अनावश्यक रूपमा इन्धन सञ्चय नगर्न व्यवसायीकाे आग्रह
सारांश
- पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले इन्धन सञ्चय नगर्न आग्रह गरे, किनभने आपूर्तिमा अवरोध छैन।
- घिमिरेका अनुसार, उपभोक्ताको डरले माग बढेको छ, तर भारतसँगको सम्झौताले आपूर्ति सुरक्षित छ।
- उनले हवाई इन्धनको खपत घटेको र ग्यासको समस्या समाधान भएको बताए, निर्वाचनमा इन्धनको अभाव हुँदैन।
काठमाडौँ । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले अनावश्यक रूपमा इन्धन(पेट्रोलियम पदार्थ) सञ्चय नगर्न आग्रह गरेका छन् । मध्य–पूर्व (पश्चिम एशिया) द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य बढेको र आपूर्ति ठप्प भएपनि नेपालमा आपूर्ति प्रणालीमा कुनै अवरोध नभएको उनले बताए।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मंगलबार आयोजना गरेकाे 'पश्चिम एशियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यस्थामा पार्ने असर' कार्यक्रममा बोल्दै घिमिरेले बजारमा व्याप्त हल्लाका कारण उपभोक्ताहरू त्रसित बनेको बताउँदै यसले गर्दा माग अस्वाभाविक रूपमा बढेको उल्लेख गरे ।
व्यवसायी घिमिरेका अनुसार सामान्य अवस्थामा दैनिक १० देखि १२ हजार लिटर पेट्रोल बिक्री हुने पम्पहरूमा अहिले २५ देखि ३० हजार लिटरसम्म बिक्री भइरहेको छ । 'निर्वाचनको समयमा काठमाडौँबाट मानिसहरू बाहिरिँदा खपत घट्नुपर्नेमा उल्टै तेब्बरले बढेको छ,’ उनले भने , 'विगतको नाकाबन्दी र अभावको पीडाले गर्दा फेरि त्यस्तै हुने हो कि भन्ने आशङ्काले उपभोक्ताहरू लामबद्ध भएका हुन्, तर वास्तविकतामा अभाव छैन ।’
नेपाल भारतबाट हुने आपूर्तिमा १०० प्रतिशत निर्भर रहेपनि इन्डियन आयल कर्पोरेसन (आईओसी) सँगको पाइपलाइन सम्झौताका कारण डिजेल र पेट्रोलको आपूर्ति सुरक्षित रहेको उनले बताए । नेपाल र भारत सरकारबिच १५ वर्षसम्म उक्त पाइपलाइन अन्य कसैले प्रयोग गर्न नपाउने गरी सम्झौता भएको र अमलेखगन्जबाट नियमित इन्धन आइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको तर्क छ ।
‘नेपालको कुल खपत भारतको दुई वटा जिल्ला बराबर मात्रै भएकाले भारतले नेपाललाई दिने कोटा कटौती गर्ने सम्भावना न्यून छ,’ घिमिरेले थपे ।
विगत केही महिनादेखि खाना पकाउने एलपी ग्यासमा देखिएको केही असहजता अब हटेको उनले जानकारी दिए । भारतको बरौनी रिफाइनरी मर्मतका लागि बन्द भएको र ढुवानी गर्ने बुलेटहरूको भाडा दरमा कुरा नमिल्दा केही समस्या देखिएको भए पनि अहिले रिफाइनरी सञ्चालनमा आइसकेको र ग्यासको आयात बढेको उनले बताए।
त्यस्तै, अन्तर्राष्ट्रिय उडानहरू कटौती भएका कारण हवाई इन्धनको खपत ५० देखि ६० प्रतिशतले घटेको र नेपाल आयल निगमसँग पर्याप्त मौज्दात रहेकाले हवाई क्षेत्रमा पनि कुनै समस्या नरहेको उनले प्रस्ट पारे ।
आसन्न निर्वाचनको समयमा मतदाता र आम उपभोक्तालाई इन्धन र ग्यासको खोजीमा भौँतारिनु नपर्ने सन्देश दिँदै उनले भने, ’विश्व बजारमा मूल्य बढ्नु स्वाभाविक भए पनि नेपालमा आपूर्ति रोकिएको छैन । निर्वाचनको समयमा इन्धनका लागि लाइन बस्नुपर्ने अवस्था छैन, ढुक्क हुनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण