बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

च्याम्पियन्स लिगमा रङ्गभेदको कलङ्क : भिनिसियसको अपमानलाई ‘सामान्य’ मान्ने मोरिन्होको आलोचना

एम्बाप्पेले मागे कडा कारबाही
बुधबार, ०६ फागुन २०८२, १३ : ३५
बुधबार, ०६ फागुन २०८२

सारांश

  • रियल म्याड्रिड र बेन्फिका बीचको खेलमा भिनिसियस जुनियरमाथि रंगभेदी दुर्व्यवहार भएको घटनाले विश्व फुटबलमा चर्चा पाएको छ।
  • बेन्फिकाका प्रशिक्षक जोजे मोरिन्होले भिनिसियसलाई दोष दिएपछि उनको आलोचना भएको छ, भने खेलाडी एम्बाप्पेले प्रेस्टियानीलाई प्रतिबन्धको माग गरेका छन्।
  • खेलमा रियल म्याड्रिडले जित निकाले पनि, रंगभेदको घटनाका कारण खेल केही समय रोकिएको थियो, र युइएफएले छानबिन गर्नुपर्ने आवाज उठेको छ।

लिसबन । रियल म्याड्रिड र बेन्फिकाबिचको च्याम्पियन्स लिग खेलको नतिजाभन्दा पनि रङ्गभेदको गम्भीर घटनाले अहिले विश्व फुटबल तातेको छ। रियलका स्टार खेलाडी भिनिसियस जुनियरमाथि भएको कथित रङ्गभेदी दुव्र्यवहारलाई उनका टिममेट ट्रेन्ट अलेक्जेन्डर-आर्नोल्डले ‘फुटबलका लागि कलङ्क’ बताएका छन्। 

यता, विपक्षी टोली बेन्फिकाका प्रशिक्षक जोजे मोरिन्होको विवादास्पद अभिव्यक्तिको भने चौतर्फी आलोचना भइरहेको छ।

घटनाका कारण खेल १० मिनेटसम्म रोकिएको थियो। बेन्फिकाका खेलाडी जियानलुका प्रेस्टियानीले रङ्गभेदी गाली गरेको भन्दै भिनिसियसले रेफ्रीलाई रिपोर्ट गरेपछि तनाव सिर्जना भएको थियो। आक्रोशित भिनिसियस र उनका साथीहरू केही समय मैदानबाहिर समेत निस्किएका थिए। 

खेलको अन्त्यतिर रियलले १-० को जित निकाले पनि माहोल खल्बलिएको थियो। विगतमा पनि पटक-पटक रङ्गभेदको सिकार बनेका ब्राजिलियन फरवार्ड भिनिसियसले इन्स्टाग्राममा प्रतिक्रिया दिँदै ‘रङ्गभेदीहरू सबैभन्दा ठुला कायर हुन्’ भनेर लेखेका छन्।

Vinicius

तर, बेन्फिकाका प्रशिक्षक जोजे मोरिन्होले भने भिनिसियसको पक्ष लिनुको साटो उल्टै उनलाई दोष दिए। मोरिन्होका अनुसार भिनिसियसले गोल गरेपछि ‘सम्मानजनक तरिकाले सेलिब्रेसन’ गरेका थिएनन्। 

मोरिन्होले भने, ‘भिनिसियस जहाँ खेल्छन्, त्यहाँ सधैँ केही न केही हुन्छ। उनले दर्शकलाई उत्तेजित बनाए ।’ मोरिन्होले बेन्फिकाका लिजेन्ड खेलाडी युसेबियो (जो अश्वेत थिए) को उदाहरण दिँदै आफ्नो क्लब रङ्गभेदी नभएको दाबी गरे। उनले भिनिसियस र प्रेस्टियानीले आफूलाई अलग-अलग कुरा सुनाएको भन्दै आफू तटस्थ बस्न चाहेको बताए।

मोरिन्होको यस्तो टिप्पणीपछि रियल म्याड्रिडका पूर्व मिडफिल्डर क्लेरेन्स सिडोर्फले उनलाई रङ्गभेदलाई जायज ठहराउन खोजेको आरोप लगाए। सिडोर्फले अमेजन प्राइमसँग कुरा गर्दै भने, ‘कसैले उकास्यो भन्दैमा रङ्गभेद गर्नु ठीक हो भन्नु एकदमै गलत हो। मोरिन्होले यसलाई दुर्भाग्यपूर्ण तरिकाले ब्याख्या गरे।’ 

यता, इंग्ल्यान्डका स्टार अलेक्जेन्डर-आर्नोल्डले खेलपछि बोल्दै यो घटनाले उत्कृष्ट गोल र जितको माहोललाई छायामा पारेको बताए। उनले भने, ‘भिनिसियसले आफ्नो करियरमा धेरैपटक यस्तो भोगिसकेका छन्। फुटबल र समाजमा यसको कुनै स्थान छैन, यो घृणित छ।’

Vinicius २

भिनिसियसका समकक्षी किलियन एम्बाप्पेले अर्जेन्टिनी विंगर प्रेस्टियानीलाई अब च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध लगाउनुपर्ने कडा माग गरेका छन्। एम्बाप्पेले भने, ‘हामी युरोपको शीर्ष प्रतियोगितामा यस्तो व्यवहार स्वीकार गर्न सक्दैनौं। मेरो विचारमा यो खेलाडी अब च्याम्पियन्स लिग खेल्न लायक छैन।’ उनले यूईएफएले यसमा गम्भीर कदम चाल्नुपर्ने बताए।

पूर्वखेलाडी थियो वाल्कोटले पनि मोरिन्होको आलोचना गर्दै उनले क्यामेरा अगाडि नबोलेको भए राम्रो हुने बताए। अर्का पूर्व स्टार थियरी हेनरीले आफ्नो अनुभव सुनाउँदै भने, ‘म भिनिसियसको पीडा बुझ्न सक्छु। प्रेस्टियानीले मुख छोपेर बोलेकाले नै ऊ शंकास्पद देखिन्छ। उनले के भनेका थिए, त्यो सार्वजनिक गरियोस्।’

आगामी बुधबार म्याड्रिडमा दोस्रो लेगको खेल हुँदैछ। त्यसअघि नै यूईएफएले यस घटनामा तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने आवाज उठेको छ। प्रेस्टियानीले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप