बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

‘कलाकारिताले मात्रै पेट भरिन्न, बिदेसिनु भन्दा व्यवसाय रोजेँ’

बुधबार, ११ चैत २०८२, ०८ : ०६
बुधबार, ११ चैत २०८२

सारांश

  • अभिनेत्री लक्ष्मी बर्देवाले अभिनय र व्यवसायलाई सँगै अगाडि बढाइरहेकी छिन्।
  • नयाँ फिल्म 'हामी तीन भाइ'मा उनी भाउजूको भूमिकामा देखिदैछिन्, जुन पारिवारिक कथामा आधारित छ।
  • उनले नेपाली फिल्म उद्योगमा ट्रेन्ड फलो गर्ने र बजारिकरणको पुरानो शैलीलाई समस्याको रूपमा औंल्याइन्।

काठमाडौं । लक्ष्मी बर्देवासँग थिएटर र स्क्रिन दुवैको अनुभव छ । अभिनयका लागि उनी जुन माध्यम भए पनि आफ्नो ‘बेस्ट’ दिन्छिन् । रंगमञ्चमा राम्रैसँग अनुभव लिएपछि उनी फिल्म यात्रामा होमिइन् । ‘लुट–२’, ‘बुलबुल’, ‘प्रसाद’, ‘सेल्फी किङ’ फिल्म मार्फत लक्ष्मीले आफ्नो अभिनयको गहिरो छाप छोडिसकेकी छन् ।

केहीअघि प्रदर्शित ‘अभिमन्यु’मा निर्वाह गरेको ‘भिलेन’को भूमिकाले उनलाई अभिनयको अर्को आयाममा पुर्‍याएको छ । जसबाट उनले चौतर्फी प्रशंसा बटुल्न सफल भइन् । लक्ष्मी एक सचेत कलाकारका रूपमा चिनिन्छिन्, जो आफ्नो पात्रको छनोटमा निकै ध्यान दिन्छिन् । कलाकारितासँगै पछिल्लो समय उनी व्यवसायमा पनि सक्रिय छिन् ।

लक्ष्मी अभिनित नयाँ फिल्म ‘हामी तीन भाइ’ आगामी शुक्रबारबाट प्रदर्शन हुँदैछ । फिल्ममा उनी भाउजूको भूमिकामा छिन् । फिल्म र करिअरका विषयमा केन्द्रित रहेर अभिनेत्री लक्ष्मी बर्देवासँग गरिएको कुराकानीको सम्पादित अंश :  

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

अहिले विशेषगरी आफ्नो व्यवसायमा व्यस्त छु । फिल्म अभिनय र व्यवसायसँगै लगिरहेकी छु । साथै, मेरो सानो बाबु छ, उसलाई घरमा समय दिनु मेरो प्राथमिकतामा पर्छ । कलाकारिता, व्यवसाय र घर–व्यवहार सम्हाल्दै दिनहरू बितिरहेका छन् । अहिले अभिनय गरिहाल्नुपर्ने फिल्म छैन । एक-दुई प्रोजेक्टको कुरा भएका थिए । केही प्राविधिक कारणले गर्दा त्यो अहिलेलाई पोस्टपोन्ड (पर सारिएको) छ । म मण्डला थिएटरको ‘बोर्ड’ मा पनि आबद्ध भएकाले त्यहाँ पनि अलिअलि समय दिइरहेकी छु ।

तपाईंको नयाँ फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनको तयारीमा छ, यसको तयारी कस्तो भइरहेको छ ?

हो, फिल्म आगामी शुक्रबार (चैत १३ गते) बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । अहिले म लगायत सबै कलाकार र टिम फिल्मको प्रचारप्रसारमा सक्रिय छौँ । म पनि भ्याएसम्म विभिन्न मिडियामा पुगेर फिल्मको प्रमोसन गरिरहेको छु । पारिवारिक कथा ‘आमी तीन भाई’ एउटा राम्रो फिल्म बनेको छ । व्यवसाय पनि राम्रो गर्नेमा हामी निकै आशावादी छौँ ।

फिल्ममा तपाईंलाई कस्तो चरित्रमा देखिँदै हुनुहुन्छ ?

यो फिल्ममा मेरो चरित्र (भूमिका) निकै सरल छ । मैले अहिलेसम्म गरेका पात्रहरूभन्दा यो अलि फरक र सामान्य छ । म यसमा भाउजूको क्यारेक्टरमा छु । यो पात्र हामीले आफ्नै घर–समाजमा देखेको, भोगेको जस्तो लाग्ने खालको छ । जो कोहीले पनि यो पात्रसँग आफूलाई सजिलै ‘रिलेट’ गर्न सक्छ । एउटा सामाजिक र पारिवारिक परिवेशलाई मेरो चरित्रले न्याय गरेको छ भन्ने लाग्छ ।

Laxmi Bardewa (1)

तपाईं मुख्य र सहायक जुन भएपनि प्राय: हिरोइनकै भूमिकामा देखिँदै आउनुभएको छ । ‘हामी तीन भाइ’मा भाउजूको भूमिका गर्न कसरी तयार हुनुभयो ?

यो पात्र मेरा लागि अभिनयको हिसाबमा पहिलो अनुभव हो । सम्बन्धको हिसाबले मैले पहिलो पटक भाउजूको क्यारेक्टर निर्वाह गरेकी हुँ । मलाई यसको ‘स्टोरी टेलिङ’ मन पर्‍यो । एउटा मिलेर बसेको परिवार सानो कारणले कसरी छुट्टिन्छ र त्यसमा एउटा बुझ्ने मान्छेको भूमिका कस्तो हुन्छ भन्ने यसमा देखाइएको छ । कलाकार भएपछि सधैँ ‘एक्स्ट्रा-अर्डिनरी’ मात्र होइन, समाजसँग नजिक हुने क्यारेक्टर पनि गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

‘हामी तीन भाइ’को कथावस्तु खुलाउन मिल्छ ?

यो तीन दाजुभाइ र उनीहरूको परिवारबिचको कथा हो । गाउँमा मिलेर बसेको एउटा परिवार एउटा सानो महत्वाकांक्षा र सोचको तालमेल नमिल्दा कसरी छिन्नभिन्न हुन्छ भन्ने यसको मूल विषय हो । यो एउटा समसामयिक विषयवस्तुमा आधारित पारिवारिक ड्रामा हो ।

Laxmi Bardewa (5)

तपाईं कहिले नायिका, कहिले भिलेन त कहिले चरित्र अभिनेत्रीको रूपमा देखिनुहुन्छ । यो तपाईंको रोजाइ हो कि संयोग ?

मलाई लाग्छ, एउटा कलाकारले जति धेरै किसिमका क्यारेक्टरहरू निभाउन सक्छ, त्यति नै उसले आफ्नो कलाकारिताको धर्म निर्वाह गरेको ठहरिन्छ । म सधैँ एउटै ‘स्टेरियोटाइप’ भूमिकामा बाँधिन चाहन्नँ । एउटै खालको भूमिका मात्र गरिरहँदा कलाकारको करिअर पनि सीमित हुन्छ । मलाई फरक–फरक क्यारेक्टरमा काम गर्न मन लाग्छ । मेरो लागि भूमिका ठुलो वा सानो भन्दा पनि पात्रले कथामा पार्ने प्रभाव महत्वपूर्ण हुन्छ । निर्देशक र लेखकको भिजनअनुसार काम गर्नु नै मेरो धर्म हो ।

पछिल्लो समय नेपाली फिल्मको व्यापार कमजोर देखिएको छ, यसलाई कसरी हेर्नुहुन्छ ?

अहिले नेपाली फिल्म इन्डस्ट्रीमा एउटा ठुलो समस्या भनेको ट्रेन्ड फलो गर्ने चलन हो । जे चल्छ, त्यस्तै मात्र बनाउने सोचले गर्दा नयाँपन हराउँदै गएको छ । हामीले दर्शकलाई नयाँ जनरा र नयाँ स्वाद दिन सकिरहेका छैनौँ । साथै, हाम्रो मार्केटिङ स्ट्रयाटेजी पनि निकै पुरानो छ । हलमा नचल्ने फिल्म युट्युबमा किन चल्छ ? यसको अर्थ दर्शकले कन्टेन्ट त मन पराएका छन् । तर हलसम्म पुग्ने माहोल बनेको छैन ।

देशको राजनीतिक अस्थिरताले पनि मनोरञ्जन क्षेत्रलाई प्रत्यक्ष असर पारेको छ । मान्छेले आफ्नो आधारभूत आवश्यकता पूरा भएपछि मात्र फिल्म हेर्न जाने हो । हाम्रो कमजोरी भनेको दर्शकको चाहना र फिल्मलाई सही मार्केटसम्म पुर्‍याउन नसक्नु नै हो ।

कतिपयले त निर्माता–निर्देशकहरू इमानदार नभएका कारण फिल्म नराम्रो बनेको भन्छन् नि ?

मलाई त्यस्तो लाग्दैन । लगानी गरिसकेपछि कसैले पनि नराम्रो फिल्म बनाउँछु भनेर त सोच्दैन । तर समस्या कहाँ छ भने हाम्रो चेन अफ कमान्ड मिल्दैन । हामीले अझै पनि फिल्म इन्डस्ट्रीलाई व्यावसायिक इन्डस्ट्रीकै रूपमा विकास गर्न सकेका छैनौँ । धेरैजसो मान्छेहरू व्यक्तिगत इच्छाशक्तिले मात्र चलिरहेका छन् । सरकारबाट पनि ठोस सहयोग छैन । ग्राउन्ड लेभलमा पुगेर काम गर्ने र टार्गेटेड अडियन्स चिन्ने कुरामा हामी अझै पनि चुकेका छौँ ।

तपाईं थिएटरबाट फिल्ममा आउनुभयो, अहिले चलेका नायिकाहरू धमाधम थिएटर (रङ्गमञ्च)तिर फर्किरहेका छन्, किन ?

यो निकै सकारात्मक कुरा हो । कला क्षेत्रमा कुनै सीमा हुँदैन । थिएटरको मान्छे फिल्ममा जानु र फिल्मको मान्छे थिएटरमा आउनुले कलाकारितालाई नै बलियो बनाउँछ । तर थिएटर आउनुको मोटिभ (उद्देश्य) चाहिँ स्पष्ट  हुनुपर्छ । कोही मास अडियन्सका लागि फिल्म जान्छन् भने कोही सिक्नका लागि थिएटर आउँछन् । कलाकारले क्यामेराको टेक्निक्यालिटी र थिएटरको जीवन्त अभिनय दुवै बुझ्न जरुरी छ । दयाहाङ राई, सौगात मल्ल जस्ता दिग्गज कलाकारहरू थिएटरबाटै आएका कारण पनि नयाँ पुस्तामा रङ्गमञ्चप्रति आकर्षण र सम्मान बढेको हो ।

Laxmi Bardewa (2)

अभिनयसँगै व्यवसायमा पनि लाग्नुभएको छ । के कलाकारिताबाट बिस्तारै दूरी बनाउन लागेको त होइन ?

कलाकारिता मेरो रगतमै छ, कहिल्यै छोड्न सक्दिन । तर कलाकारिता मात्र गरेर बाँच्न अहिलेको अवस्थामा गाह्रो छ । धेरै कलाकार बाध्य भएर विदेश पलायन भइरहेका छन् । मलाई चाहिँ आफ्नै देशमा बसेर केही गर्न मन छ । त्यसैले कलाकारितालाई निरन्तरता दिँदै व्यवसाय पनि सुरू गरेकी हुँ ।

व्यवसायले मलाई आर्थिक रूपमा स्वतन्त्र बनाउँछ, जसले गर्दा मलाई नराम्रो स्क्रिप्टमा सम्झौता गरेर काम गर्नुपर्ने बाध्यता रहँदैन । म फुर्सदको समयमा व्यवसाय सम्हाल्छु र राम्रो प्रोजेक्ट आउँदा अभिनय गर्छु । कलाकारले आफ्नो इन्कम सोर्स (आयस्रोत) सुरक्षित राख्नु अहिलेको समयको माग हो ।

फिल्म क्षेत्रमा पारिश्रमिकको समस्या अझै पनि छ भनिन्छ, तपाईंले पनि त्यस्तो भोग्नुभएको छ ?

हो, यो एकदमै तितो यथार्थ हो । मैले भर्खरै एउटा फिल्मको पारिश्रमिक पाउन निकै संघर्ष गर्नुपर्‍यो । पैसा दिन निर्माताहरूले निकै आलटाल गरे । मैले निकै सजिलो गरिदिएको थिएँ– थोरै–थोरै गरेर दिए पनि हुन्छ भनेकी थिएँ, तर उनीहरूले सहजलाई कमजोरी ठाने । दबाब दिएपछि पैसा दिए । कलाकारले आफ्नो श्रमको उचित मूल्य पाउनु उसको अधिकार हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप