दाइलाई स्तब्ध तुल्याउँदै डोल्पामा धनबहादुरको वर्चस्व कायम
सारांश
- डोल्पामा धनबहादुर बुढाले चौथो पटक चुनाव जिते, उनका दाई कर्णबहादुर तेस्रो स्थानमा सीमित भए।
- कर्णबहादुरले भाइको एकाधिकार तोड्न खोजे पनि सफल भएनन्, र उनी कांग्रेसबाट उम्मेदवार बनेका थिए।
- धनबहादुरले यसअघि एमाले र नेकपा एकीकृत समाजवादीबाट चुनाव जितेका थिए, र डोल्पामा उनको राजनीतिक प्रभाव छ।
सुर्खेत । ७० को दशक यता हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढाको एकछत्र राज छ । ०७० र ०७४ मा एमाले र ०७९ मा नेकपा एकीकृत समाजवादीबाट चुनाव जितेर ‘ह्याट्रिक’ गरेका धनबहादुर यो पटक नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका थिए ।
डोल्पाको राजनीतिमा धनबहादुरको एकाधिकार तोड्न भन्दै उनकै सहोदर दाइ कर्णबहादुर बुढा चुनावी मैदानमा आए । ०५१ र ०६४ मा राप्रपा र ०५६ सालमा स्वतन्त्र चुनाव लडेर हारको ‘ह्याट्रिक’ गरेका कर्णबहादुर यो पटक नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए ।
विशेष महाधिवेशनपछि कांग्रेसको सहमहामन्त्री बनेका कर्ण भन्थे– भाइको एकाधिकार तोड्छु ।
चुनावी अभियानका क्रममा रातोपाटीसँग कुरा गर्दै कर्णले भनेका थिए, ‘उसले जिल्लामा राम्रो गरेको भए म चुनावमा आउन पर्दैनन्यो । यो पटक म चुनाव जित्छु, भाइको वर्चस्व तोड्छु ।’
धनबहादुरले ठाउँ ओगट्ने काममात्रै गरेको, डोल्पाको समुचित विकास गर्न नसकेको कर्णको भनाइ थियो ।
शनिबार राति सम्पन्न मतपरिणाम अनुसार कर्णबहादुरले आफ्ना भाइको संसदीय बाटो छेक्न त परै जावस्, प्रतिस्पर्धामै आउन सकेनन् ।
६ हजार ८०२ मत ल्याएर धनबहादुरले चौथो पटक चुनाव जित्दा दाइ कर्णबहादुर भने तेस्रो स्थानमा सीमित बने । धनबहादुरसँग बरु एमालेका लंकबहादुर रोकाया प्रतिस्पर्धामा आए । रोकायाले दोस्रोमा ५ हजार ३९६ मत ल्याए । तेस्रो स्थानमा कर्णबहादुरले जम्मा २ हजार ९४७ मतमात्रै ल्याए ।
राजनीतिमा दाइ—भाइ नहुने बताउने कर्णबहादुरका दाजुभाइ दुवैको राजनीतिक पृष्ठभूमि राप्रपा हो । कर्णबहादुर ०७६ सालमा कांग्रेसमा प्रवेश गरेका थिए । त्यसअघि उनी राप्रपाका केन्द्रीय सदस्य थिए ।
कर्णबहादुर लगातार तीन चुनावमा असफल भएपछि उनका भाइ धनबहादुर जबरजस्त डोल्पाको राजनीतिमा उदाए । यद्यपि डोल्पामा पार्टीको विचार, सिद्धान्तभन्दा पनि व्यक्तिको प्रभाव हुने गरेको छ, जसको फाइदा डोल्पामा धनबहादुर बुढाको परिवार र बुढा समुदायले लिँदै आएको छ ।
हरेकजसो दलमा बुढा परिवार र बुढा समुदायकै बाहुल्यता छ । हरेक चुनावमा हार्ने र जित्ने पनि यही समुदायका व्यक्ति हुन्छन् ।
डोल्पाका राजनीतिकर्मीहरूका अनुसार बुढा परिवार विगतदेखि नै व्यापारमा संलग्न छ । कर्णबहादुर प्रायः काठमाडौँमै बस्थे भने धनबहादुर जिल्लामै बसेर व्यापार गर्नुका साथै निर्माण व्यवसायमा पनि संलग्न छन् ।
सोही कारण नेकपा एमालेले ०७० को चुनावमा राप्रपामा रहेका धनबहादुरलाई पार्टी प्रवेश गराएर टिकट थमायो ।
निर्वाचनभन्दा केही समय अघिमात्रै उनी एमाले प्रवेश गरेका थिए । ०७० को चुनावमा एमालेबाट चुनाव लडेका उनले ६ हजार ९६७ मत ल्याएर निर्वाचित हुँदा माओवादीकी सत्या पहाडीले २ हजार ७७४ मत पाइन् ।
०७४ मा धनबहादुर पुनः वामगठबन्धनका साझा उम्मेदवार बन्दा ११ हजार ७६१ मतसहित निर्वाचित भए, कांग्रेसका अङ्गतबहादुर बुढा पराजित भए । उनी केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा पर्यटन राज्यमन्त्री पनि बने । उनी एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागे ।
०७९ मा एकीकृत समाजवादीबाट चुनाव लडेका उनले माओवादी र कांग्रेसको साथ पाउँदा ११ हजार २९२ मतसहित निर्वाचित भए । एमालेका गणेशबहादुर शाहीले ५ हजार ५०५ मत पाए ।
धनबहादुरलाई अहिले डोल्पाको राजनीतिका चतुर खेलाडी भनेर चिनिन्छ । नेकपाले धनबहादुर बुढालाई नै अघि सार्नुका पछाडि उनले आफ्नो सिट सुरक्षित गर्छन् भनेर नै हो र उनले जिते पनि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण