मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विजय मल्ल भाग–२

विजय मल्लका बुबाको कथा

शनिबार, २१ चैत २०८२, ०९ : ००
शनिबार, २१ चैत २०८२

सारांश

  • ऋद्धिबहादुर मल्लले राणाकालीन समयमा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि 'शारदा' पत्रिकाको स्थापना गरी अतुलनीय योगदान पुर्‍याएका थिए ।
  • उनले कठिन परिस्थितिमा पनि विभिन्न साहित्यिक कृतिहरू अनुवाद गर्दै नेपाली साहित्यका महारथीहरूलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
  • मल्लको राष्ट्रियताप्रतिको निष्ठा र नेपाली भाषाप्रतिको अगाध श्रद्धाले गर्दा उनको परिवार भाषिक एकताको एक उदाहरणका रूपमा स्थापित भएको छ ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि ‘शारदा’ पत्रिकाले अत्यन्तै ठूलो लगानी गरेको छ । नेपाली साहित्यका महारथीहरूको आविष्कार गराउने गुरुत्तर भूमिका पनि त्यही पत्रिकाले खेलेको थियो । कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटालाई समेत बलियो ओत दिने, प्रोज्ज्वल पार्ने र स्थापित गर्ने कामसमेत ‘शारदा’ले गरेको थियो । 

त्यस बेलासम्ममा धेरै जना साहित्यकारलाई क्षितिज देखाउने काम शारदाले नै गरेको थियो । कतिसम्म भने भवानी भिक्षु नेपाली भाषा लेख्न जान्दैन थिए । उनलाई पनि शारदाले नै नेपाली भाषाको अब्बल दर्जाको लेखक बनायो । अन्ततः उनी पनि नेपाली भाषासाहित्यका अमर प्राज्ञ बने । अनि त्यस्तो अलौकिक शारदाका निर्माताको नाउँ हो— ऋद्धिबहादुर मल्ल । 

ऋद्धिबहादुर मल्लको जन्म १९५५ साल मङ्सिर २४ गते बनारसको बरुणापुल कोठीमा भएको थियो । उनी सुब्बा वीरबहादुर मल्ल र उनकी कान्छी पत्नी नीरकुमारीका जेठा छोरा थिए । 

ऋद्धिबहादुर मल्लका बुबा वीरबहादुर मल्ल जङ्गबहादुरकी कान्छी छोरी दीपकुमारीका सेवामा बाँधिएका थिए । वीरशमशेर प्रधानमन्त्री भएपछि उनले दीपकुमारीलाई देश निकाला गर्दा वीरबहादुर पनि अधिराजकुमारीसँगै बनारस पुगेका थिए । त्यही परिवेशमा ऋद्धिबहादुर मल्ल त्यहीँ जन्मेका थिए । ऋद्धिबहादुरको बाल्यकाल र किशोरावस्था राणाको आडभरोसामै बितेको थियो । तर इतिहासको सेरोफेरो पर्गेल्दा ऋद्धिबहादुर भक्तपुरका राजा भूपतीन्द्र मल्लका वंशज मानिन्छन् । वास्तवमा वीरबहादुर मल्लका खलक भक्तपुरबाट काठमाडौँमा बसाइँ सरेका थिए । 

ऋद्धिबहादुर मल्ल बि.सं. १९६४ सालमा दरबार हाईस्कुलमा भर्ना भएका थिए । १९७५ सालसम्म नेपालका शिक्षण संस्थामा नेपाली भाषाको पढाइ हुँदैन थियो । दरबार हाईस्कुलमा समेत नेपाली भाषाको मान्यता थिएन । तर ऋद्धिबहादुर मल्लले म्याट्रिक दिने बेला अर्थात् १९७६ सालदेखि दरबार हाईस्कुलमा नेपाली भाषा मातृभाषाका रूपमा प्रयोग हुन थालेको थियो ।

ऋद्धिबहादुर मल्लले बाइस वर्ष लाग्दा कोलकाताबाट म्याट्रिक पास गरेका थिए । त्यसबापत राज्यले उनलाई दोसल्ला ओडाएको थियो र हात्तीमा राखेर काठमाडौं सहर घुमाएको थियो । अनि त्यस प्रकारको सम्मान प्राप्त गर्ने उनी अन्तिम व्यक्ति भए । १९७६ सालपछि राज्यबाट यो काम बन्द भएको थियो । 

ऋद्धिबहादुर मल्लले घरको दयनीय आर्थिक अवस्थाका कारण कलेज स्तरको शिक्षा लिन सकेनन् । त्यसैले उनी जागिरमा लागे । यसै सिलसिलामा उनी सुब्बा भए । जुद्धशमशेरकी छोरीको निजी सचिव भएर नै उनले आफ्नो युवा अवस्था कटाएका थिए । 

अनि त्यो कृति छापिएपछि कलकत्ता विश्वविद्यालयको नेपाली विभाग र दार्जिलिङका शिक्षण संस्थाहरूमा पढाइ हुन थालेको थियो ।

किशोरावस्थादेखि नै ऋद्धिबहादुर मल्लको साहित्यमा निक्कै झुकाव थियो । युवा अवस्था टेक्तानटेक्तै उनले साहित्य लेख्न थालेका थिए । नेपाली साहित्यमा पाइला राखेर उनले १९७९ सालमा ‘शर्मिष्ठा’ नामक एउटा सानदारको उपन्यास लेखेका थिए । त्यो कालखण्डमा उनी भारतको रामनगरमा रामराजाको मुद्धाको वारिसे भएर मोतीहारीमा मुद्धा खेपिरहेका थिए । त्यसै प्रसङ्गमा उनले लेखे पनि— ‘दिनभरि मुद्धाको काम गरी केही समयको अवकाश निकालेर लेख्न प्रयास गर्न थालेँ र त्यसै मौकामा मैले नेपालीमा ‘शर्मिष्ठा’ नामक पुस्तक मोतीहारीबाट प्रकाशित गरेँ ।’ 

अनि त्यो कृति छापिएपछि कलकत्ता विश्वविद्यालयको नेपाली विभाग र दार्जिलिङका शिक्षण संस्थाहरूमा पढाइ हुन थालेको थियो । साथै उनले विश्व साहित्यको चर्चामा आएका ६ वटा उपन्यास ‘चरित्रहीन’, ‘गोरा’, ‘आँखाको कसिङ्गर’, ‘नाट्रिड्यामको कुम्भे’, ‘शेषप्रश्न’ र ‘डुङ्गा पल्टियो’ नेपाली भाषामा अनुवाद गरेका थिए । उनीद्वारा अनूदित ती कृतिले त्यस बेला चर्चाको शिखर चुमेकै थिए । त्यस बेलादेखि सधैं मल्लको लेखनको ख्याति चम्किरह्यो । 

ऋद्धिबहादुर मल्लले लेखेको एउटा किताबबारे निक्कै उल्लेख्य तर दुःखद प्रसङ्ग पनि गाँसियो । कुरो के हो भने उनले लेखेको ‘शकुन्तला’ नामक पुस्तक जुद्धशमशेरले छपाइदिनु भन्ने हुकुम गरे । अनि त्यो किताबको पाण्डुलिपि शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरका हातमा गयो । तर दुई वर्षसम्म पनि त्यस किताबको अवतरण हुन सकेन । अन्ततः मल्लको सोही किताब कर्णेल शिवप्रतापशमशेर थापालाई लेखक बनाएर प्रकाशनमा आएको रहेछ । यस्तो घटनाले मल्ल चकित परे । आफ्नो किताबको लेखकमा अर्कैको नाउँ छापिएको देख्नुपर्दा मल्ल भुटभुटिए, छटपटाए र पिरिनुसम्म पिरिए । रुनुसिवाय मल्लको त्यस्तो अरू केही उपाय थिएन ।

ऋद्धिबहादुर मल्ल उत्साही थिए । त्यसैले उनको योजना भत्काउन राणाका वरिपरिका मान्छे जागरूक थिए । तर उनले जेजस्तो चेपुवामा परेर पनि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि शारदाको एउटा विशाल वटवृक्ष बनाए । वास्तवमा नेपाली भाषासाहित्यको आधुनिक अवस्थाको महत्वपूर्ण जरा ऋद्धिबहादुर मल्ल नै पनि एक थिए । उनको तन, मन, धनले लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटासम्मले नेपाली साहित्यमा ख्याति आर्जन गरे । 

त्यति मात्र होइन शारदा पत्रिका लेखकहरूकै एउटा सङ्गठन पनि थियो । त्यस बेला त्यस पत्रिकाको कार्यालयमा स्रष्टाहरूको भीड लाग्थ्यो । त्यस घडी शारदा प्रकाशन भन्नु नेपाली साहित्यकारका लागि एउटा विशिष्ट मञ्च नै थियो । यसै विषयमा धेरैले उनको गाथा गाउँदै पनि आए । 

ऋद्धिबहादुर मल्लको शारदा प्रकाशनको शृङ्खला पनि बेग्लै छ । सरदार रुद्रराज पाण्डेले शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरलाई भनसुन गरेर सुब्बा ऋद्धिबहादुर मल्ललाई शारदा प्रकाशन गर्ने निर्णय गराएका थिए । वास्तवमा रैतीले पढेको, लेखेको र भाषण गरेको राणा शासकलाई फिटिक्कै मन पर्दैनथ्यो । यदि कसैले स्वीकृति नलिई यसो गरेमा राणाले त्यस्तालाई रूखमा झुन्ड्याएर तलबाट गोली हानिदिन्थे । त्यस्तो कालरात्रिका बेलामा पनि मल्ल पत्रिका प्रकाशन गर्न तम्सेका थिए । 

उनले एउटा सर्तमा शारदाको सम्पादन र प्रकाशन गर्न पाउने भए, त्यो सर्त थियो— शारदामा प्रकाशन गरिने लेखरचनाहरू नेपाली भाषा प्रकाशिनी समितिबाट पास गराएर मात्र ती लेखरचना प्रकाशन गर्न पाइने भयो । जसअनुसार त्यसबखत नेपाली भाषा प्रकाशिनी समितिमा शारदाको लेखरचना जाँच पास गर्ने मात्रै चालिस जनाको टोली थियो । ती चालिस जनामध्ये कुनैकुनै सिल्ली जाँचकीले राम्रा–राम्रा लेखरचना आफ्ना नाउँमा पनि छाप्थे । त्यही कोटिका एक जना लेखक थिए— शिवप्रतापशमशेर थापा ।

राणाकालीन युगमा विविध प्रपञ्च भोगेर पनि कहिले चल्दै र कहिले बन्द हुँदै आएको शारदा २००७ सालको प्रजातन्त्र आएपछि स्वात्तै सुकेको थियो ।

शारदा पत्रिका २००१ सालको माघेसङ्क्रान्तिदेखि ऋद्धिबहादुर मल्लकै सम्पादन र प्रकाशनमा आउन थाल्यो । अनि यस पत्रिकालाई रुद्रराज पाण्डेले सशक्त रूपमा सहयोग पुर्‍याएका थिए र प्रेमराज शर्माले पनि गतिलो मद्धत गरेका थिए । शारदा प्रकाशनका लागि मल्लसँग होस्टेमा हौँसे गर्नेहरूमध्ये बालकृष्ण सम, जितेन्द्रबहादुर शाह, बडाकाजी मरिचीमान सिंहको अतुलनीय भूमिका थियो । तर नरेन्द्रमणि आचार्य दीक्षितले भने यस पत्रिकाको जरा उखेल्ने मात्रै काम गरेका थिए तापनि दुक्खसुक्ख शारदा चलिरह्यो । तर क्रमशः शारदालाई बन्द गराउन धेरैको चालबाजी चलेकै थियो । 

राणाकालीन युगमा विविध प्रपञ्च भोगेर पनि कहिले चल्दै र कहिले बन्द हुँदै आएको शारदा २००७ सालको प्रजातन्त्र आएपछि स्वात्तै सुकेको थियो । परिणामस्वरूप यो पत्रिका बन्द पनि भयो । यति हुँदाहुँदै पनि यस पत्रिकाले आफ्नो अस्तित्व यस नेपाली भाषाको संसारमा देखाएको थियो । शारदा बन्दकालीन समयमा भने ऋद्धिबहादुर मल्लले आवाज दैनिक पत्रिका निकाल्न थालेका थिए ।

शारदाको नाउँमा गाँसिएको अर्काे संस्था हो– जोरगणेश प्रेस । आफ्नो पेसाका लागि ऋद्धिबहादुर मल्लले खरदार तीर्थराज सुवालसँग साझेदारीमा प्रेस खोलेका थिए । अनि त्यस प्रेसको नाउँ जोरगणेश प्रेस राखिएको थियो । तर केही समयपछि नै खरदार सुवालले प्रेसबाट हात झिके । त्यसपछि मल्ल एक्लैले जोरगणेश प्रेस सञ्चालन गर्न थाले । अनि त्यसै पे्रसबाट नै शारदा पत्रिका पनि प्रकाशित भइरह्यो ।

शारदायुग नै नेपाली साहित्यको इतिहासका लागि उपलब्धिपूर्ण समय मानिन्छ । राणा शासनको जगजगीमा नै शारदा प्रकाशित हुनु भनेको साहस, चुनौती र चमत्कारीपूर्णको काम थियो । त्यही कामको सङ्क्षिप्त चिनारी हो— ऋद्धिबहादुर मल्ल । 

नेपाली साहित्यको आधुनिक युगको प्रारम्भिक नाउँ नै शारदाकाल हो । वास्तवमै ऋद्धिबहादुर मल्ल छैठौँ चेतनाका धनी थिए । उनी चतुरका नमुनै थिए । उनी जति चतुर थिए त्यति नै शिष्ट थिए, अनि जति शिष्ट थिए त्यति नै विलक्षण पनि । त्यसैले उनी आफ्नो काममा सफल भए ।

राणाको स्तुति र चाकरी गरेर नै ऋद्धिबहादुर मल्लले शारदालाई सञ्चालन गरिरहे । अनि २००७ साल फागुन ७ गते प्रकाशित भएको दैनिक ‘आवाज’ प्रकाशित गर्ने पनि मल्ल नै थिए । वास्तवमा उनी परिस्थितिअनुसार काम गर्थे ।

ऋद्धिबहादुर मल्लको विवाह १९७० सालमा साहू द्वारिकादास मूलकी छोरी आनन्दकुमारीसँग भएको थियो । अनि यी दम्पतीबाट चार जना छोरा गोविन्दबहादुर, विजयबहादुर, फत्तेबहादुर, हिक्मतबहादुर र एक जना छोरी शान्तिदेवीको जन्म भएको थियो । गोविन्दबहादुर मल्ल ‘गोठाले’ र विजयबहादुर मल्लले नेपाली भाषासाहित्यका महारथीमा आफूहरूलाई ससम्मान स्थापित गरे ।

ऋद्धिबहादुर मल्लको मात्रृभाषा नेवारी थियो । तर यी नेपाली भाषाप्रति अगाध श्रद्धा राख्थे । कतिसम्म भने ऋद्धिबहादुरका छोरा गोविन्दबहादुर मल्ल ‘गोठाले’ र विजयबहादुर मल्लका घरमा नेपाली भाषामा नै बोलचाल गरिने परिपाटी थियो । उनीहरू राजधानीका नेवार भएर पनि नेवारी भाषा बोल्न रुचाउँदैन थिए । 

ऋद्धिबहादुर मल्ल राष्ट्रियताका पनि धूमधाम हिमायती थिए । वर्तमान भाषिक विखण्डनका दिशामा अग्रसर नेपालका लागि ऋद्धिबहादुरको परिवार नै राष्ट्रवाद र भाषिक एकताको उदाहरणका रूपमा सम्पूज्य मानिन्छ ।

ऋद्धिबहादुर मल्ल २०२५ वैशाख ५ गते काठमाडौँमा स्वर्गीय भए । अनि श्री ५ को सरकारले सम्मानस्वरूप २०५४ सालमा उनको मुहारचित्रअङ्कित दुई रुपियाँ मूल्यको हुलाक टिकट प्रकाशनमा ल्याएको थियो ।

(नेपाली साहित्यका मुर्धन्य साहित्यकार विजय मल्लमाथि नरेन्द्रराज प्रसाईद्वारा लिखित धारावाहिक जीवनी क्रमशः प्रस्तुत गरिनेछ । यो त्यसको दोस्रो भाग हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप