टी–२० विश्वकपः न्युजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड विजयी, पाकिस्तानको सेमिफाइनल आशा जीवितै
सारांश
- इंग्ल्याण्डले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्यो, जसले गर्दा न्युजिल्याण्ड विश्वकपबाट बाहिरियो ।
- न्युजिल्याण्डले १६० रनको लक्ष्य दिएको थियो, जुन इंग्ल्याण्डले १९.३ ओभरमा पूरा गर्यो ।
- यस नतिजाले पाकिस्तानलाई राहत पुर्याएको छ, र सेमिफाइनल पुग्नको लागि पाकिस्तानको सम्भावना कायमै राखेको छ।
काठमाडौँ । टी–२० विश्वकपको सुपर–८ चरण अन्तर्गत शुक्रबार भएको महत्त्वपूर्ण र रोमाञ्चक खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यो हारसँगै न्युजिल्याण्डको सेमिफाइनल यात्रा समाप्त भएको छ भने इंग्ल्याण्डको जितले पाकिस्तानको आशालाई कायमै राखेको छ ।
कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा न्युजिल्याण्डले प्रस्तुत गरेको १६० रनको लक्ष्य इंग्ल्याण्डले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्याण्डले ३ बल बाँकी छँदै लक्ष्य भेट्टाउँदै महत्त्वपूर्ण जित हासिल गरेको हो ।
न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५९ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन बनाए भने टिम सिफर्टले ३५ र फिन एलेनले २९ रनको योगदान दिए ।
१६० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । इंग्ल्याण्डको जितमा टम ब्यान्टनले ३३ रन जोडे भने ह्यारी ब्रुकले २६ रन बनाए । अन्त्यमा विल ज्याक्सले अविजित रहँदै १८ बलमा ३२ रनको महत्त्वपूर्ण पारी खेल्दै टोलीलाई जित दिलाए ।
न्युजिल्याण्ड बाहिरियो, पाकिस्तानलाई राहत
न्युजिल्याण्डका लागि यो खेल ‘गर या मर’ को स्थितिमा थियो । सेमिफाइनलमा पुग्नका लागि जित्नै पर्ने दबाबमा रहेको न्युजिल्याण्ड पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
यो नतिजाले पाकिस्तानलाई भने ठुलो राहत मिलेको छ । यदि आज न्युजिल्याण्डले जितेको भए पाकिस्तान प्रतियोगिताबाट बाहिरिने थियो । अब पाकिस्तानले आफ्नो अन्तिम खेलमा आयोजक श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्न सकेमा सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहनेछ। यस जितले सुपर–८ को समीकरणलाई थप रोचक बनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026