बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फरारी कुदाउने ‘सडक मानव’ : २५० को रफ्तारले खुलायो करोडौँको ठगी धन्दा

सोमबार, ०४ फागुन २०८२, ०८ : ३४
सोमबार, ०४ फागुन २०८२

सारांश

  • फ्रान्समा एक व्यक्तिले फरारी कार चलाउँदा ट्राफिक नियम उल्लंघनको घटना सार्वजनिक भयो।
  • अनुसन्धानमा ती व्यक्ति बेरोजगार र घरवारविहीन भएको देखिए तापनि उनले वर्षौंदेखि बेरोजगारी भत्ता लिइरहेका थिए।
  • सरकारी कोषको दुरुपयोग र कर छलीको आरोपमा ती व्यक्ति र उनको परिवार पक्राउ परे, जसले रियल स्टेट व्यवसायबाट ठूलो रकम कमाएका थिए।

फ्रान्स । फ्रान्सको भोक्लुज क्षेत्रमा ट्राफिक प्रहरीले तीव्र गतिमा एउटा चम्किलो रातो रङको फरारी पोर्टोफिनो रोक्दा उनीहरूले एउटा सामान्य ट्राफिक नियम उल्लंघनको घटना मात्र ठानेका थिए। तर, झन्डै २५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गाडी कुदाउने ती चालकको पहिचान खुल्दा प्रहरी नै चकित परे। 

करिब साढे २ लाख युरो मूल्य पर्ने विलासी कार कुदाउने ती व्यक्ति सरकारी रेकर्डमा भने 'घरवारविहीन' र 'बेरोजगार' निस्किए। सोधपुछका क्रममा सुकिला–मुकिला देखिने ती चालकले आफूसँग कुनै जागिर, सम्पत्ति वा आम्दानीको स्रोत नभएको दाबी गरे। 

अचम्मको कुरा त के छ भने, उनी वर्षौँदेखि सरकारबाट उपलब्ध गराइने बेरोजगारी भत्ता र सामाजिक कल्याण सुविधाहरू लिइरहेका थिए। गाडीको स्वामित्वबारे सोध्दा उनले सुरुमा आमाको भएको बताए पनि अनुसन्धानका क्रममा उक्त कार उनको परिवारद्वारा सञ्चालित एक रियल स्टेट कम्पनीको नाममा दर्ता भएको खुल्यो।

यस घटनाले फ्रान्समा राज्यकोषको दुरुपयोग र कर छलीको एउटा ठुलो जालो उजागर गरिदिएको छ। ती व्यक्ति र उनको परिवारले रियल स्टेट व्यवसायबाट ठुलो रकम कमाए पनि त्यसलाई कहिल्यै करको दायरामा ल्याएनन्। 

कागजमा आफूलाई कंगाल र बेरोजगार देखाएर उनीहरूले सरकारी कोषबाट करिब १८ लाख युरो सामाजिक भत्ताका रूपमा कुम्ल्याएको आरोप छ। साथै, झन्डै २४ करोड रुपैयाँ बराबरको आम्दानी लुकाएको पाइएको छ।

बाहिर 'गरिबी' को नाटक गरे पनि यो परिवारले विलासी सपिङ र महँगा वैदेशिक भ्रमणमा ठुलो रकम खर्च गर्ने गरेको खुलासा भएको छ। विभिन्न स्थानमा मारिएको छापापछि प्रहरीले सो परिवारका सदस्यहरूलाई पक्राउ गरेको छ। 

उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, कम्पनीको सम्पत्ति दुरुपयोग, कर छली र जालसाजीको मुद्दा चलाइने भएको छ। एउटा तीव्र गतिको फेरारीले कसरी करोडौँको ठगी धन्दालाई सडकमा ल्याइदियो भन्ने विषय अहिले फ्रान्समा चर्चाको विषय बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप