शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

यस पटकको निर्वाचनले मुलुकमा स्थिर सरकार र सुशासनको जग बसाल्छ : राजन भट्टराई

बिहीबार, १४ फागुन २०८२, १३ : ३०
बिहीबार, १४ फागुन २०८२

सारांश

  • डा. राजन भट्टराईले भौतिक पूर्वाधार सुधार र युवा स्वरोजगारका कार्यक्रम ल्याउने बताए।
  • उनले स्थानीय समस्या समाधान र लगानीमैत्री वातावरण बनाउन जोड दिने कुरा गरे।
  • भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नु आफ्नो महत्त्वपूर्ण एजेन्डा रहेको भट्टराईले बताए।

काठमाडौँ । नेकपा एमालेका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर–४ का उम्मेदवार डा.राजन भट्टराईले विगतमा निर्माण भएका भौतिक पूर्वाधारहरूको अवस्थामा गुणात्मक सुधार ल्याउनु आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।

बिहीबार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले यसअघि नै बाटोघाटो, ढल, खानेपानी र स्वास्थ्य क्षेत्रका आधारभूत पूर्वाधारहरू बनिसकेकाले अब तिनलाई व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो ध्यान केन्द्रित हुने स्पष्ट पारेका हुन्।

भट्टराईले निर्वाचनमा आफ्नो पार्टीले अघि सारेका राष्ट्रिय मुद्दाहरूसँगै स्थानीय समस्याहरूको समाधानलाई पनि उत्तिकै प्राथमिकतामा राखेको उल्लेख गरेका छन्। पछिल्लो समय मुलुकमा केही हुँदैन भन्ने नकारात्मक भाष्य निर्माण भइरहेको र युवाहरूमा असन्तुष्टि बढिरहेको प्रति सङ्केत गर्दै उनले युवा स्वरोजगारका विशेष कार्यक्रमहरू ल्याउने योजना सुनाए। युवाहरूलाई स्वदेशमै भविष्य देख्ने वातावरण बनाउनु नै अहिलेको प्रमुख आवश्यकता रहेको उनको ठहर छ।

देशमा रोजगारीका अवसरहरू सिर्जना गर्नका लागि लगानीमैत्री वातावरण निर्माणमा आफूले जोड दिने उनले बताएका छन्। स्वदेशी लगानी वृद्धि गर्ने र वैदेशिक लगानी भित्र्याउनका लागि नीति निर्माणको तहबाटै आकर्षक प्याकेजहरू ल्याउन आफू प्रतिबद्ध रहेको उनको भनाइ छ। भट्टराईले निजी क्षेत्रलाई उत्साहित बनाउँदै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न ठोस नीतिगत सुधारको खाँचो रहेको औँल्याएका छन्।

भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु आफ्नो अर्को महत्त्वपूर्ण एजेन्डा रहेको भट्टराईले बताएका छन्। सरकारी कार्यालयहरूबाट हुने सेवा प्रवाहलाई सरल र सहज बनाएर जनताले आफ्ना कामहरू बिना झन्झट फत्ते गर्ने वातावरण बनाउनुपर्नेमा उनले विशेष जोड दिएका छन्।

घरदैलोका क्रममा मतदाताको उत्साहजनक प्रतिक्रिया पाइरहेको बताउँदै भट्टराईले यस पटकको निर्वाचनले मुलुकमा स्थिर सरकार र सुशासनको जग बसाल्ने विश्वास व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप