‘पुराना दलले जनता झुक्काए, अब पालो विकल्पको’
सारांश
- मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट रास्वपाका गणेश कार्की प्रतिनिधि सभा सदस्यको लागि चुनावी मैदानमा छन्।
- उनले परिवर्तन, सुशासन, विकास र स्थानीय समस्यालाई राष्ट्रिय मुद्दा बनाएर भोट मागिरहेका छन्।
- कार्कीले पुराना दल र नेताको आलोचना गर्दै आफूले जितेमा काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी देशभर बढ्दो छ। राजनीतिक दल र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता राख्दै मत मागिरहेका छन्।
यसै सन्दर्भमा, रातोपाटीको स्थलगत रिपोर्टिङ टोली मोरङ निर्वाचन क्षेत्र नम्बर ३ पुगेको छ। यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट गणेश कार्की चुनावी मैदानमा छन्। विगतमा कुनै राजनीतिक वा पारिवारिक पृष्ठभूमि नभएका तर समाजका विभिन्न बेथिति र मुद्दाहरूमा सधैँ मुखर रहँदै आएका कार्की यस पटक ‘घण्टी’ चुनाव चिह्न लिएर मतदातामाझ गइरहेका छन्।
आफ्नो जितप्रति उनी कत्तिको विश्वस्त छन्? उनका मुख्य एजेन्डाहरू के–के हुन्? र, ‘हेभिवेट’ मानिएका प्रतिस्पर्धीहरूलाई उनले कसरी हेरिरहेका छन्? यिनै समसामयिक विषयमा केन्द्रित रहेर उम्मेदवार गणेश कार्कीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
- तपाईंले जनतासँग के भनेर भोट मागिरहनुभएको छ?
हामी परिवर्तन, सुशासन, विकास र स्थानीय समस्याहरूलाई राष्ट्रिय मुद्दा बनाएर त्यसको नीतिगत समाधान खोज्छौँ। साथै, व्यावहारिक समाधानका लागि पनि पहल गर्छौँ भनेर भोट मागिरहेका छौँ।
- यसअघि पटक–पटक मन्त्री र सांसद भइसकेका तपाईँका प्रतिस्पर्धीहरू हुनुहुन्छ। उहाँहरूले थुप्रै काम गरेको दाबी गर्नुभएको छ, जुन मानिसहरूले देखेका पनि छन्। तपाईंसँग भोट माग्ने आधार ‘मैले विगतमा यो गरेँ, ऊ गरेँ’ भन्ने त छैन नि! यसले तपाईंलाई समस्या त भएको छैन?
होइन, ती दाबीहरू फोस्रा हुन्। ती दाबी सही भएको भए यो ठाउँ यस्तै अवस्थामा हुँदैनथ्यो। यहाँका मुद्दाहरू यसरी असरल्ल हुँदैनथे। ‘म पूरा गर्छु’ भनेर जो–जो जहाँ–जहाँ पुग्नुभयो, उहाँहरू त पुग्नुभयो तर मुद्दाहरू जस्ताको तस्तै छन्। अहिले पनि उहाँहरूकै वाचापत्र र घोषणापत्रमा ती मुद्दाहरू दोहोरिएका छन्। अघिल्ला घोषणापत्रमा भनिएका कुरा पूरा नगरी अहिले आएर ‘हामीले यति गर्यौँ’ भन्नु फोस्रा गफ मात्र हुन्। ती गफ अब मान्छेले पत्याउँदैनन्।
- उहाँहरूले यसअघि जारी गरेका घोषणापत्रका वाचाहरू पूरा हुन सकेनन्। तपाईंले भनेका कुरा पनि त्यस्तै त होलान् नि भनेर जनताले शङ्का गरे भने?
हो, मान्छेहरूमा त्यो शङ्का छ। आम मतदातालाई ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने लाग्नु स्वाभाविक हो। तर, त्यो शङ्का हामीलाई देखेर गरिएको होइन। पुराना दल र नेताले यतिसम्म दुरावस्थामा छाडिदिए, यतिसम्म हेलचेक्र्याइँ गरे र उत्तरदायित्व लिएनन् कि त्यसको प्रभाव हामीमाथि पनि परेको हो।
त्यसैले त्यो गुनासो र शङ्का एकदमै जायज छ। तर अब हामीले काम गरेर देखाउने हो। हाम्रो लागि सांसद पद भनेको ‘मैले यति काम गरेँ, अब मलाई पुरस्कार देऊ’ भनेर थाप्ने भाँडो पक्कै होइन। ‘मैले धेरै काम गरिसकेँ, अब मलाई थन्काएर राख’ भन्नका लागि पनि होइन। त्यसैले, काम गर्ने सम्भावनाको कुरा गर्दा यो क्षेत्रका १८ जना उम्मेदवारमध्ये सबैभन्दा बढी दाबी म गर्छु।
- यसो हेर्दाखेरि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबिच अलि बढी प्रतिस्पर्धा हुने अनुमान गरिँदैछ। त्यसमध्ये कांग्रेसका उम्मेदवार सुनिल शर्मासँग प्रतिस्पर्धा गर्न धेरै चुनौती छ भनिन्छ। तपाईं के भन्नुहुन्छ?
यो चुनौती क्षेत्रभन्दा बाहिरका मान्छेहरूले अलि बढी महसुस गर्नुभएको होला, किनभने बाहिर एउटा हौवा पिटिएको छ, ‘यहाँ त सबै बिरामी नै पर्छन्, र बिरामी हुनेबित्तिकै टपक्कै निःशुल्क उपचार पाइहाल्छन्’ भन्ने खालको। तर, यथार्थ अवस्था त्यस्तो छैन। यहाँ उपचारमा छुट पाउनका लागि पनि कुनै कांग्रेस कार्यकर्ता वा नेताको सिफारिस नभईकन सम्भव छैन।
बिरामीले फोटो खिचाएर आफ्नो स्वाभिमान बेचेपछि मात्रै केहीले छुट पाएका छन्। त्यसमाथि पनि बिलमा के छ भनेर मान्छेहरूले अन्य अस्पतालसँग तुलना गर्न थालेका छन्। कुन अस्पतालमा एउटै सेवाका लागि कति पर्दो रहेछ भनेर नागरिकले बुझ्न थालेका छन्। छुट दिएको देखाउन पहिले नै बिल बढाएको हो कि वा बिमाबाट पाउने सुविधालाई नै दाबी गरिएको हो? यस्ता प्रश्न मान्छेहरूले आफैँ गर्न थाल्नुभएको छ र पक्कै पनि यसको जवाफ उहाँहरूले पाउनुहुनेछ। मेरा लागि सबै प्रतिस्पर्धी बराबर हुन्।
- तपाईंहरूको नजिकै झापा ५ बाट बालेन शाह उठ्नुभएको छ। तपाईं आफ्नो क्षमताभन्दा पनि बालेनको साथी भएको कारणले जित्दै हुनुहुन्छ भन्ने चर्चा छ नि? तपाईंको आफ्नो पृष्ठभूमि चाहिँ के हो?
बालेनकै कारणले जित्छ भन्नु वा बालेनको साथी हो भनिनु मेरा लागि गौरवको कुरा हो। जसले यत्रो परिवर्तनका लागि मान्छेलाई सकारात्मक बनाएको छ, आशा देखाएको छ र केही गर्छु भन्ने क्षमता राखेको छ, त्यस्तो व्यक्तिको नजिकको साथी भनिनु गौरव हो।
तर, मेरो चरित्रको कुरा गर्नुहुन्छ भने, त्यही नजिकको साथी काठमाडौँको मेयर भएर २५ अर्बको बजेट चलाउँदा र १८ सयभन्दा बढी पदहरू हुँदा गणेश कार्कीले साथी भएको नाताले कुनै लाभको पद लियो त? कहिल्यै लिएन। गणेश कार्कीको चरित्र र निकटता बुझ्न यो उदाहरण नै काफी छ। मैले के गर्न सक्छु भन्ने कुरा यसैबाट प्रस्ट हुन्छ।
- तपाईंको आफ्नो राजनीतिक वा सामाजिक पृष्ठभूमि चाहिँ के हो नि?
मेरो कुनै राजनीतिक वा पारिवारिक पृष्ठभूमि छैन। तर, शैक्षिक योग्यता नभएको वा समाजमा केही पनि नगरेको व्यक्ति म पक्कै होइन। मैले स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेको छु र आफ्नो व्यवसायमा राम्रै गरिरहेको छु। म लेख्छु, पढ्छु, प्रश्न सोध्छु र जवाफ माग्छु। यो पनि लोकतन्त्र र समाजका लागि गरिएको योगदान नै हो।
तर भयो के भने, विद्यार्थीकालदेखि नै राजनीति गर्छु भनेर हिँडेका र संगठनमा बसेकाहरूले जनअपेक्षा अनुसार पटक्कै काम गरेनन्। उनीहरूले समयलाई नै रोकिदिए। त्यसैले हामीजस्ता राजनीतिक विरासत नभएका, खेतीपाती गरेर औसत जीवन बिताइरहेका युवाहरू राजनीतिमा आउनुपर्यो। यो हाम्रो रहर मात्र होइन, बाध्यता हो। यो बाध्यता पुरानै पार्टी र तिनको चरित्रले सिर्जना गरेको हो।
हामीले बोक्ने मुद्दा भनेको यहीँको भूमिको मुद्दा, अव्यवस्थित बसोबास, रोजगारीको अभाव, र विदेशबाट काठको बाकसमा फर्किने युवाहरूको मुद्दा हो। यस्ता बेथितिमाथि प्रश्न गर्ने ल्याकत म राख्छु।
- रास्वपाका उम्मेदवारहरूलाई सुन्दा भोलि सरकारमा गएपछि जादुको छडीले झैँ सबै समस्या रातारात समाधान गरिदिन्छु भने जस्तो सुनिन्छ। के यो सम्भव छ?
हामीले जादुको छडीले सबै ठिक पार्छौँ भनेर कहिल्यै दाबी गरेका छैनौँ। मैले त आफ्नो प्रतिबद्धतापत्रमै प्रस्ट लेखेको छु कि म सांसद भएँ भने ‘मैले यति बजेट पारेँ’ भन्दै वडाध्यक्ष वा मन्त्रीले गर्ने जस्तो कामको फुर्ती लगाउने छैन। हाम्रो पार्टीले पनि त्यही भनेको छ।
हाम्रो मुख्य जिम्मेवारी नीति निर्माण गर्ने हो। ती नीतिको कार्यान्वयन भएको छ कि छैन भनेर निगरानी गर्ने र जबाफदेहिता खोज्ने हो। जस्तै, यहाँ पछाडि २ करोडको भ्यूटावर ठडिएको छ, तर त्यहीँका जनताले ४० लाख नपाएर खानेपानी खान पाएका छैनन्। बजेटको यस्तो अनुचित बाँडफाँड र प्रभावलाई अन्त्य गर्न हामी आएका हौँ।
- रास्वपाभित्र दुई वरिष्ठ नेता र पार्टी सभापतिका आ–आफ्ना गुट छन् भनिन्छ। झापा र इटहरीका कार्यक्रममा उहाँहरू सँगै नदेखिँदा सम्बन्ध राम्रो छैन कि भन्ने अनुमान गरियो नि?
हामी सबै रास्वपाकै उम्मेदवार हौँ, गुटबन्दी छैन। बाहिर हल्ला भएजस्तो पार्टीभित्र कुनै विवाद छैन। केही दिनअघि मात्र पार्टी सभापति पूर्वको अभियान सकेर पथरी आउँदा मलाई अँगालो हाल्नुभयो, हामीले सँगै खाना खायौँ र एउटै गाडीमा इटहरी गयौँ। इटहरीमा बालेन शाह जुन कोठामा बस्नुभएको थियो, त्यही कोठामा सभापति र म गयौँ।
हामीबिच दाजुभाइको जस्तो पारिवारिक सम्बन्ध छ। बाहिरबाट हेर्दा चुनावी रणनीतिका कारण को कहाँ जाने भन्ने कुरालाई लिएर मिलेनन् वा सँगै बसेनन् भनेर हल्ला फिजाइएको मात्र हो।
- तपाईंलाई देशमा आगो लगाउने र सिंहदरबार जलाउनेलाई किन भोट दिने भनेर जनताले प्रश्न पनि गरिरहेका छन् नि?
यो प्रश्न जनताले गरेका होइनन्। यो त भ्रष्टाचार जोगाएर बस्ने र त्यसबाट पालिएकाहरूले उब्जाएको प्रश्न हो। जनताले त प्रमाण खोजिरहेका छन्। आगो लगाउने ठाउँमा गणेश कार्की कहाँ थियो? त्यत्रा हजारौं मान्छेले खिचेको फोटो वा भिडियोमा म कहीँ न कहीँ त देखिनुपर्ने हो नि! एआईको प्रयोग गरेर मेरा तस्बिरहरू बङ्ग्याएर दुष्प्रचार गरिएको छ।
मुख्य प्रश्न आगो कसले लगायो भन्ने होइन, प्रश्न त नागरिकमाथि किन गोली चलाइयो भन्ने हो। सुशासन र भ्रष्टाचारको छानबिन माग गर्दै शान्तिपूर्ण विरोधमा उत्रिएका नागरिकमाथि दमन भएपछि त्यसको प्रतिक्रिया स्वरूप ती घटनाहरू भएका हुन्। नागरिकको सम्मान फिर्ता गर भन्दा गोली हान्ने नियतमाथि प्रश्न उठ्नुपर्छ।
- अघिल्लो निर्वाचनमा यहाँबाट जित्नेले ४९ हजार मत ल्याएका थिए। न संगठन छ, न पुरानो विरासत। तपाईंले जित्ने भोट कहाँबाट ल्याउनुहुन्छ?
यहाँ कुल मतदाता १ लाख ५८ हजार ५७ जना छन्। त्यसमा करिब १ लाख १५ हजार मत खस्ने अनुमान छ। अघिल्लो पटक तीन दलको गठबन्धनका कारण कांग्रेस उम्मेदवारले ४९ हजार मत ल्याएर जित्नुभएको हो। त्यतिबेला अर्को विकल्प नभएकाले त्यसरी भोट खसेको थियो। तर, समानुपातिकतर्फ हेर्ने हो भने नेपाली कांग्रेसले २९ हजार र हामीले १४ हजार ४ सय मत ल्याएका छौँ। हारजितको अन्तर करिब १५ हजार मतको हो, र त्यो मत तान्न गणेश कार्की पूर्ण रूपमा सक्षम छ।
- त्यसो भए क्षेत्र नम्बर ३ मा तपाईंको निकटतम प्रतिद्वन्द्वी चाहिँ को हो त?
निकटतम प्रतिद्वन्द्वी को हुन्छ भन्ने कुरा आम नागरिकले तय गर्ने हो। विगतलाई हेर्ने हो भने, एक पटक हारेको मान्छे अर्को पटक जित्न सक्छ र जितेको मान्छे हार्न पनि सक्छ। त्यसैले को हार्छ भन्दा पनि कसले र कुन मुद्दाले जित्छ भन्ने कुरा मुख्य हो। चुनाव गणेश कार्कीले मात्र होइन, मैले उठाउने नीतिगत परिवर्तन र सुशासनका मुद्दाले जित्ने हो। मलाई भोट नहाल्नेहरूको पनि उम्मेदवार बनेर म जानेछु, त्यसैले यो जित समग्र समाजको हुनेछ।
- तपाईंले गरेका वाचाहरू अर्को निर्वाचनमा आउँदा सबै पूरा गर्छु भनेर प्रतिबद्धता जनाउन सक्नुहुन्छ?
हामीले गरेका सबै वाचाहरू पूरा गर्नेछौँ। यदि कुनै कारणवश पूरा गर्न सकेनौँ भने पनि, त्यसको यथार्थ कारण नागरिकलाई पारदर्शी रूपमा बताउनेछौँ। म मोरङ क्षेत्र नम्बर ३ को यस्तो उम्मेदवार हुँ, जसले मतदातालाई ‘म यो दिन तपाईंको टोलमा आउँदैछु, गाली वा अपशब्द प्रयोग नगरी आफ्ना रचनात्मक प्रश्नहरू तयार राख्नुहोला’ भनेर अग्रिम जानकारी दिने गरेको छु।
अरू कुन दलको उम्मेदवारले नागरिकका प्रश्न सुन्न यसरी आफूलाई तयार राखेको छ? लुकीछिपी गएर ‘म प्रतिनिधित्व गर्छु’ भन्नु भ्रम मात्र हो। नागरिकले आफ्ना उम्मेदवारलाई सार्वजनिक रूपमा प्रश्न गर्न पाउने हक स्थापित हुनुपर्छ। म त्यही पारदर्शी अभ्यास गरिरहेको छु।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण