चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर, क–कसले गरे मतदान ?
सारांश
- प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री, पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्री लगायतका नेताहरूले मतदान गरे।
- विभिन्न शीर्ष नेताहरूले काठमाडौं, भक्तपुर, चितवन, गोरखा, सुर्खेत, कञ्चनपुर र धरान लगायतका स्थानमा मतदान गरेका हुन्।
- शेरबहादुर देउवा र नारायणकाजी श्रेष्ठले भने मतदान गरेनन्, देउवा सिंगापुरमा उपचाररत छन् भने श्रेष्ठ निर्वाचन क्षेत्रमा व्यस्त रहे।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरेका छन् । देशभर १६५ सदस्य निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि मतदान प्रक्रिया जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहान काठमाडौँ–५ स्थित धापासी फैमालचुली मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेकी छन् ।
यसैगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरिन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति माविबाट दिउँसो मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवन भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गरे । मताधिकार प्रयोग गरेर उनी आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व गएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरे ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले काठमाडौँ–४ मैतीदेवी मन्दिर केन्द्रबाट मतदान गरे । थापा यो पटक साबिक निर्वाचन क्षेत्र परिवर्तन गरी सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ क्षेत्र नम्बर–३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा मतदान गरे । रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरे ।
कांग्रेसका नेता तथा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सुर्खेत–१ मेहेलकुनाको सूर्यजोति माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरे । पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुर–३ वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरे । खड्का र लेखक यो पटक चुनावी प्रतिस्पर्धामा छैनन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई साम्पाङले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा मतदान गरे । नेकपा(माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले रोल्पा परिवर्तन–३ स्थित थुनिकोट बुथकेन्द्र ‘क’ बाट मत हाले । हरेक निर्वाचन बहिस्कार गर्दै आएका उनले १८ वर्षपछि पहिलो पटक मतदान गरेका हुन् ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेसको विशेष महाधिवेशनबाट सभापति पद गुमाएका शेरबहादुर देउवाले मतदान नै गरेनन् । २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका उनले टिकट नपाएपछि चुनावै बहिस्कार गरेका हुन् । देउवा अहिले उपचार फलोअपका लागि सिंगापुर पुगेका छन् । पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि यो पटक मत हालेनन् ।
गोरखाको सिरानचोकस्थित जौ बारी केन्द्रमा श्रेष्ठको मतदाता नामावली रहेको छ । सर्लाही–४ बाट उम्मेदवार रहेका उनी निर्वाचन क्षेत्रमै व्यस्त रहनुपरेकाले मतदान गर्न नगएको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण