यसपालि चिनजान होइन, एजेण्डा खोज्दैछन् काठमाडौं-९ का मतदाता
सारांश
- काठमाडौं क्षेत्र नम्बर ९ मा चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरूले मतदाताको घरदैलो गरिरहेका छन् र देश विकास र समृद्धिका एजेन्डामा जोड दिइरहेका छन्।
- मतदाताहरूले यसपटक योग्य उम्मेदवार छान्न जोड दिँदै देशमा शान्ति र सुशासनको अपेक्षा गरेका छन्, र भ्रष्टाचार र युवा पलायनलाई मुख्य समस्या मानेका छन्।
- उम्मेदवारहरूले सुशासन, रोजगारी सिर्जना, र स्थानीय विकासका लागि प्रतिबद्धता जनाएका छन्, भने मतदाताहरूले पार्टीको एजेन्डालाई प्राथमिकता दिने बताएका छन्।
काठमाडौं । निर्वाचन मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नम्बर ९ मा चुनावी सरगर्मी उत्कर्षमा पुग्दैछ । उम्मेदवारहरू भोट माग्न मतदाताको घरघरमा पुगिरहेका छन् भने मतदाताहरू उनीहरूका एजेन्डा सुन्दैछन् । पहिले भोट माग्न उम्मेदवारसँग सडक, खानेपानी लगायत विकासका पूर्वाधारको माग गर्दै आएका यो क्षेत्रका मतदाताको अपेक्षा यसपटक फरक देखिन्छ- सम्पूर्ण देश विकास र समृद्धि ।
विगतका चिनजान र नातागोता समेत रहेर मत दिँदै आएका मतदाता यसपटक यी सबै कुराबाट टाढा रहेर योग्य उम्मेदवार छान्ने बताएँछन् ।
‘देशमा शान्ति होस्, राम्रोले शासन गरोस् । त्यसपछि देश आफैं बन्छ,’ क्षेत्र नम्बर ९ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका-१४ का बासिन्दा ४५ वर्षीय हरि खड्गी भन्छन् ।
खड्गीलाई विकास निर्माण भन्दा पनि राष्ट्रिय समस्या समाधान नै अहिलेका लागि मुख्य एजेन्डा हुनुपर्ने लाग्छ । ‘अहिले दुई धारको चर्चा सुनिन्छ, एउटा देश सिद्ध्याउने र देश बचाउने’, उनी भन्छन्, ‘प्रचारप्रचार त्यस्तै छ ।’ फरक-फरक पार्टीलाई भोट दिँदै आएका खड्गी यसपटक एजेन्डा हेरेर राम्रोसँग भोट हाल्ने सोचमा छन् ।
चुनावी माहोललाई नजिकबाट नियालिरहेका छन् नागार्जुन नगरपालिका-६ का ४२ वर्षीय उत्तम गिरी । अहिलेसम्म कुनै राजनीतिक दलमा आबद्ध नभएका उनी देशको अवस्था बिग्रिरहेको भन्दै चिन्तित छन् । उनी अहिलेको मुख्य समस्या स्थानीय बाटो र पानी मात्र होइन, राष्ट्रिय संकट भएको बताउँछन् । भ्रष्टाचार र युवा पलायन देशका लागि क्यान्सरसरह भएको उनको भनाइ छ ।
‘हाम्रा छोराछोरी विदेश जान नपरोस्, गएकाहरू पनि स्वदेशमै केही गर्न फर्किऊन् भन्ने हाम्रो चाहना हो’, गिरी भन्छन्, ‘भ्रष्टाचारीलाई जेल हाल्ने र देशका कलकारखाना चलाउने भिजन जसमा देखिन्छ, उसैलाई भोट दिइन्छ ।’ उनले पुरानादेखि नयाँ दलसम्मको कार्यशैलीको आलोचना गरे ।
नागार्जुन-७ का सन्त तामाङ विकास र लोकतन्त्रप्रेमी उम्मेदवार नै आफ्नो रोजाइमा पर्ने बताउँछन् । ‘हाम्रो गाउँमा खानेपानीका धाराहरू पुगेका छन्, मोटरबाटो बनेको छ । केही विकास त भएकै हो’, उनी भन्छन्, ‘तर देशको अवस्था भने दिनप्रतिदिन बिग्रिँदै गयो ।’ अहिलेको आवश्यकता लोकतन्त्रको रक्षा र स्थानीय विकाससँगै राष्ट्रियस्तरमा रोजगारी सिर्जना रहेको र यी एजेन्डा बोकेका उम्मेदवारलाई आफूले मत दिने तामाङ बताउँछन् ।

चन्द्रागिरि नगरपालिका–१३, पुरानो नैकापमा पसल सञ्चालन गरेर बस्ने ५१ वर्षीया कुमारी कार्की यसपटक उम्मेदवार जो उठेपनि त्यसले आफूलाई आकर्षित नगर्ने बताउँछिन् । उनी उम्मेदवार भन्दा पार्टीले बोक्ने एजेन्डालाई हेर्ने बताउँछिन् ।
‘उम्मेदवारहरू जो आए पनि हामीलाई केही फरक पर्दैन,’ कार्की भन्छिन्,’ ‘गरिखाने वातावरण राम्रो बनोस्, अन्याय नहोस्, न्याय पाइयोस् । त्यति भए के चाहियो र ?’ उनी भन्छिन् । अहिलेसम्म चार वटा निर्वाचनमा मतदान गरिसकेकी कार्की जिताएर पठाएकाहरूले राम्रो काम गर्न नसकेको गुनासो गर्छिन् ।
एजेन्डाबारे के भन्छन् उम्मेदवार ?
देश बनाउने अठोट लिएर आएँ : नानु बास्तोला (नेपाली कांग्रेसकी उम्मेदवार)
काठमाडौं क्षेत्र नम्बर ९ का मतदाताबाट मैले एकदमै उत्साहजनक प्रतिक्रिया र न्यानो माया पाइरहेकी छु । यो उत्साहले झन् बढी उर्जा प्रदान गरेको छ । धेरैले मलाई सोध्नुहुन्छ, ‘यसपटक के एजेन्डा लिएर आउनुभएको छ ?’

हामीले यसपटक विशेष महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवैमा परिवर्तन गरेका छौँ । हामी भाषण मात्र होइन, भिजनसहितको प्रतिज्ञापत्र लिएर जनताको माझमा आएका छौँ । मैले यस क्षेत्रको विकासका लागि आफ्नै बेग्लै प्रतिज्ञापत्र पनि सार्वजनिक गरेकी छु । यसमा शिक्षा, स्वास्थ्य, स्वरोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छु । संविधानले नेपाली नागरिकलाई प्रत्याभूत गरेका अधिकारहरूलाई कार्यान्वयन गराउने बलियो नीति बनाउनु मेरो मुख्य लक्ष्य हो । हामीले यसलाई ‘घोषणा पत्र’ नभनी ‘प्रतिज्ञा पत्र’ भनेका छौँ, किनभने हामीले जे वाचा गरेका छौँ, त्यो पूरा गरेरै छोड्ने अठोट लिएका छौँ ।
नागरिकहरूको मनमा पुराना दलप्रति केही गुनासा र केही अपेक्षा पक्कै छन् । हाम्रो पार्टीले हिजो सत्तामा रहेर जनअपेक्षा अनुसार काम गर्न नसकेका नेतृत्वको सट्टा अहिले नयाँ जोश, जाँगर र भिजन भएका युवा नेतृत्वहरू चुनावी मैदानमा छन् । आगामी निर्वाचनपछि हामीले बनाउने सरकार र हाम्रा प्रस्तावित प्रधानमन्त्री आदरणीय गगनकुमार थापाको मार्गचित्रले देशलाई नयाँ दिशा दिनेछ । उहाँको भिजन र हाम्रो नयाँ अनुहारकै कारण नागरिकहरू हामीप्रति उत्साहित हुनुहुन्छ ।
म यो क्षेत्रको स्थायी बासिन्दा हुँ र मेरो राजनीतिक यात्रा पनि यहीँको विद्यार्थी राजनीतिबाट सुरु भएको हो । त्यसैले यहाँका जनताको भावना र समस्यालाई मैले नजिकबाट बुझेकी छु । यहाँका महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन व्यवसायीकरणको खाँचो छ । युवाहरूलाई स्वरोजगारसँग जोड्नुपर्नेछ । कतिपय ठाउँमा बाटो, पानी र कृषि उत्पादनका लागि मल–बिउको समस्या छ । अर्कोतर्फ, यो क्षेत्र पर्यटकीय हिसाबले निकै सुन्दर छ । चन्द्रागिरिको कालुपाण्डे समाधि स्थलदेखि स्वीट्जरल्याण्ड पार्कसम्मलाई पर्यटकीय क्षेत्रको रूपमा प्रवर्द्धन गर्ने मेरो योजना छ ।
महानगर क्षेत्रमा हेर्ने हो भने न्युरोड, ओटु जस्ता ठाउँमा ट्राफिक व्यवस्थापन र नेवा: समुदायको कला–संस्कृति जोगाउन राज्यले विशेष कानुन बनाउनुपर्ने देखिन्छ । यो नाका पर्ने क्षेत्र भएकाले वैकल्पिक बाटोको व्यवस्थापन पनि उत्तिकै जरुरी छ । म एउटा सांसदको रूपमा नीति र कानुन बनाउन संसद् जान चाहन्छु । संसद्को रोस्टममा उभिएर यहाँका प्रत्येक वडाका समस्यालाई सम्बोधन गराउन म प्रतिबद्ध छु । अहिले जनताले सबैभन्दा बढी मागेको कुरा भनेको सुशासन र रोजगारी हो । म सुशासनको पक्षमा सधैँ अडिग छु ।
मेरो मुख्य काम नीति निर्माण : डा. अजयक्रान्ति शाक्य (नेकपा एमालेका उम्मेदवार)
काठमाडौँ क्षेत्र नम्बर ९ अन्तर्गत पर्ने महानगरपालिकाका वडाहरू, चन्द्रागिरि र नागार्जुन नगरपालिका गरी तीनै ठाउँका नागरिकमा यसपालि निकै उत्साह देखिएको छ । जहाँसम्म मेरा एजेन्डाहरूको कुरा छ, म प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएको हुनाले मेरो मुख्य काम नीति निर्माण नै हो । साथै यस क्षेत्रको विकासका योजना, यहाँका सामाजिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण, स्वास्थ्य र शिक्षा लगायत विभिन्न क्षेत्रहरूको एकीकृत विकासका लागि हामीले आफ्नो प्रतिबद्धता पत्रमा स्पष्ट खाका कोरेका छौँ ।
घरदैलोका क्रममा जनताले आफ्ना सामान्य दैनिक समस्यादेखि विकास निर्माणका ठुला माग पनि राख्नुभएको छ । ती जनचाहना र समस्याहरूलाई सम्बोधन गर्ने गरी हामीले हाम्रा योजनाहरूमा थप परिमार्जन र समाहित गर्ने विचार गरेका छौँ ।

मैले यस क्षेत्रमा घुम्दै गर्दा के पाएँ भने यहाँका जनता विशेषगरी स्थानीय समस्या समाधान होस् भन्ने चाहनुहुन्छ । उहाँहरूको ध्यान स्थानीय विकासमै बढी केन्द्रित छ । साथै, यसपटक एक ‘विज्ञ’ उम्मेदवार आएको हुनाले यस क्षेत्रको एकीकृत विकास हुन्छ भन्नेमा उहाँहरू निकै आशावादी हुनुहुन्छ ।
घात हुने छैन : माइला लामा (नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार)
काठमाडौँ क्षेत्र नम्बर ९ का समस्याहरूलाई मैले नजिकबाट नियालेको छु । यहाँको समस्या भनेको सिंगो देशकै प्रतिनिधि समस्या हो । रोजगारीको अभाव छ । केही गर्छु भन्ने उद्योगी व्यवसायीहरूलाई राज्यले संरक्षण दिन सकेको छैन । फोहोर व्यवस्थापन, खानेपानी र बाटोको समस्या त छँदैछ । एउटा निकै दुःखलाग्दो कुरा मैले के देखेँ भने यहाँका सरकारी विद्यालयहरू विस्तारै बन्द हुँदै गएका रहेछन् । निजी विद्यालयमा चर्को शुल्क छ, त्यसैले सरकारी विद्यालयको स्तरोन्नति गर्नु मेरो प्रमुख कार्यसूचीमा छ ।

अर्कोतर्फ, राज्यको सार्वजनिक सम्पत्ति राजनीतिक पार्टी र दलालहरू मिलेर बर्बाद पारेको देख्दा जनतामा चरम आक्रोश छ । मतदाताले त्यो सम्पत्ति फर्काएर ल्याउनुहोस् भन्नुभएको छ । लागुऔषध दुर्व्यसनी र यातायात व्यवस्थापन पनि यहाँका गम्भीर समस्या हुन् । १८ वर्षअघि हामीले जडान गरेका धारा र ट्याङ्कीहरूबाटै अझै पनि पानी खानुपर्ने बाध्यता देख्दा यहाँ विकासको गति कति सुस्त रहेछ भन्ने प्रष्ट हुन्छ ।
जनताले मबाट ठुलो अपेक्षा गर्नुभएको छ । कांग्रेस, एमाले, राप्रपा वा स्वतन्त्र जुनसुकै विचारधाराका साथीहरूले पनि मलाई भेटेर भन्नुभएको छ, ‘गत पटक केही मतदाता शिक्षाको कमीले गर्दा परिणाम अर्कै आयो, तर यसपालि तपाईं जसरी पनि जित्नुपर्छ र हाम्रो असल प्रतिनिधि बनेर सेवा गर्नुपर्छ ।’ मैले सबै मतदाताहरूलाई एउटै वचन दिएको छु । मलाई एकपटक विश्वास गरेर मौका दिनुहोस् । तपाईंहरूले गर्नुभएको विश्वासमा कहिल्यै घात हुने छैन ।
भोट खेर जान दिन्नँ : डीपी अर्याल (राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार)
अहिले म घरदैलो अभियानमा छु । म मतदातालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारेमा बुझाउने र किन ‘घण्टी’मा भोट हाल्ने भन्ने विषयमा सुसूचित गरिरहेको छु ।
मलाई धेरैले सोध्नुहुन्छ- ‘तपाईँको एजेन्डा के हो ? मेरो स्पष्ट जवाफ छ- ‘सुशासन र भ्रष्टाचारको अन्त्य ।’ अरू दलले पनि यी कुरा भन्छन्, तर हामी चाहिँ काममै गरेर देखाउने अठोटका साथ आएका छौँ । सुशासन कायम हुने बित्तिकै धेरै क्षेत्रमा परिवर्तनको सुरुवात देखिन थाल्छ ।

म संघीय जनप्रतिनिधि भएर संसद् जाँदै गर्दा मेरो मुख्य जिम्मेवारी स्थानीय सरकारलाई बलियो, चुस्त–दुरुस्त र भ्रष्टाचारमुक्त बनाउन समन्वय गर्ने हुनेछ । संघीय, प्रादेशिक र स्थानीय सरकारबिचको पुल बनेर काम गर्ने मेरो योजना छ । काठमाडौँ–९ न्युरोड जस्तो सुगमदेखि निकै दुर्गम र ग्रामीण जस्तो देखिने ठाउँहरूसम्म जोडिएको छ । यसलाई एउटा नमुना निर्वाचन क्षेत्र बनाउने गरी मैले प्लानिङ गरेको छु र मेरो सचिवालयले त्यसै अनुसार काम गरिरहेको छ ।
घरदैलोका क्रममा मैले स्थानीयस्तरमा धेरै समस्या देखेको र सुनेको छु । कतै खानेपानीको समस्या छ, कतै हाइटेन्सन लाइनका कारण मुआब्जा नपाएको गुनासो छ । कलंकी–थानकोट सडक विस्तारका क्रममा मुआब्जाका इस्युहरू छन् भने सुरुङमार्ग निर्माण गर्दा पानीको स्रोत सुकेर समस्या भएको कुरा पनि आएको छ । यी सबै कुरालाई मैले गम्भीरतापूर्वक नोट गरेको छु । यसको समाधान कसरी निकाल्न सकिन्छ भन्नेमा म अहिलेदेखि नै सक्रिय छु । मतदाताले हालेको एक–एक भोटको लगानी खेर नजाने गरी म प्रतिफल दिने वाचा गर्छु ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण