‘म जेनजी र अभिभावक पुस्ता दुवैलाई जोड्ने पुल बन्न सक्छु’
सारांश
- काठमाडौं-१ मा कांग्रेसले नयाँ अनुहारका रूपमा प्रबल थापालाई उम्मेदवार बनाएको छ, जसलाई चासोका साथ हेरिएको छ।
- थापाले मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाएको र स्थानीय समस्या समाधान र राष्ट्रिय राजनीतिमा स्थिरताको अपेक्षा रहेको बताए।
- उनले सुशासन, प्रविधि र डिजिटल नेपालको भिजनका साथै युवालाई रोजगारी र सीपमूलक शिक्षामा जोड दिने योजना रहेको बताए।
काठमाडौं । फागुन २१ गते नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मीको तापमान उच्च बन्दैछ । उम्मेदवारहरू मतदाता रिझाउन अन्तिम कसरत गरिरहेका छन् । उनीहरू घरदैलोमै बढी केन्द्रित देखिन्छन् ।
निकै प्रतिस्पर्धी चुनावी क्षेत्र मानिने काठमाडौं-१ मा यसपटक नेपाली कांग्रेसले नयाँ अनुहारका रूपमा प्रबल थापालाई अघि सारेको छ । यसअघि कांग्रेस नेता प्रकाशमान सिंहले लगातार जित्दै आएको यो क्षेत्रमा थापाको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ ।
चुनावी अभियान, मतदाताको प्रतिक्रिया, पार्टीभित्रको समीकरण र चुनावी एजेन्डामा केन्द्रित रहेर उम्मेदवार थापासँग ‘रातोपाटी इलेक्सन फिभर’मा गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) :
काठमाडौं क्षेत्र नम्बर १ मा कडा प्रतिस्पर्धा देखिन्छ । चुनावी अभियान अन्तिम चरणमा पुग्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
करिब ३५–३६ दिनको चुनावी यात्रा पूरा भएको छ । सुरुमा पार्टीको ठुलो संरचना र इतिहास बोकेको क्षेत्रमा नयाँ अनुहारका रूपमा उभिँदा के होला भन्ने कौतुहलता थियो । तर घरदैलो गर्दै जाँदा मैले मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाएको छु ।
यो मेरो आफ्नै ठाउँ हो, यहाँका मतदातासँग मेरो पुरानो सम्बन्ध छ । उहाँहरूले मलाई मत माग्न आएको उम्मेदवार मात्र होइन, सुख–दुःखको साथीका रूपमा लिनुभएको छ । संगठनको साथ र मतदाताको मायाले गर्दा म निकै उत्साहित छु ।
घरदैलोमा जाँदा मतदाताको मनोविज्ञान कस्तो पाउनुभयो ? मुख्य चाहना के रहेछ ?
मतदाताहरूले मलाई तिमी हाम्रै स्थानीय हौ भनेर अपनत्व महसुस गराउनुभएको छ । उहाँहरूले स्थानीय समस्या समाधानसँगै राष्ट्रिय राजनीतिमा स्थिरताको अपेक्षा राख्नुभएको छ । कतिपयले हामीलाई केही चाहिँदैन, राष्ट्र र देशको सेवा गर भनेर आशीर्वाद दिनुभएको छ ।

धेरैले अब युवाहरूले नै देशको नेतृत्व गर्नुपर्छ । निर्णय गर्ने ठाउँमा तिमीहरू जस्तो युवा पुग्नुपर्छ भनेर हौसला दिनुभएको छ । स्थानीय निकायले गर्नुपर्ने सानातिना कामदेखि नीति निर्माण तहसम्मका अपेक्षा उहाँहरूमा छ ।
काठमाडौं–१ देशकै केन्द्रविन्दुमध्ये पनि हो । यहाँका मुख्य समस्या र तपाईंका विकासका योजना के छन् ?
यो क्षेत्र प्रशासनिक केन्द्र मात्र होइन, ७७ वटै जिल्लाका मानिसहरूको बसोबास भएको क्षेत्र पनि हो । यहाँ मुख्य समस्या भनेको ट्राफिक व्यवस्थापन र सुरक्षा संवेदनशीलता हो । माइतीघर मण्डलादेखि बानेश्वरसम्म हुने आन्दोलनले यहाँको जनजीवन र व्यवसायमा ठुलो असर पारेको छ । यसको उचित व्यवस्थापन आवश्यक छ ।
त्यस्तै खानेपानीको समस्या मेलम्ची बाह्रै महिना नआउने, ढल निकास र बिजुलीको तार व्यवस्थापनमा पनि काम गर्नुपर्नेछ । यी समस्या समाधानका लागि एकद्वार प्रणाली लागु गरेर नागरिकलाई वडा तहबाटै सहज सेवा दिने मेरो योजना छ ।
सुकुम्बासी समस्यालाई डोजर लगाएर होइन । मानवीय र न्यायोचित ढंगले समाधान गर्नुपर्छ । साथै, यहाँ धेरै विद्यार्थी होस्टेलहरू छन् । तिनको मापदण्ड र सुरक्षामा पनि ध्यान दिनुपर्नेछ ।
पुराना र स्थापित दलहरूप्रति वितृष्णा र नयाँ दलहरूको लहर चलेको भनिन्छ । यसलाई कसरी चिर्नुहुन्छ ?
कांग्रेस लोकतान्त्रिक र ऐतिहासिक पार्टी हो । सामाजिक सञ्जालमा देखिने माहोल र ग्राउन्ड रियालिटी फरक हुन्छ । हामी इतिहासमा मात्र रमाइरहेका छैनौं, भविष्यको स्पष्ट योजना पनि लिएर आएका छौं । रुपाान्तरित कांग्रेसले युवाहरूको भावना समेटेको छ । मतदाताहरूले बुझ्नुभएको छ देशको संकट र अप्ठ्यारो परिस्थितिमा उभिने भनेको कांग्रेस नै हो । त्यसैले त्यो लहरले हाम्रो संगठित मत र एजेन्डालाई असर गर्छ जस्तो मलाई लाग्दैन ।
तपाईंलाई गगन थापाको निकट भएकाले र प्रकाशमान सिंहलाई पन्छाएर टिकट दिइयो भन्ने चर्चा छ । प्रकाशमान सिंहको साथ पनि पाउनुभयो ?
यो एकदमै गलत बुझाइ हो । मलाई पार्टीले मेरो १५ वर्षको निरन्तर क्रियाशीलता र निष्ठाको आधारमा टिकट दिएको हो । गगनजी वा अरू कसैको निकटताले मात्र होइन, पार्टीको रूपान्तरणको पक्षमा उभिएको र काम गरेको आधारमा मूल्यांकन भएको हो ।

प्रकाशमान दाइसँग मेरो सम्बन्ध एकदमै राम्रो छ । उहाँ यो क्षेत्रको अभिभावक र ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ । उहाँलाई पन्छाउने कुरा कल्पना पनि गर्न सकिँदैन । उहाँको अनुभव र सुझाव लिएरै म अघि बढेको छु । उहाँले मलाई पूर्ण समर्थन गर्नुभएको छ र छिट्टै चुनावी अभियानमा पनि देखिनुहुनेछ । उहाँको विरासत र मेरो नयाँ जोस एक ठाउँमा उभिँदा नतिजा हाम्रै पक्षमा आउँछ ।
काठमाडौं–१ का अन्य प्रतिस्पर्धीलाई छोडेर मतदाताले तपाईंलाई नै किन भोट दिने ?
म सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलताको पक्षपाती हुँ । दोस्रो, मसँग आधुनिक प्रविधि र डिजिटल नेपालको स्पष्ट भिजन छ । मैले अस्ट्रेलियाबाट एमबीए गरेर फर्केपछि सिकेको ज्ञान र सीपलाई यहाँको नीति निर्माणमा लगाउन चाहन्छु ।
हामीले युवाहरूलाई रोजगारीसँग जोड्न स्टार्टअप नीति, खेलकुद पर्यटन र सीपमूलक शिक्षामा जोड दिनुपर्छ । म जेनजी र अभिभावक पुस्ता दुवैलाई जोड्ने पुल बन्न सक्छु । म यहीँको माटोमा हुर्केको, यहाँको समस्या बुझेको र भोलि जिते पनि हारे पनि यहीँ रहने मान्छे हुँ ।
यदि नतिजा सोचेजस्तो आएन भने तपाईंको राजनीति कता जान्छ ?
काठमाडौं–१ का मतदाताका लागि प्रबल थापालाई छुट छैन । म जित्दा मात्र आउने र हार्दा हराउने मान्छे होइन । मेरो बुबाको देहावसान पनि यहीँ भयो । मेरो कर्मथलो पनि यहीँ हो । म ३६५ दिन नै यहाँका जनताको सुख–दुःखमा साथ हुनेछु । चुनाव जित्नेमा म पूर्ण विश्वस्त छु । तर प्राविधिक रूपमा नतिजा तलमाथि भए पनि म पाँच वर्षसम्म निरन्तर जनताको माझमा, उहाँहरूको गुनासो सुन्ने र समाधान गर्ने ठाउँमै भेटिनेछु ।
भिडियो : आयुष धामी/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण