बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एसिड आक्रमण प्रकरणमा इन्डोनेसियामा चार सैनिक पक्राउ

बिहीबार, ०५ चैत २०८२, १५ : ५९
बिहीबार, ०५ चैत २०८२

सारांश

  • इन्डोनेसियामा एक अधिकारकर्मीमाथि एसिड प्रहार भएको घटनामा चार सैनिक पक्राउ परेका छन्।
  • आक्रमणमा उनको शरीरको २० प्रतिशतभन्दा बढी भाग जलेको छ र उनले सेनाको राजनीतिक भूमिकाको आलोचना गरेका थिए।
  • घटनापछि देशभर प्रदर्शनहरू भएका छन् र राष्ट्रपतिलाई निष्पक्ष छानबिन गर्न माग गरिएको छ।

जकार्ता । इन्डोनेसियाली अधिकारीहरूले एक अधिकारकर्मीमाथि भएको एसिड आक्रमणमा संलग्न भएको आशंकामा चार जना सैनिकलाई नियन्त्रणमा लिएका छन् । सरकारी अधिकारीहरूका अनुसार ती सैनिकहरू गुप्तचर इकाइसँग सम्बन्धित छन् भने घटनाबारे अनुसन्धान जारी रहेको छ । 

हराइएका व्यक्तिहरूको अनुसन्धान गर्ने प्रतिष्ठित अधिकार संस्था कोन्ट्राससँग आबद्ध अधिकारकर्मी आन्द्रे युनुसमाथि गत हप्ता मोटरसाइकलमा यात्रा गरिरहेका बेला दुई जना अज्ञात व्यक्तिले एसिड प्रहार गरेका थिए । उक्त आक्रमणबाट उनको शरीरको २० प्रतिशतभन्दा बढी भाग जलेको छ । उनको हात, अनुहार, छाती र आँखामा गम्भीर चोट लागेको संस्थाले जनाएको छ ।

घटनापछि उनलाई जकार्तास्थित अस्पतालमा भर्ना गरिएको छ । आक्रमणको केही समयअघि उनले सेनाको बढ्दो राजनीतिक भूमिकाबारे आलोचनात्मक सामग्री समेटिएको पोडकास्ट रेकर्ड गरेका थिए ।

 यस घटनाले देशभर चिन्ता र आक्रोश फैलाएको छ । सप्ताहन्तमा विभिन्न स्थानमा प्रदर्शन हुँदै अधिकारकर्मीप्रति ऐक्यबद्धता जनाइएको थियो । संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । त्यस्तै, कोन्ट्रासले पनि यस घटनालाई आलोचनात्मक आवाज दबाउने प्रयास भनेको छ ।

अधिकारकर्मीहरूले राष्ट्रपति प्राबोवो सुबियान्तोसँग स्वतन्त्र छानबिन समिति गठन गर्न माग गरेका छन् । राष्ट्रपतिले प्रत्यक्ष प्रतिक्रिया नदिए पनि उनका प्रवक्ताले निष्पक्ष, खुला र छिटो अनुसन्धान गर्न निर्देशन दिइएको बताएका छन् । 

आन्द्रे युनुस इन्डोनेसियाको सैनिकसम्बन्धी कानुन संशोधनका कडा आलोचक मानिन्छन्, जसले सरकारमा सैनिकको भूमिका विस्तार गर्ने व्यवस्था गरेको छ । पछिल्ला महिनाहरूमा उनले सरकारविरुद्धका प्रदर्शनमा भएको हिंसात्मक घटनाको पनि अनुसन्धान गर्दै आएका थिए । 

आक्रमणअघि उनले अज्ञात नम्बरबाट धम्कीपूर्ण फोनहरू र अन्य प्रकारका त्रासपूर्ण गतिविधिहरू सामना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप