‘मोफसलको अवधारणा भत्किसक्यो, लेखक जहाँ बस्यो त्यही केन्द्र हो’
सारांश
- पाल्पाका शंकरप्रसाद गैरे लामो समयदेखि शिक्षण पेशामा छन् र उनका उपन्यासहरू प्रकाशित छन्।
- गैरेसँगको कुराकानीमा उनले लेखनको प्रेरणा, पुस्तक रोजाइ, र साहित्यिक कर्मका चुनौतीबारे बताए।
- उनले पौराणिक पात्रहरूमा लेख्दा न्याय र आफ्नो लेखनको उद्देश्यबारे पनि प्रकाश पारे।
पाल्पाका शङ्करप्रसाद गैरे लामो समयदेखि शिक्षण पेसामा आबद्ध छन् । त्रिभुवन बहुमुखी क्याम्पस (तानसेन)मा उपप्राध्यापक गैरेको २०७४ सालमा ‘उज्यालोतिर’ उपन्यास प्रकाशित छ ।
उनका ‘कृष्ण’ (२०७८) र ‘सूतपुत्र’ (२०८२) उपन्यास पनि प्रकाशित छन् । गजल र समालोचनामा समेत कलम चलाउने गैरेको एउटा गजलसङ्ग्रह र तीनवटा समालोचनाका कृति पनि प्रकाशित छन् । उनै गैरेसित रातोपाटीको ‘नौ प्रश्न’ शृङ्खलाका लागि रमा सुवेदीले गरेको कुराकानीः
१. तपाईं किन लेख्नुहुन्छ र लेख्नका लागि केले प्रेरित गर्छ ?
बडो गम्भीर र रमाइलो प्रश्न गर्नुभयो । यो प्रश्न मेरा निम्ति अलिक अप्ठेरो छ । यसको ठ्याक्कै ठोस कारण भन्न गाह्रो भए पनि म बाल्यकालदेखि नै लेख्नुमा रुचि राख्थेँ । बाख्रा चराउँदा पनि नोटकापीमा केही न केही लेखिरहेको हुन्थेँ । बरु मेरा गुरु डा. चिरञ्जीवी शर्माले मलाई निबन्ध लेख्न प्रेरित गर्नुभयो । त्यसमा साहित्यिक चेत कति थियो, त्यो भने भन्न सकिँदैन । मेरो नियतिमै लेखक बन्नु थियो सायद । त्यसैले वातावरण अनुकूल/प्रतिकूल जस्तो भए पनि लेख्न थालेँ ।
तपाईंको प्रश्नको दोस्रो भाग, मलाई केले लेख्न प्रेरित गर्यो भन्दा त्यो पनि ठ्याक्कै भन्न सक्दिनँ । थोरै स्वान्तसुखायका लागि लेखियो होला । यश वा कीर्तिको लोभ होला । धेरथोर अर्थोपार्जनको लोभ होला । तर मूलतः मैले समाजमा मेरो दृष्टिकोण पस्कनका लागि नै लेख्ने हो ।
२. तपाईंको रोजाइमा के-कस्ता पुस्तक पर्छन् त ?
पठनका लागि मेरो कुनै निश्चित रोजाइ छैन । हातमा जुन किताब पर्यो त्यही पढ्छु । साहित्यको विद्यार्थी र शिक्षक भएकाले स्वाभाविक रूपमा म साहित्यका कृति बढी पढ्छु । पछिल्लो समयमा आख्यान नै बढी पढिरहेको छु । यसका साथै पूर्वीय वाङ्मयका कृतिहरूमा बढी रुचि जाग्दै गएको छ ।
३. राजधानीबाहिर मोफसलमा बसेर साहित्यिक कर्म गर्दै गर्दा कस्ता अप्ठ्यारा भोग्नुपरेको छ ?
‘मोफसल’ शब्दले वहन गर्ने परिवेशलाई के तपाईं स्वीकार गर्नुहुन्छ ? यहाँ त मोफसल नै छैन । मोफसल भत्किसक्यो । लेखक जहाँ बस्यो केन्द्र त्यही नै हो । स्वाभाविक रूपमा काठमाडौंभित्र र बाहिर बस्ने लेखकका लागि समान परिवेश छैन । काठमाडौंबाहिर पनि ठुला सहरमा बस्ने र साना गाउँ–बस्ती र सदरमुकाममा बस्नेहरूबीच समान परिवेश छैन ।
मलाई के लाग्छ भने वर्तमान अवस्थामा जति दूरदराजमा बसेर साहित्यिक कर्म गर्यो, लेखकलाई उठ्न र अवसर प्राप्त गर्न त्यति नै अप्ठेरो छ । तर स्थापित लेखक जहाँ बस्यो त्यही केन्द्र हो । म जहाँ बसेर साहित्य साधना गरिरहेको छु, मैले त्यहीँ सङ्घर्ष गर्नुपरेको छ ।
४. तपाईं आफ्ना उपन्यासहरूमा सधैँ पौराणिक पात्रलाई नायकका रूपमा अघि सार्नुहुन्छ, त्यसको खास कारण के हो ?
म पौराणिक पात्रलाई मात्र समाउँछु भन्नु पूर्ण सत्य होइन । यतिचाहिँ सत्य हो कि हालसम्म लेखकका रूपमा मेरो जुन परिचय छ, त्यो पौराणिक पात्रमाथिका कृतिबाट अधिक भएको हो । मैले माथि पनि भनेँ, मेरो लिखित पहिलो उपन्यास ‘माइतघरको पुनर्निर्माण’ थियो, जो प्रकाशित हुन सकेन । मेरो पहिलो प्रकाशित उपन्यास ‘उज्यालोतिर’ हो । त्यो आफैँमा सामाजिक विषयमाथि लेखिएको छ ।
हो, मैले पछिल्लो समय लगातार दुई उपन्यास पौराणिक विषयमा आधारित भएर लेखेँ । त्यो पनि महाभारतमै केन्द्रित रहेर । सम्भवतः अब पनि लामो आकारको आख्यान पौराणिक विषयमै लेख्छु होला । म यतातिर किन आकर्षित भएँ भन्ने विषयमा ‘कृष्ण’ उपन्यासको भूमिकामा लेखेको छु । जे होस्, मलाई पौराणिक विषयमा कलम चलाउन पाउँदा आनन्द लागिरहेको छ ।
५. मिथकका पात्रमाथि लेख्दा कत्तिको न्याय हुन्छ ? पौराणिक पात्रहरूमाथि लेख्दाका केही अप्ठ्यारा पो छन् कि ?
'मिथकीय पात्रमाथि लेख्दा कत्तिको न्याय हुन्छ ?' भन्ने प्रश्न आफैँमा अमूर्त भयो । न्याय कुन अवस्थालाई मान्ने ? धरावासीले ‘राधा’ लेख्दै गर्दा कृष्णलाई खलपात्र बनाए । कुमार भट्टराईले ‘अश्वत्थामा’ उपन्यासमा कृष्ण र पाण्डवहरूलाई खल र कौरवहरूलाई सत्पात्र बनाए । कृष्ण तथा पाण्डवहरूलाई पुराण र अत्यधिक आधुनिक लेखनमा सत् र कौरवहरूलाई खल बनाइएको पाइन्छ । यसमा केलाई न्याय र अन्याय मान्ने ?
तपाईंको प्रश्नको आशय पात्रको जीवनलाई कति पूर्णता दिन सक्यो भन्ने हुन सक्छ । ‘कृष्ण’ पढेपछि पाठकहरूमध्ये केहीले, ‘तपाईंले अलि बढी नै विस्तार गर्नुभएछ’ भन्ने प्रतिक्रिया दिनुभयो । र, कतिले ‘कृष्णका विषयमा अझ बढी लेखिदिएको भए हुन्थ्यो’ पनि भन्नुभयो । त्यसकारण मलाई लाग्छ, लेखकले आफूले उठाएको विषय वा समस्यामाथि न्याय गर्ने प्रयास गर्ने हो । अझ स्पष्ट रूपमा म के भन्न चाहन्छु भने पाठकको चित्त बुझ्यो भने लेखकले पात्र वा विषयमाथि न्याय गरेको ठहर्छ र यदि पाठकको चित्त बुझेन भने न्याय गरेको ठहर्दैन ।
कुनै पनि विषयमा सबै पाठकको समान प्रतिक्रिया रहँदैन । इतिहास लेखनमा त त्यस्तो अपेक्षा गर्न सकिँदैन भने साहित्यमा त झन् सम्भव हुने कुरै भएन ।
‘कर्ण’ लेख्दै गर्दा मैले महसुस गरेको सबैभन्दा अप्ठेरो के हो भने महाभारतकै विषयमा लेखिसकेपछि 'सूतपुत्र' लेख्दै गर्दा विषयको पुनरावृत्ति हुने र पाठकबाट एउटै विषय दोहोर्याइयो भन्ने आरोप लाग्ने हो कि भन्ने थियो । म उपन्यास लेख्दै थिएँ, त्यसैले यसमा औपन्यासिकता नभएर पुराणको कथा वाचन हुने हो कि भन्ने जटिलता पनि थियो । तर, त्यस्तो केही भएन ।
६. नेपाली साहित्यमा आफूलाई झक्झकाएको कम्तीमा कुनै एउटा साहित्यिक कृतिलाई सम्झनुपर्यो भने तपाईं कुन सम्झनुहुन्छ ?
मलाई साह्रै मन पर्नेमा विश्वेश्वरप्रसाद कोइरालाका कृतिहरू र ध्रुवचन्द्र गौतमका उपन्यासहरू हुन् । ध्रुवचन्द्र गौतमको सामान्य विषयलाई पनि चमत्कारपूर्ण ढङ्गले प्रस्तुत गर्ने कला मलाई ज्यादै लोभ लाग्छ । त्यस्तै इन्द्रबहादुर राईको भाषिक आञ्चलिकता विशेष मन पर्छ ।
७. पछिल्लो समय नेपालको साहित्यिक बजार कस्तो पाउनुहुन्छ ?
कोरोनापूर्व एकपटक साहित्यको बजार ज्यादै राम्रोसँग उठेको थियो । कोरोनाले नराम्रोसँग थला पार्यो । नेपाली साहित्यको पछिल्लो पठनसंस्कृतिलाई हेर्दा दीर्घ रोगको सङ्क्रमणबाट विस्तारै उठेको बिरामीजस्तो लाग्छ । नेपाली साहित्यमै कलम चलाएर आत्मनिर्भर भएका लेखकहरूलाई दुई सङ्ख्याको अङ्कमा पनि गन्न सकिँदैन ।
८. तपाईं आफ्नो लेखनलाई खास उद्देश्यका लागि लेखिएको ठान्नुहुन्छ वा अरू नै केही ?
लेखक/साहित्यकारहरू निश्चित उद्देश्यका लागि लेख्छन् भन्ने मैले पनि सुनेको छु । मलाई लाग्छ, निश्चित उद्देश्यले लेख्नेहरू कुनै निश्चित प्रवृत्ति वा वादलाई पछ्याउँछन् । म कुनै निश्चित वाद, सिद्धान्त वा प्रवृत्तिमा बाँधिएर लेखिरहेको छैन । मैले कुनै निश्चित कृति लेख्दा निश्चित उद्देश्य निर्धारण गर्छु । यतिसम्म कि म पछिल्लो समय लेखिरहेको कथामा पनि अलग–अलग उद्देश्यले कलम चलाएको छु ।
'कृष्ण' लेख्दै गर्दा पुराण वर्णित कथा र त्यसमा उपस्थित पात्रहरूको देवत्व र दानवत्वलाई मानवीकरण गर्ने मेरो प्रयत्न थियो, प्रेमको उच्चता र मित्रताको महत्तालाई प्रस्तुत गर्ने लक्ष्य थियो । 'सूतपुत्र' लेख्दै गर्दा मेरो प्रयत्न पौराणिक विषयका जातीय विभेदको माध्यमबाट वर्तमान अवस्थामा देखिएको विभेदको स्वरूपलाई प्रस्तुत गर्दै त्यसप्रति आलोच्य दृष्टिकोण प्रस्तुत गर्नु उद्देश्य थियो । तसर्थ हरेक रचनाका क्रममा भिन्न–भिन्न उद्देश्य निर्धारण भइरहेका छन् ।
९. कर्णलाई मूल केन्द्रमा राखेर तपाईंले ‘सूतपुत्र’ लेख्नुभयो, कर्णका बारेमा त धेरै नै लेखिएको छ फेरि किन त ?
पुनर्निर्माणका लागि पूर्वीय वाङ्मयमा सबैभन्दा धेरै सम्भावना भएका पात्रहरू र विषय महाभारतको कथामै छ भन्ने लाग्छ । कर्णमाथि नेपाली वाङ्मयमा राजेश्वर देवकोटा र नवराज लम्सालले लेखेका कृतिहरू अत्यधिक चर्चित छन् । भारतीय साहित्यमा त कर्णमाथि यति धेरै लेखिएको छ कि आश्चर्य लाग्छ । त्यसकारण यस विषयमा म के भन्न चाहन्छु भने लेख्नका लागि लेखकले कुन पात्र चयन गर्यो, कुन विषय चयन गर्यो, यो आफैँमा महत्त्वपूर्ण हुँदैन । महत्त्वपूर्ण के हुन्छ भने लेखकले त्यसबाट नयाँ दृष्टिकोण के प्रस्तुत गर्न सक्यो ?
म जुन विषयमा लेख्न चाहन्थेँ वा आफ्नो कृतिका माध्यमबाट जे भन्न चाहन्थेँ, त्यसका लागि मलाई सर्वाधिक उपयुक्त पात्र कर्ण नै लागेर उनीमाथि लेखेको हो । म यहाँ थप के भन्न चाहन्छु भने 'सूतपुत्र' उपन्यासको केन्द्रीय पात्र कर्ण भए पनि यसमा यति धेरै मौलिकता छ कि पाठकले महाभारत, पुराण वा अन्य कुनै प्राचीन कृति पढेर त्यो कुरा पाउनुहुने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण