बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सन् २०१४ पछि पहिलोपटक विश्वकपमा छनोट नजिक इटाली

शुक्रबार, १३ चैत २०८२, ०८ : ०७
शुक्रबार, १३ चैत २०८२

सारांश

  • इटालीले उत्तरी आयरल्याण्डलाई २-० गोलले हराएर विश्वकप छनोटको यात्रा कायमै राख्यो।
  • खेलमा सान्ड्रो टोनाली र मोइस किनले गोल गरे, जसले इटालीको जित सुनिश्चित गर्यो।
  • इटालीले अब विश्वकपका लागि बोस्निया-हर्जगोभिनासँग प्रतिस्पर्धा गर्नेछ।

बेर्गामो । चार पटकको विश्वविजेता इटाली सन् २०१४ पछि पहिलोपटक विश्वकपमा छनोट हुने लक्ष्यको निकै नजिक पुगेको छ।

बेर्गामोमा सम्पन्न प्ले-अफ सेमिफाइनलमा उत्तरी आयरल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै इटालीले आफ्नो छनोट यात्रा कायमै राखेको हो। यो जितसँगै इटालीले लगातार तीनवटा विश्वकप गुमाउने संकटापन्न स्थितिबाट जोगिने संकेत देखाएको छ।

न्यु ब्यालेन्स एरिनामा भएको खेलको पहिलो हाफमा उत्तरी आयरल्याण्डले इटालीलाई कडा चुनौती दिएको थियो। तर, खेलको ५६औँ मिनेटमा न्युकासल युनाइटेडका मिडफिल्डर सान्ड्रो टोनालीले पेनाल्टी क्षेत्रको छेउबाट शक्तिशाली प्रहार गर्दै घरेलु दर्शकलाई राहत दिलाए।

दोस्रो हाफमा उत्तरी आयरल्याण्डले बराबरीका लागि दबाब बढाए पनि ८०औँ मिनेटमा मोइस किनले पोस्टको भित्री भाग छुँदै दोस्रो गोल गरेपछि इटालीको जित सुनिश्चित भयो।

प्रशिक्षक माइकल ओ'निलको नेतृत्वमा मैदान उत्रिएको उत्तरी आयरल्याण्डको टोली दोस्रो विश्वयुद्धपछिकै दोस्रो कान्छो टोली थियो। ४० वर्षपछि विश्वकप खेल्ने सपना बुनेको यो युवा टोलीले इटालीलाई सुरुवाती समयमा निकै अप्ठ्यारोमा पारेको थियो। तर, अग्रपंक्तिमा राम्रो फिनिसिङ हुन नसक्दा उनीहरूले इटालीका गोलरक्षक जियानलुइगी डोनारुम्मालाई खासै परीक्षण गर्न सकेनन्। विशेषगरी कोनर ब्राडली, ड्यान बालार्ड र अली म्याककान जस्ता प्रमुख खेलाडीहरूको अनुपस्थिति उत्तरी आयरल्याण्डका लागि महँगो सावित भयो।

जेनारो गाटुसोको प्रशिक्षणमा रहेको इटालीले अब विश्वकपको टिकटका लागि बोस्निया-हर्जगोभिनाको सामना गर्नेछ। बोस्नियाले अर्को सेमिफाइनलमा वेल्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

मंगलबार हुने इटाली र बोस्निया बिचको विजेता टोलीले विश्वकपको समूह ‘बी’ मा स्थान पाउनेछ, जहाँ आयोजक क्यानाडा, स्विजरल्याण्ड र कतार रहेका छन्। विश्वकपको दौडबाट बाहिरिएको उत्तरी आयरल्याण्डले अब कार्डिफमा वेल्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप