प्रधानमन्त्री–सांसदबिचको छलफलबारे के भन्छन् केरुङ, राई र शाही ?
सारांश
- प्रधानमन्त्री बालेन शाहले कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरे।
- सांसदहरूले सुशासन, विकास निर्माण, र बजेट व्यवस्थापनका विषयमा आफ्ना कुरा राखे।
- प्रधानमन्त्रीले बजेट व्यवस्थापन, महत्त्वपूर्ण कामहरू तत्काल सम्पन्न गर्न र सबै क्षेत्रलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोशी र कर्णाली प्रदेशका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको उक्त छलफलमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट पाँचथरबाट निर्वाचित नरेन्द्र केरुङ र नेकपा एमालेका तर्फबाट धनकुटाबाट निर्वाचित राजेन्द्र राईसमेत सहभागी थिए ।
यस्तै कर्णाली प्रदेशबाट राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही समेत सहभागी थिए ।
छलफलका विषयमा सांसदहरू केरुङ, राई र शाहीको भनाइ जस्ताको तस्तै-
नरेन्द्रकुमार केरुङ
सुशासन अनि विकाससँग सम्बन्धित तत्काल गर्न सकिने योजनाका बारेमा प्रधानमन्त्रीज्यूले हामीहरूसँग प्रस्ताव माग्नुभयो । त्यसपछि कोशी प्रदेशमा निर्वाचित हामी सबै सांसदहरूले आ–आफ्ना समस्याका विषयवस्तुहरू सुनायौँ । प्राय सांसदहरूले विकास निर्माणमा देखिएका समस्याहरूदेखि लिएर प्राज्ञिक समस्याहरू पनि राख्यौँ ।
योजना निर्माण प्रक्रियादेखि योजना कार्यान्वयन प्रक्रियासम्मका जटिलताहरूको विषयहरु राम्ररी उठ्यो ।
हाम्रा सुझावहरु विकास, जनताले पाउनुपर्ने सेवा सुविधासँग सम्बन्धित थिए । संगै जिल्लामा भोग्नु परेका समस्यालाई पनि राख्यौँ । समाधानका लागि गर्न सकिने कामबारे पनि आ–आफ्ना ‘आइडिया’ सेयर ग¥यौँ । सरकारको प्रक्रियागत त्रुटिको कारणले ढिलासुस्ती भएका, विषयवस्तुहरूमा हामीले लामो, आफ्नो जिल्लाको पुरै समस्या त्यहाँ प्रस्तुत ग¥यौँ ।
प्रतिनिधि सभा सदस्यहरूले आ–आफ्ना कुरा राखिसकेपछि प्रधानमन्त्रीज्यूले बजेट व्यवस्थापन गर्ने, महत्त्वपूर्ण कामहरू तत्काल सम्पन्न गर्न प्रयास गर्ने, अनुशासन कायम राख्ने बताउनु भयो । त्यस्तै बजेट व्यवस्थापनमा विषयवस्तु समेट्न कोसिस रहने बताउनु भयो ।
बजेट विनियोजनमा कसैलाई काका–पाका नगरिने उहाँको भनाइ थियो । उहाँले आफू मधेसमा जन्मेको, काठमाडौँमा काम गरेको, उहिले झापाबाट निर्वाचन जितेकाले सबै ठाउँलाई बराबर हेर्ने बताउनु भयो । समन्यायिक हिसाबले बजेटहरू बाँडिन्छन्। त्यसका निम्ति पनि हामी छलफलहरू गर्छौँ भन्ने कुराहरू उहाँले राख्नुभयो ।
राजेन्द्र राई
प्रधानमन्त्रीज्यूले तत्काल गर्न पर्ने आयोजनाहरू के के छन् ? जिल्लाका समस्या के के छन् ? त्यो भन्नुस् भन्नुभयो । सांसदहरूले आ–आफ्नो जिल्लाको समस्या राख्नुभयो । राष्ट्रिय रूपमा के–के विषयमा काम गर्न सकिन्छ भन्नेबारे पनि प्रधानमन्त्रीले राय माग्नुभएको थियो ।
मैले देशको सुशासन, संवृद्धि, विकास, गरिबी हटाउन, जनताको इन्कम बढाउनको निम्ति शान्ति चाहिन्छ । शान्ति कायम भएन भने यो सम्भव छैन । तपाईंहरु जुन हुटहुटीले मुलुकलाई बदल्न आउनुभएको छ, यो राम्रो कुरो हो । शुभकामना छ । तर शान्ति कायम गर्नेमा, अहिले हाम्रो अध्यक्षलाई, राजनीतिक प्रतिशोध साँधेर बिना कारण पक्राउ गर्नुभएकोले यसबारे पहिला ज्ञारेन्टी हुनुपर्छ ।
प्रधानमन्त्रीज्यू पहिला ठ्याक्क कुर्सीमा बसेर माननीय ज्यूहरु तत्काल गर्न पर्ने कुरा के के छन् भन्नुस् भन्नुभयो, सबैले आ–आफ्ना कुरा राख्यौँ । अन्तिममा उहाँले यो १० वर्ष त सुशासनको कुरो हो । विकासमा कुनै पनि पक्षपात हुँदैन । हामी यो देश विकास गर्न आएका हौं, हामी देश विकास गर्छौँ । भनेर उठनुभयो ।
ज्ञानबहादुर शाही
विशेष गरेर हामीले कर्णालीका विषयमा कुरा राख्यौ । कर्णालीको हकमा पहिला बजेट च्यात्नुपरेको थियो अव त्यस्तो अवस्था नआओस् । कर्णालीका सडक स्तरोन्नति गर्न अपिल गरेका छौ । विकास निर्माणसँग जोडिएका कुरा छन् । दुर्गममा स्कुल बनाउनुपर्छ भनेर आएको बजेट रोकिएको थियो त्यो खुलाउनुस् भनेका छौ । अर्को काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुस् । बन ऐन संशोधन गरेर स्याउ, आरु, ओखरलगायत निर्यात गर्न काठको कार्टुनको व्यवस्था गर्न र जडीबुटी उत्पादनका लागि प्रशोधन केन्द्र स्थापना गर्न अपिल गरेका छौ । त्यस्तै स्वास्थ्य बिमा खुलाउन माग गरेका छौ । सहकारी ठगीलाई कारबाही र ठगहरुबाट असुलेर पीडितलाई दिनुस् भनेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण