बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

म विचलित वा उद्वेलित छैन : सीके राउत

शनिबार, २३ फागुन २०८२, २१ : ४०
शनिबार, २३ फागुन २०८२

सारांश

  • डा. सीके राउतले निर्वाचनको नतिजाबाट आफू विचलित नभएको बताएका छन्।
  • उनले निर्वाचनको नतिजाले आफूलाई दुःख नलागेको र शान्त रहेको बताए।
  • राउतले मधेश आन्दोलनका राजनीतिक शक्तिहरू शून्यमा झर्नुले भने चिन्तित तुल्याएको स्वीकार गरे।

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले निर्वाचनको परिणामपछि आफ्नो धारणा सार्वजनिक गर्दै आफू कुनै पनि हालतमा विचलित वा उद्वेलित नभएको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी २ बाट उम्मेदवार रहेका राउत हारतर्फ उन्मुख भएसँगै सामाजिक सञ्जालमार्फत समर्थक र शुभेच्छुकहरूलाई सम्बोधन गर्दै उनले जनताको अभिमतको उच्च कदर र सम्मान गर्ने बताएका हुन्। 

निर्वाचनको नतिजा जे–जस्तो आए पनि व्यक्तिगत रूपमा आफूलाई कुनै दुःख नभएको र आफू पूर्ण रूपमा शान्त र प्रसन्न रहेको राउतको भनाइ छ।

आफूहरू संसदीय राजनीतिका लागि मात्रै राजनीतिमा प्रवेश नगरेको उल्लेख गर्दै राउतले सांसद वा मन्त्री पदप्रति आफ्नो कहिल्यै कुनै आशक्ति नरहेको दाबी गरेका छन्। उनले संसदीय राजनीतिलाई एउटा संयोगको रूपमा मात्रै लिएको प्रस्ट पारेका छन्। 

यद्यपि, मधेश आन्दोलनको जगमा उदाएका र मधेशका लागि दशकौंदेखि संघर्ष, त्याग र बलिदानी दिएका राजनीतिक शक्तिहरू एकाएक शून्यमा झर्नुले भने आफूलाई केही चिन्तित तुल्याएको उनले स्वीकार गरेका छन्।
निर्वाचनमा एउटा दलले झण्डै दुई–तिहाइ बहुमत ल्याउन लागेको विषयलाई भने उनले सकारात्मक रूपमा लिएका छन्। बहुमत प्राप्त गर्ने शक्तिले देशलाई निकास दिनका लागि उचित वातावरण पाएको भन्दै उनले अब जे गर्नु छ, गरेर देखाउन शुभकामना समेत दिएका छन्। 

उनले सकारात्मक वा नकारात्मक जे गरे पनि देशले एउटा दिशा पाउनुपर्नेमा जोड दिएका छन्। राउतले आफ्नो सन्देशको अन्त्यमा ’जय मधेश, जय स्वराज’ भन्दै आफ्ना समर्थकहरूप्रति आभार व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप