शीतल निवासमा आक्रमण र आगजनीको नालीबेली
सारांश
- जेनजी आन्दोलनका क्रममा शीतल निवासमा भएको तोडफोड र आगजनीबारे सहायक रथी मनोज वैदवारले विवरण सार्वजनिक गरे।
- सेनाले मानवीय क्षति रोक्न गोली चलाएन, प्रदर्शनकारीले गेट तोडेर प्रवेश गरेपछि आगजनी सुरु भयो।
- राष्ट्रपति र उनको परिवारलाई सुरक्षित स्थानमा सारियो र सेनाले भवन जोगाउन ध्यान दिएको थियो।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासमा भएको तोडफोड र आगजनीको घटनाबारे सुरक्षा कमाण्डर सहायक रथी मनोज वैदवारले विस्तृत विवरण सार्वजनिक गरेका छन्। जाँचबुझ आयोगलाई बयान दिँदै उनले ठूलो मानवीय क्षति हुन नदिन र राष्ट्रपतिको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिनका लागि सेनाले गोली प्रहार नगरेको स्पष्ट पारेका छन्।
वैदवारका अनुसार २०८२ भदौ २४ गते बिहान ११ बजेदेखि नै प्रदर्शनकारीहरू विभिन्न स्थानमा जम्मा हुन थालेका थिए। शीतल निवासको सुरक्षाका लागि २२४ जना नेपाली सेनाको टोली तैनाथ गरिएको थियो भने समन्वयका लागि ९ जना नेपाल प्रहरीको सानो टुकडी मात्र उपस्थित थियो।
दिउँसो साढे १२ बजे र २ बजे गरी दुई पटक राष्ट्रपतिले परिस्थितिबारे छलफल गरेका थिए। उनले अन्तिम समयसम्म शीतल निवासमै बस्ने इच्छा व्यक्त गरे पनि दिउँसो ३ बजेपछि बालुवाटारतर्फबाट हजारौँको संख्यामा आक्रोशित भिड शीतल निवासतर्फ बढेपछि सुरक्षा जोखिम उच्च भएको थियो।
- १५ मिनेटको अन्तरालमा राष्ट्रपतिको उद्धार
जनआस्था साप्ताहिकको सौजन्यमा प्राप्त प्रतिवेदनमा उल्लेख भए अनुसार प्रदर्शनकारीको लक्ष्य शीतल निवास नै भएको स्पष्ट भएपछि ३:१५ बजे राष्ट्रपति र उनको परिवारलाई एडिसी टोली र विशिष्ट सुरक्षा निर्देशनालयको सहयोगमा सुरक्षित स्थानमा सारिएको थियो। त्यसको ५ मिनेटमै अर्थात् ३:२० बजे प्रदर्शनकारीहरूले गेट नम्बर १ र २ बाट भित्र छिर्ने प्रयास गरेका थिए। गेटमा सेनाले रोके पनि १ नम्बर गेटको दायाँ-बायाँ रहेको होचो पुरानो पर्खालबाट ठूलो संख्यामा भिड परिसरभित्र प्रवेश गरेको वैदवारले बताए।
- गोली नचलाउनुको कारण र क्षति
‘आक्रोशित भिडमाथि गोली प्रहार गर्दा ठूलो मानवीय क्षति हुन सक्ने देखिएकाले हतियारबाट फायर खोलिएन,’ सहायक रथी वैदवारले बयानमा भनेका छन्। सेनाले सम्झाउँदा-बुझाउँदा पनि भिडले तोडफोड र आगजनी सुरु गरेपछि दिउँसो ४ बजेतिर आगो व्यापक बनेको थियो। पुराना संरचना, कार्पेट र पर्दाका कारण आगो छिटो फैलिँदा शीतल निवासको पूर्वी र उत्तरी भाग तथा प्रि-फ्याब घरहरूमा क्षति पुगेको छ। यद्यपि, सेनाले घेरा हालेर दक्षिणतर्फको कार्यालय, सवारी साधन र राष्ट्रपतिको निवास भवनलाई भने पूर्ण रूपमा सुरक्षित राख्न सफल भएको दाबी गरिएको छ।
सेनाको कुनै पनि हतियार हराएको छैन र चेन अफ कमाण्डअनुसार नै सुरक्षा कार्यविधि पालना गरिएको उनले जिकिर गरे। आवासीय क्षेत्र भएकाले हवाई फायर वा अश्रुग्यास प्रयोग गर्दा गम्भीर दुर्घटना हुन सक्ने जोखिम देखिएकाले सैन्य टोली पछि हटेर मुख्य भवन जोगाउन केन्द्रित भएको उनको निष्कर्ष छ। उनले आगामी दिनमा यस्ता विशिष्ट कार्यालयहरूको पर्खाल र सुरक्षा संरचनालाई बहु-तहको बनाउनुपर्ने र बिना हतियार आउने भिडलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको भूमिकालाई थप योजनाबद्ध बनाउनुपर्ने सुझाव दिएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण