कर्णालीमा एमाले गणतन्त्र स्थापना यताकै कमजोर अवस्थामा खुम्चियो
सारांश
- कर्णालीमा एमालेले गणतन्त्र स्थापनापछिकै कमजोर नतिजा ल्यायो, प्रत्यक्षतर्फ दैलेख-२ बाहेक अरु कुनै क्षेत्रमा जित हासिल गर्न सकेन।
- ०७९ को चुनावमा माओवादी-कांग्रेस गठबन्धन हुँदा एमाले प्रत्यक्षतर्फ शून्यमा सीमित बन्यो, तर समानुपातिकमा भने पहिलो दल बन्यो।
- एमाले नेताहरूले पार्टी विभाजन, रास्वपाको उदय र पार्टीभित्रको व्यक्तिवादी चरित्रलाई कमजोर नतिजाका कारण मानेका छन्।
सुर्खेत । ०५६ सालको निर्वाचनपछि कर्णालीमा एउटा नारा चर्चित थियो– कर्णालीका जिल्ला, एमालेको किल्ला । उक्त चुनावमा साविक कर्णाली क्षेत्रका ५ वटै जिल्लामा नेकपा एमालेले चुनाव जितेको थियो । त्यही अवसरमा एमाले नेता–कार्यकर्ताले यो नारा घन्काएका थिए ।
त्यसअघि कर्णालीका नेमकिपा र कांग्रेसबिच चुनावी प्रतिस्पर्धा हुन्थ्यो । ०५१ सालको चुनावपछि नेमकिपाका अधिकांश नेता–कार्यकर्ता एमालेमा समाहित भएसँगै एमाले बलियो राजनीतिक दलका रूपमा उदाएको थियो ।
हाल कर्णाली प्रदेशमा रहेका विभिन्न जिल्लामा प्रायः २–३ वटा निर्वाचन क्षेत्र थिए । दैलेख–१ मा नरबहादुर हमाल, जाजरकोट–२ मा रत्न शर्माहरूले एमालेबाट चुनाव जितेका थिए भने सल्यानमा प्रकाश ज्वालाले पनि ०५६ मा जितेका थिए ।
सशस्त्र युद्धको रापतापबाट आएको माओवादी ०६४ को चुनावमा बलियो शक्तिको रूपमा उदायो । तथापि दैलेख–२, सुर्खेत–१, सुर्खेत–२ मा एमालेले जित निकालेको थियो ।
०७० को चुनावमा दैलेखका २ वटै क्षेत्र, डोल्पा, मुगु, सल्यान–२ मा एमालेले एक्लाएक्लै चुनावी प्रतिस्पर्धाबाट जित निकालेको थियो । त्यसपछिका चुनावमा गठबन्धन भए । ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेले माओवादीसँग गठबन्धन गर्दा कर्णालीमा ६ सिट जितेको थियो ।
०७९ को चुनावमा माओवादी–कांग्रेसबिच गठबन्धन हुँदा एमाले प्रत्यक्षतर्फ शून्यमा सीमित बन्यो । यद्यपि लोकप्रिय मतका आधारमा समानुपातिकमा पहिलो दल बनेको थियो ।
यो पटकको प्रतिनिधि सभा चुनावमा भने एमालेले कर्णालीमा निकै कमजोर प्रदर्शन गरेको छ । नेताहरूका अनुसार, गणतन्त्र स्थापनापछि कर्णालीमा एमाले सबैभन्दा कमजोर भएको चुनाव यही हो ।
प्रत्यक्षतर्फ दैलेख–२ बाहेक एमालेले कुनै पनि क्षेत्र जित्न सकेन । एमाले प्रदेशको आन्तरिक रिपोर्टिङ अनुसार सुर्खेत, दैलेख र सल्यानलाई चुनाव जित्ने क्षेत्रमा राखिएको थियो । कारण, ०७९ मा प्रत्यक्षमा नजिते पनि समानुपातिक मत यहाँ अन्य दलको तुलनामा एमालेको बढी थियो । तर, सुर्खेत–२ मा रास्वपाले चुनाव जित्दा एमाले तेस्रो भयो भने सल्यानमा चौथो स्थानमा मत पायो ।
अघिल्लो निर्वाचनमा एमाले पराजित नै भए पनि दुई नम्बरका लागि प्रतिस्पर्धा गर्दै आएकोमा यो पटक एमालेका किल्ला नै मानिएका क्षेत्रमा पनि तेस्रो र चौथो नम्बरमा रह्यो ।
०७९ को निर्वाचनपछि एमाले नेता यामलाल कँडेल भन्थे– प्रत्यक्षमा दुई ठुला दल मिल्दा कमजोर देखिए पनि लोकप्रिय मतका आधारमा हामी कर्णालीमा पहिलो दल हो ।
उनले भनेजस्तै उक्त चुनावमा एमालेले कर्णालीमा १ लाख ८३ हजार १३० मतसहित पहिलो दल बनेको थियो । यद्यपि यो पटक एमालेले न प्रत्यक्षमा राम्रो नतिजा ल्याउन सक्यो, न त समानुपातिकमा नै ।
कर्णाली परम्परागत राजनीतिक दलको थलो हो । नेपाली कांग्रेसले प्रत्यक्षमा ५ सिट सुरक्षित ग¥यो भने समानुपातिक मत सबैभन्दा धेरै १ लाख ४१ हजारभन्दा धेरै ल्याउँदा उसको प्रतिस्पर्धी दल एमाले १ लाख २० हजार ८६३ समानुपातिक मतसहित तेस्रो स्थानमा खुम्चियो ।
एक्लाएक्लै चुनावी मैदानमा गएको अवस्थामा पनि एमाले पाएको मत अपेक्षित नभएको बताउँछन् एमालेका एक प्रदेशस्तरीय नेता । ‘हामीलाई यो पटक निकै ठुलो क्षति भयो, अपेक्षा गरेका क्षेत्रमा पनि राम्रो मत आएन,’ ती नेताले भने, ‘विगतमा एमालेको आन्तरिक राजनीतिमा कर्णालीको उपस्थिति नभएको, संसदीय राजनीतिमा पनि केन्द्रमा मन्त्री बनाउनेदेखि हरेक संवैधानिक कुरामा उपेक्षा गरिएको थियो । तर, यो पटक पार्टीभित्र पनि केन्द्रीय सचिव पाएका छौँ, प्रदेश सरकारको नेतृत्व हाम्रै छ । धेरैजसो स्थानीय तहको नेतृत्वमा पनि हाम्रै साथीहरू हुनुहुन्छ, तर पनि हामीले अपेक्षा गरे अनुसार मत पाएनौँ ।’
उनका बुझाइमा, यो पटक एमाले कर्णाली गणतन्त्र स्थापना यताकै कमजोर अवस्थामा पुगेको छ । बरु यो पटक एमालेलाई नयाँ राजनीतिक दल रास्वपाले उछिनेको अवस्था छ । प्रत्यक्ष र समानुपातिक सांसदको संख्या बराबर (२÷२) भए पनि प्राप्त मतका आधारमा रास्वपा एमालेभन्दा अघि छ ।
रास्वपाले एमाले र नेकपालाई उछिन्दै दोस्रो नम्बरमा १ लाख ३३ हजार ७४९ समानुपातिक मत प्राप्त गरेको छ । विभिन्न कम्युनिस्ट घटक मिल्दा पनि नेकपाले कर्णालीमा प्रत्यक्षतर्फ ४ सिट जित्न सक्यो भने समानुपातिक मतमा चौथो नम्बरमा रह्यो ।
तर, कर्णालीलाई आफ्नो आधार क्षेत्र मान्ने नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक स्थान यो पटक चौथोमा सीमित बनेको छ । नेकपाले १ लाख ७ हजार १०१ समानुपातिक मत पाएको छ । कर्णालीमा यो पटकको चुनाव कांग्रेसका लागि फाइदाजनक भयो भने एमाले र नेकपाका लागि चुनौती बनेको विश्लेषण पार्टीहरूले गरेका छन् ।
- कर्णालीमा एमाले किन खुम्चियो ?
जाजरकोट, कालिकोट, जुम्ला र हुम्ला र रुकुम पश्चिममा एमालेले ०५६ पछि चुनाव जितेको छैन । तर ०६४ मा माओवादीको रापताप रहँदा पनि दैलेख, सुर्खेतजस्ता ठाउँमा एमाले चुनाव जित्यो ।
दैलेख एमालेको किल्लाजस्तै छ । दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा एमाले–कांग्रेसबिच चुनावी प्रतिस्पर्धा हुने गरेको छ भने माओवादी यी दुई दलको तुलनामा निकै कमजोर थियो । यद्यपि यो पटक दैलेख–१ मा कांग्रेसले चुनाव जित्यो । समानुपातिकमा यहाँ रास्वपाको मत धेरै छ ।
सबै क्षेत्रमा एमालेले प्राप्त गरेको मत अनपेक्षित हो । एमाले प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाईका अनुसार, ११औँ महाधिवेशन अघि प्रदेशमा एमालेको संगठित सदस्य संख्या ५२ हजार बढी थियो ।
अहिले ४८ हजारमा झरेको छ । सांगठनिक रूपमा एमाले बलियो नै शक्ति हो । तर, नतिजा सोचेजस्तो आएन ।
‘चुनावको नतिजाबारे अहिले जिल्ला–जिल्लामा समीक्षा भइरहेको छ, जिल्लाबाट आएको समीक्षाबारे प्रदेशमा पनि समीक्षा होला,’ पछाईले रातोपाटीसँग भने, ‘त्यसपछि कारणहरू पत्ता लाग्ला ।’
एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाह आफैँ सल्यानमा उम्मेदवार थिए । उनले चौथो स्थानमा मत पाए । उनले कर्णालीमा एमाले कमजोर हुनुका पछाडि एमाले विभाजनको असर, सबै शक्तिहरू एमालेविरुद्ध लाग्नु, रास्वपाप्रति देखिएको जनलहर लगायतलाई कारण देखाए ।
तर, एमाले विभाजन ०७८ मा भएको थियो भने ०७९ मा त्यसका बाबजुद पनि यहाँ एमालेले लोकप्रिय मत ल्याएको थियो । ‘हामीले विगत एक दशकभित्र मेची–महाकाली अभियानदेखि थुप्रै पार्टी रुपान्तरणका काम पनि ग¥यौँ, जसका कारण माओवादी ठेगान लागिसकेको थियो । कांग्रेस पनि परम्परागत ढंगले प्रगति गर्न सकेको थिएन । त्यसो हुँदा ०७४ मा एमाले सशक्त पार्टी बन्यो,’ शाह भन्छन्, ‘त्यसपछि नेकपा बनियो, विभाजन भयो, खण्डित भयो ।’
त्यसको असर अहिलेको चुनावमा परेको उनले बताए । उनले विभाजन हुँदा पनि ०७९ मा एमालेले लोकप्रिय मत पाउनुको कारण रास्वपाको उदय र प्रवेश कर्णालीमा नहुनुलाई औँल्याए ।
‘०६४ मा माओवादी उदय भयो, ०७९ मा रास्वपाको उदए भए पनि यहाँ प्रवेश भएको थिएन । अहिले सशक्त रूपमा उदायो,’ शाहले भने, ‘रास्वपाको उदय हुँदा एमालेमाथि नै प्रहार भयो, जसका कारण क्षति हामीलाई भयो ।’
एमालेका नेता विनोदकुमार शाहले पार्टी विभाजनको असर अहिले पनि कायमै रहेको बताए । उनले भनेजस्तै सल्यान, डोल्पा, कालिकोट लगायतका जिल्लामा विभाजनको असर छ नै ।
सल्यानमा ०५६/०७० मा एमालेबाट जितेका प्रकाश ज्वाला एकीकृत समाजवादी हुँदै हाल नेकपामा छन् । सल्यानमा कुनै बेला उनी एमालेका शक्तिशाली नेता थिए । कालिकोटमा प्रेमबहादुर सिंह एमालेबाट नै चुनाव लडेर जितेका पुराना नेताहरू अर्कै पार्टीमा छन् । डोल्पामा ०७०/०७४ मा चुनाव जितेका धनबहादुर बुढाहरू पनि नेकपामा छन् । दैलेख–१ मा पनि लामो समय एमाले नेतृत्व गरेका र पटक–पटक एमालेबाट नै चुनाव लडेका अम्मरबहादुर थापा नेकपामा छन् । मुगुमा पटक–पटक एमालेबाट चुनाव लडेर जितेका चन्द्रबहादुर शाही अहिले नेकपामै छन् । जसको प्रत्यक्ष प्रभाव ती जिल्लामा परेको छ ।
हाल कर्णाली सरकारको मन्त्रीसमेत रहेका नेता शाह एमालेभित्र अहिले पार्टीको नीति सिद्धान्तभन्दा पनि व्यक्तिवादी चरित्र हावी हुनु एमाले कमजोर हुनुको अर्को कारण मान्छन् ।
‘पार्टीको अनुशासन कायम नहुने, पार्टीले लिएको नीति कार्यान्वयन गर्न नसकिने अवस्था रह्यो,’ उनले भने, ‘संगठनको विधि र पद्धतिमा नरहेर व्यक्तिवादी हिसाबले कुरा भन्ने र भन्न नहुने ठाउँमा पनि आफ्ना कुराहरू राख्ने प्रवृत्तिले पार्टीप्रति नकारात्मक भावना फैलियो, त्यसको असर पनि रह्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण