पर्दा पछाडिका दीपक बोहराको संसद् यात्रा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहराले कञ्चनपुर क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवारलाई पराजित गरे।
- पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका बोहराले युवा पलायन र विकासका मुद्दालाई प्राथमिकता दिए।
- बोहराले आफू विधि र थिति बसाल्न राजनीतिमा आएको र जनताको पक्षमा काम गर्ने बताए।
धनगढी । कञ्चनपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक बोहराले फराकिलो जित दर्ता गरे । कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउद (एनपी)लाई उनले २३ हजार भन्दा बढी मतान्तरले पराजित गरे । पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका बोहराले ३३ हजार ९५२ मत प्राप्त गरे ।
डडेलधुराको अमरगढी नगरपालिका चुम्सालमा जन्मिएका ३८ वर्षीय बोहरा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनले लामो समय सक्रिय भएर पत्रकारितामा काम गरे । नेपाल टेलिभिजन हुँदै न्युज २४ टेलिभिजनसम्म उनले काम गरेका छन् । पत्रकारितामा उनले २० वर्ष बिताइसकेका छन् ।
हाल रास्वपा सभापति रहेका रवि लामिछानेले लामो समय सञ्चालन गरेको टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ को निर्माताको रूपमा बोहराले काम गरे । पर्दा पछाडि रहेर कार्यक्रमको लेखन र उत्पादन कार्यमा उनी सक्रिय रहन्थे । पत्रकारिता गर्दागर्दै उनलाई एउटा कुराले सधैं बिझाउने गरेको उनी बताउँछन् । ‘हामीले समस्या देखायौं, समाधान गर्ने ठाउँमा रहेकाहरुले सुनेनन्,’ उनी भन्छन् ।
बोहरा अगाडि भन्छन्, ‘पत्रकारितामा हुँदा परोपकारी पत्रकारिता गर्यौं । सप्तरीमा बस्ती बसायौं, अन्यायमा परेकालाई न्याय दिलाउन पहल गर्यौं । तर सधैं खबरदारीले मात्र पुग्दो रहेनछ । नीति निर्माण तहमा फोहोर भएपछि जति कराए पनि सफा नहुने रहेछ । त्यसैले त्यो फोहोर सफा गर्न आफैं कुचो बोकेर राजनीतिमा आएको हुँ ।’
निर्वाचनको प्रचारप्रसारका क्रममा कञ्चनपुर–२ का गाउँबस्ती चहार्दा उनले देखेको जनता खानेपानी, बिजुली र पक्की सडकका लागि तड्पिरहेको उनले देखे ।
‘नेताको घर अगाडि पिच बाटो छ, जनताको घर जाने पाँच किलोमिटर बाटो वर्षौंदेखि कच्ची छ । निकुञ्ज विस्थापितहरू २६–२७ वर्षदेखि शिविरमा जीवन बिताइरहेका छन् । उनीहरूलाई भोट बैंक मात्र बनाइयो, तर लालपुर्जा दिइएन,’ उनले भने ।
उनले विशेषगरी युवा पलायनलाई आफ्नो प्रमुख मुद्दा बनाएका थिए ।
‘यहीँ केही गरौँ भन्ने हुटहुटी भएका युवाहरू राहदानी बनाउने पैसा नभएर छटपटाइरहेका छन्,’ उनी भन्छन्, ‘मेरा दौंतरीहरू जो भारतका गल्लीमा छन्, उनीहरूले रहरले देश छोडेका होइनन् । अब पनि पुराना दलहरूलाई नै भोट दिएर उनीहरूको भविष्यमाथि खेलबाड गर्न सकिँदैन ।’
उनी अगाडि भन्छन्, ‘हामी भावनामा मात्र होइन, विधि र थिति बसाल्न राजनीतिमा आएका हौं । रवि दाइ र मेरो सम्बन्ध दाजुभाइको जस्तो छ, पार्टीमा भने हामी विधिको शासन मान्छौं,’ उनले भने ।
संसद् यात्रा तय गरेका बोहरा अब सधैं जनताको पक्षमा उभिने बताउँछन् । ‘हामी काम गर्न आएका हौं। अरुले गरेनन् भनेर गाली गरेर मात्र अब पुग्दैन, हामीले गरेर देखाउनुपर्छ,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण