५ बलमा ५ विकेट लिँदै ब्रेट रेन्डेलले रचे इतिहास
सारांश
- न्यूजील्याण्डका बलर ब्रेट रेन्डेलले प्रथम श्रेणी क्रिकेटमा लगातार ५ बलमा ५ विकेट लिने विश्व कीर्तिमान बनाए।
- रेन्डेलले नदर्न डिस्ट्रिक्ट्सविरुद्धको खेलमा ह्याट्रिकसहित ८ बलमा ६ विकेट लिए, जसमा उनको उत्कृष्ट बलिङ प्रदर्शन रह्यो।
- सेन्ट्रल डिस्ट्रिक्ट्सका मुख्य बलर घाइते भएपछि मौका पाएका रेन्डेलले ऐतिहासिक सफलता हासिल गरे।
नेपियर । प्रथम श्रेणी क्रिकेटको इतिहासमा न्युजिल्याण्डका तीव्र गतिका बलर ब्रेट रेन्डेलले अपत्यारिलो विश्व कीर्तिमान कायम गरेका छन्। न्युजिल्याण्डको घरेलु प्रतियोगिता प्लङ्केट शिल्ड अन्तर्गत नदर्न डिस्ट्रिक्ट्सविरुद्धको खेलमा सेन्ट्रल डिस्ट्रिक्ट्सबाट खेल्दै रेन्डेलले लगातार ५ बलमा ५ विकेट लिएर इतिहास रचेका हुन्।
आइतबार नेपियरमा भएको खेलको दोस्रो दिन रेन्डेलको बलिङ स्पेल विपक्षी टोलीका लागि काल बन्यो। एक समय कुनै पनि विकेट नगुमाई ४ रन जोडेको नदर्न डिस्ट्रिक्ट्स रेन्डेलको पाँच बलभित्रै ९ रनमा ५ विकेट गुमाउने अवस्थामा पुग्यो। यो सफलतासँगै रेन्डेल प्रथम श्रेणी क्रिकेटमा लगातार ५ बलमा ५ विकेट लिने विश्वकै पहिलो बलर बनेका छन्।
- यसरी बन्यो दुर्लभ कीर्तिमान
रेन्डेलले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा ओपनर हेनरी कपुरलाई क्लिन बोल्ड गर्दै विकेटको खाता खोलेका थिए। त्यसपछि आफ्नो अर्को ओभरको पहिलो बलमै जीत रावलको स्टम्प उडाए।
दोस्रो बलमा जो कार्टरलाई क्याच आउट गराउँदै उनले ह्याट्रिक पूरा गरे। लगत्तै तेस्रो बलमा रोबर्ट ओडोनेललाई स्लिपमा क्याच गराएर ४ बलमा ४ विकेट लिएका उनले चौथो बलमा क्रिस्टियन क्लार्कलाई बोल्ड गर्दै ५ बलमा ५ विकेटको ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाए।
त्यतिमा मात्र रेन्डेल रोकिएनन्। उनले ८ बलको अन्तरालमा ६ विकेट लिएर अर्को एउटा कीर्तिमान समेत थपे। खेलको २.४ ओभर बलिङ गर्दासम्म उनको फिगर पत्याउनै नसकिने ५ विकेट मात्र २ रन थियो।
उनले ११ ओभरमा २५ रन खर्चेर ७ विकेट लिए, जुन उनको करियरकै उत्कृष्ट प्रदर्शन हो। उनको घातक बलिङका कारण नदर्न डिस्ट्रिक्ट्स पहिलो इनिङ्समा मात्र ८२ रनमा समेटियो।
- भाग्यले जुराएको अवसर र सफलता
अचम्मको कुरा त के छ भने, यदि सेन्ट्रल डिस्ट्रिक्ट्सका मुख्य बलरहरू एजाज पटेल र ब्लेयर टिकनर घाइते नभएका भए रेन्डेलले यो खेल खेल्ने अवसर पाउने सम्भावना न्यून थियो। टोलीका सिनियर बलरहरू घाइते भएपछि मौका पाएका उनले त्यसलाई सदुपयोग गर्दै विश्व क्रिकेटको ध्यान खिच्न सफल भए।
आफ्नो ऐतिहासिक सफलतापछि प्रतिक्रिया दिँदै रेन्डेलले आफू अझै पनि विश्वास गर्न नसक्ने अवस्थामा रहेको बताए। ‘यो मेरो लागि सपना जस्तै थियो, मलाई थाहा थिएन कि यो विश्वकै पहिलो रेकर्ड हो,’ उनले भने।
टी–२० क्रिकेटमा कर्टिस क्याम्फर र केलिस न्धलोभुले ५ बलमा ५ विकेट लिएको रेकर्ड भए पनि रातो बलको क्रिकेटमा यो उपलब्धि हासिल गर्ने रेन्डेल एक्लो खेलाडी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण