माओवादीको केन्द्रीय समिति भए पनि फणिन्द्र आचार्य युद्धमा सहभागी भएनन् । जनयुद्धको अवधिभरि चितवनमा व्यावसायिक र सामाजिक गतिविधिमा सक्रिय रहेका उनी शान्ति प्रक्रियामा आएपछि पार्टी गतिविधिमा सक्रिय रहे । हाल उनी पार्टीमा सक्रिय भूमिकामा छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप