बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिका–इरान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ भएको दाबी, विवरण अझै अस्पष्ट

शुक्रबार, १५ फागुन २०८२, १० : ३१
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • इरान र अमेरिकाबीच जिनेभामा अप्रत्यक्ष वार्ता सम्पन्न, अर्को चरणको वार्ता भियनामा हुने।
  • इरानका विदेशमन्त्रीले वार्तामा प्रगति भएको बताए, तर दुवै पक्ष आफ्नो अडानबाट कति पछि हट्छन् भन्ने स्पष्ट छैन।
  • ओमानका विदेशमन्त्रीले मध्यस्थता गरे, र अमेरिकी टोलीले युक्रेनबारे छुट्टै वार्ता गरेको जनाइएको छ।

तेहरान । इरान र अमेरिकाबीच जिनेभामा भएको अर्को चरणको अप्रत्यक्ष वार्ता सकिएको छ । मध्यस्थकर्ताले वार्तामा महत्त्वपूर्ण प्रगति भएको दाबी गरे पनि दुवै पक्ष युद्ध टार्ने गरी आफ्नो अडानबाट कति पछि हट्न तयार छन् भन्ने स्पष्ट संकेत अझै देखिएको छैन । बिहीबार जिनेभामा वार्ता सकिएपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले अर्को साता भियनामा प्राविधिक स्तरका थप वार्ता हुने र प्रगति राम्रो भएको बताएका थिए ।

वार्ता निकै गम्भीर र लामो भएको पनि उनले भने । वार्तामा मध्यस्थता गरेका ओमानका विदेशमन्त्री बद्र बिन हमाद अल बुसैदीले इरान र अमेरिकी कूटनीतिज्ञहरूले भियना वार्ताअघि आफ्ना–आफ्ना सरकारसँग परामर्श गर्ने जानकारी दिए । वार्ताबारे विस्तृत विवरण सार्वजनिक नभए पनि इरानी समाचार संस्था तस्निमका अनुसार अराघचीले अमेरिकी दूत स्टिभ विट्कफसँग छोटो भेट गरेका थिए ।

अराघची नेतृत्वको इरानी टोलीले बुधबार राति तेहरानका लिखित प्रस्तावहरू अल बुसैदीलाई बुझाएको थियो । उनले यसअघि पनि जिनेभा र मुस्कटमा भएका वार्ताहरूमा मध्यस्थता गरेका थिए । ओमानी कूटनीतिज्ञले बिहीबार अमेरिकी प्रतिनिधिमण्डलसँग पनि भेट गरेका थिए, जसको नेतृत्व विटकफ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाइँ जारेड कुुश्नरले गरेका थिए । दिनभर उनले दुवै टोलीबीच मध्यस्थता गरेका थिए भने अमेरिकी टोलीले युक्रेनबारे छुट्टै वार्ता पनि गरेको जनाइएको छ ।

वार्तामा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)का महानिर्देशक राफेल ग्रोस्सी पनि सहभागी थिए । कुनै सहमति भएमा इरानमा आणविक अनुगमन र प्रमाणीकरणको जिम्मा यही निकायले लिनेछ । संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायले मार्च ६ देखि बोर्ड बैठकहरू सुरु गर्ने तयारी गरेको छ । यो समयसीमा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता गर्न दिएको भनिएको १०–१५ दिनको म्यादसँग मिल्दोजुल्दो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप