बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

चुनावपछि प्रलोपामा निराशा, ५ जनाको अध्यक्ष परिषदमा २ जनामात्रै बाँकी !

मङ्गलबार, ०१ वैशाख २०८३, ११ : ३३
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भित्र निराशा र अलमल देखिएको छ ।
  • पार्टीको पाँच सदस्यीय अध्यक्ष परिषद्का तीन जना अध्यक्षले राजीनामा दिएपछि हाल दुई जना मात्रै बाँकी रहेका छन् ।
  • निर्वाचनको समीक्षा गर्न र राजीनामाको विषयमा निर्णय लिन वैशाखको तेस्रो साता केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि प्रगातिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा अलमल र निराशा देखिएको छ । भदौको जेनजी आन्दोलनपछि विशेष परिस्थितिलाई ध्यान दिएर मंसिरको पहिलो हप्ता प्रलोपा गठन भएको थियो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संरक्षक रहने गरी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा माओवादी केन्द्रबाट अलग भएको जनार्दन शर्मा समूह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग भएका सन्तोष परियार समूह मिलेर पार्टी गठन गरिएको थियो । तर निर्वाचनमा अनपेक्षित हारको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष परिषदका अध्यक्ष दुर्गा सोवले राजीनामा दिइन् । सोवको राजीनामापछि अध्यक्षद्वय सुदन किराती र ओजस्वी भट्टराईले पनि राजीनामा दिए । निर्वाचनमा प्रलोपाले २५ हजार मत पनि कटाउन सकेन । ९० जना उम्मेदवार उठाएकोमा कसैले पनि जित निकाल्न सकेनन् । पूर्वप्रधानमन्त्री भट्टराईले पार्टीको निर्णय विपरित गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिएपछि आलोचना भएको थियो ।

अध्यक्ष परिषदबाट तीन जनाले राजीनामा दिएपछि अर्का अध्यक्ष सन्तोष परियारले चैत १९ गते अध्यक्ष परिषदको बैठक बोलाए । बैठकमा चुनावी समीक्षा, अध्यक्षहरूले दिएको राजीनामा र आगामी केन्द्रीय समिति बैठकबारे गम्भीर छलफल भएको थियो । बैठकले राजीनामा सम्बन्धमा निर्णय लिन वैशाखको तेस्रो हप्ता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । त्यसभन्दा अगाडि अध्यक्ष परिषद्को तयारी बैठक बोलाउने निर्णय गरेपनि शीर्ष नेताहरूबिच आवश्यक समन्वय र सक्रियता नदेखाएकोमा अध्यक्ष परियार असन्तुष्ट देखिएका छन् । यद्यपि आफूले जिम्मेवारीबाट राजीनामा नदिएको बताएका छन् ।

‘मैले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको छैन । निर्वाचनमा धक्का खाएपछि पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भइरहेको छ । तर जुन सक्रियताका साथ छलफल हुनुपर्थ्यो, त्यस्तो भइरहेको छैन’, रातोपाटीसँग उनले भने, ‘हामीले वैशाखको तेस्रो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिसकेका छौँ । साथीहरूले राजीनामा दिएको विषयमा निर्णय हुन्छ ।’

उनी यथास्थितिबाट पार्टी चल्न नसक्ने निष्कर्षमा पुगेको बताइएको छ ।  सुदन किराती प्रलोपा र नेपाली कम्युनिस्ट पार्टीमा नफर्किने गरी श्रम संस्कृति पार्टीसँग नियमित छलफलमा रहेका छन् ।

‘प्रलोपा र नेकपाबाट अहिलेका युवाहरूको आवश्यकता पुरा गर्न सक्दैन भन्ने निष्कर्षमा उहाँ पुग्नुभएको छ । अहिलेको आवश्यकता र विकल्प श्रम संस्कृति पार्टी बन्न सक्छ । त्यही अनुसार नै निरन्तर छलफल गरिरहनुभएको छ । सायद एक÷दुई हप्तामा निष्कर्ष निस्केला’, किराती निकटस्थ एक नेताले भने ।

यता दुर्गा सोवले नैतिक जिम्मेवारी लिएर अध्यक्ष पदबाट राजीनामा दिएपनि पार्टीबाट अलग नभएको बताइन् । तर पार्टी संरक्षकमा बसेका नेताहरूबाट पार्टी निर्माणमा जुन खलको भूमिका र सहयोग हुनुपर्ने त्यसो नभएकोमा गुनासो पोखिन् ।

‘निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने गरी हामीले तयारी गरेका थियौँ । तर अनपेक्षित चुनावी परिणाम आयो । त्यसको नैतिक जिम्मेवारी लिएर मैले राजीनामा दिएको हुँ । पार्टीबाट अलग भएको छैन’, उनले भनिन् ।

अध्यक्ष परियारले जिम्मेवारीबाट राजीनामा नदिएको उनले बताइन् । राजीनामा दिएका कसैको पनि स्वीकृत नभएको उनले जानकारी दिइन् । केन्द्रीय समिति बैठकले निर्णय गरेपछि मात्र लागु हुने सोवले बताइन् । अब अध्यक्ष परिषदमा परियार र अशोक जैसवालमात्र बाँकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप