बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: भीआईपी धम्क्याउन २ करोड ‘सुपारी’, खाडीमा रहेका ७२ हजार नेपालीले स्वदेश फर्किन टिपाए विवरण

मङ्गलबार, ०३ चैत २०८२, ०० : ००
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • अख्तियार प्रमुखलाई धम्क्याउने व्यक्ति पक्राउ, २ करोड फिरौती लिएको स्वीकार।
  • समानुपातिक सांसदको सूची सार्वजनिक, तर नातावादको गुनासो यथावत।
  • एनआरएनएको १२औं विश्व सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. भीआईपीलाई धम्क्याउन २ करोड

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित भीआईपी (हाइप्रोफाइल)लाई धम्क्याउने प्रकाश पाठक यतिबेला प्रहरीको हिरासतमा छन् । उनले भीआईपीलाई धम्क्याउनकै लागि नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग २ करोड रुपैयाँ लिएको पाठकले स्वीकार गरेका छन् ।

२. समानुपातिकतर्फ सांसदको सूची टुङ्गियो

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सांसदको सूची टुङ्गो लागेको छ । निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फबाट निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको हो ।

३.  समानुपातिकतर्फ यस पटक पनि देखियो नातावाद

प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ दलहरूले यस पटक पनि नातावादको नमुना प्रदर्शन गरेका छन् । समानुपातिक प्रणालीलाई दलका शीर्ष नेताको नातागोता, आफन्त समेट्न प्रयोग हुँदै आएको भन्दै यसअघि चर्को आलोचना हुँदै आएको थियो । यद्यपि, अहिले पनि त्यस्ता केही नमुना देखा परेका छन् ।

४. विवादित पात्र नै किन रुचाइन् प्रधानमन्त्रीले ?

प्रधानमन्त्री सुशीला कार्कीले प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्श श्रेष्ठलाई नियुक्त गरेको विषय विवादमा तानिएको छ । श्रेष्ठ विगतदेखि नै विभिन्न विवादमा तानिएका भए पनि प्रधानमन्त्रीको रोजाइमा उनी नै परेका हुन् ।

५. एनआरएनएको १२औँ विश्व सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन १२ बुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको छ ।

६.एन्फाको निर्णयविरुद्ध ‘ए’ डिभिजन क्लब आन्दोलित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि एकतर्फी र मनोमानी ढंगबाट निर्णय गरेको भन्दै क्लबहरू आन्दोलित भएका छन् ।

७. कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी

जेनजी मुभमेन्ट अलायन्सले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्ति खारेज गर्न माग गर्दै कालोपट्टी बाँधेर सोमबार प्रदर्शन गरेको छ ।

८. उपभोक्ता अदालतको एक वर्ष 

नेपालमा उपभोक्ताको हक, अधिकार र हितको संरक्षण गर्ने विशेष उद्देश्यले स्थापना गरिएको उपभोक्ता अदालतले एक वर्ष पूरा गरेको छ । यस अवधिमा अदालतमा विभिन्न क्षेत्रका गरी कुल ४१ वटा मुद्दा दर्ता भएका छन् । अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार दर्ता भएका मुद्दाहरूको प्रकृति हेर्दा नेपाली बजारमा ‘चिकित्सकीय लापरबाही’ (मेडिकल नेग्लिजेन्स) सँग सम्बन्धित समस्याहरू धेरै रहेका छन् ।

९. खाडीमा रहेका ७२ हजार नेपालीले स्वदेश फर्किन टिपाए विवरण

पश्चिम एसियामा जारी तनावका कारण ७२ हजारभन्दा बढी नेपालीले स्वदेश फर्किन आफ्नो विवरण टिपाएका छन् । 

१०. संसद्मा युवाहरुकाे सहभागिता 

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट संसदमा युवाहरूको सहभागिता सानदार देखिएको छ । प्रत्यक्ष र समानुपातिक तर्फसमेत गरेर कुल १०० भन्दा बढी युवा निर्वाचित भएका हुन् । 

११. राजदूतको जिम्मेवारीबाट फिर्ता बोलाइएकाहरू हाजिरकै भरमा खाइरहेछन् तलब

सरकारले विभिन्न देशबाट फिर्ता बोलाएका नेपाली राजदूतलाई मन्त्रालयमा राखेर हाजिर गराए पनि काम दिएको छैन । परिणामस्वरुप उनीहरू मन्त्रालयमा आएर हाजिर गर्ने र कामविना नै तलब बुझ्ने गरिरहेका हुन् ।

१२. संसदीय राजनीतिबाट विश्राम लिए सीके राउतले

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट विश्राम लिएको घोषणा गरेका छन् । उनले अब उप्रान्त निर्वाचनमा उम्मेदवार नबन्ने र पदको राजनीतिमा नरहने प्रस्ट पारेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप