कुकुरलाई फोहोर फाल्न सिकाउने मालिक प्रहरीको फन्दामा
सारांश
- इटलीको क्याटानियामा एक व्यक्तिले कुकुरलाई फोहोर फाल्न प्रयोग गरेको पाइएको छ।
- सीसीटीभी फुटेजमा कुकुरले फोहोरको झोला सडकमा फालेको देखिएपछि घटना सार्वजनिक भएको हो।
- प्रहरीले कुकुरका मालिकलाई पहिचान गरी जरिवाना गरेको छ, र यो घटनाले विश्वभर चर्चा पाएको छ।
कैटानिया । नियम मिच्न मानिसहरूले कतिसम्म जुक्ति लगाउँछन् भन्ने एउटा अनौठो उदाहरण इटालीको क्याटानिया सहरमा देखिएको छ। यहाँका एक व्यक्तिले सडकमा अवैध रूपमा फोहोर फाल्न आफ्नै घरपालुवा कुकुरलाई प्रयोग गरेको पाइएको छ।
सहरको सीसीटीभी क्यामेरामा कैद भएको दृश्यमा एउटा कुकुरले मुखमा प्लास्टिकको फोहोरको झोला च्यापेर सडकको किनारामा फालेको र त्यसपछि सुटुक्क आफ्नो बाटो लागेको देखिएपछि यो रहस्य खुलेको हो। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको भिडियो फुटेजमा कुकुरले निकै चलाखीपूर्ण तरिकाले फोहोर विसर्जन गरेको देखिन्छ।
क्याटानिया नगरपालिकाको वातावरणीय प्रहरी इकाइले यसबारे अनुसन्धान गर्दा कुकुरले आफैँ नभई मालिकको तालिम र निर्देशनमा यसो गरेको निष्कर्ष निकालेको छ। आफू सीसीटीभीको नजरमा नपर्न र कारबाहीबाट बच्न मालिकले अबोध जनावरलाई फोहोर फाल्ने माध्यम बनाएको प्रहरीको दाबी छ। यो घटना सार्वजनिक भएपछि प्रहरीले कुकुरका मालिकलाई पहिचान गरी कडा जरिवाना समेत गरेको छ।
इटालीका अधिकारीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत यस घटनाको निन्दा गर्दै ‘सिर्जनशीलता कहिल्यै पनि असभ्यताको बहाना बन्न नसक्ने’ उल्लेख गरेका छन्। आफ्नो सहरलाई सफा राख्नु र वातावरणको सम्मान गर्नु सबैको कर्तव्य भएको बताउँदै प्रहरीले एउटा वफादार जनावरलाई गलत काममा प्रयोग गर्नु दोहोरो अन्याय भएको टिप्पणी गरेको छ।
कुकुरलाई कसरी फोहोर फाल्न तालिम दिइयो भन्नेबारे स्पष्ट नभए पनि सीसीटीभी फुटेजकै आधारमा मालिक दोषी ठहरिएका हुन्। इटालीको कानुन अनुसार सार्वजनिक स्थलमा अवैध रूपमा फोहोर फाल्ने व्यक्तिलाई १ हजार ५ सय युरोदेखि १८ हजार युरोसम्म जरिवाना हुने व्यवस्था छ।
कानुनमा कुकुरले फोहोर फालेको विषयमा केही उल्लेख नभए पनि जनावरको प्रयोग गरेर नियम मिच्ने मालिक नै मुख्य जिम्मेवार हुने भएकाले उनलाई कानुनी दायरामा ल्याइएको हो। यो घटनाले विश्वभरका प्रकृति प्रेमी र पशु अधिकारकर्मीहरूका बिचमा चर्चा पाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण