लुम्बिनीमा रिफ्रेस सेन्टर : तीन वटामा पहिलो चरणको काम पूरा, दुई वटा निर्माण सुरु हुनै बाँकी
सारांश
- लुम्बिनी प्रदेशमा निर्माण सुरु गरिएका पाँचवटा स्मार्ट रिफ्रेस सेन्टरमध्ये तीनवटाको पहिलो चरणको निर्माण कार्य सम्पन्न भएको छ।
- बजेट अभाव र जग्गा व्यवस्थापनको समस्याका कारण दाङ र बर्दियामा निर्माण हुने भनिएका दुईवटा सेन्टरको काम सुरु हुन सकेको छैन।
- सम्पन्न भएका सेन्टरहरूलाई सञ्चालनका लागि सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
बुटवल । २०७७ सालमा लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले पूर्व–पश्चिम राजमार्गमा पाँच वटा स्मार्ट रिफ्रेस सेन्टर निर्माण गर्ने योजना अघि बढाएका थिए । त्यसमध्ये अहिलेसम्म तीन वटामा पहिलो चरणको निर्माण कार्य सम्पन्न भइसकेको छ भने दुई वटामा काम सुरु हुन सकेकै छैन ।
लामो दुरीमा चल्ने सवारी साधन रोक्ने, चालक तथा यात्रीले केही समय आराम गर्न पाउने, स्वस्थ्यकर खाना तथा नास्ता उपलब्ध हुने र शौचालय तथा स्नान गृह लगायतको सुविधा उपलब्ध गराउने गरी रिफ्रेस सेन्टर निर्माण गर्ने प्रदेश सरकारको योजना थियो ।
रुपन्देहीको सैनामैना, कपिलवस्तुको चन्द्रौटा र नवलपरासीको बर्दघाटमा रिफ्रेस सेन्टर निर्माण अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले जनाएको छ । पहिलो चरणको निर्माण सम्पन्न भएका रिफ्रेस सेन्टर स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको मन्त्रालयको भनाइ छ ।
पहिलो चरण अन्तर्गत पार्किङ, शौचालय, पानी लगायतका आधारभूत सुविधा उपलब्ध गराइएको छ भने दोस्रो चरणमा आराम गर्ने कक्ष, खाजा तथा खाना, चार्जिङ सेन्टरसहितका सुविधाका लागि संरचना निर्माण हुनेछ ।
मन्त्रालय अन्तर्गत खानेपानी महाशाखाका प्रमुख इन्जिनियर गुणनिधि पोखरेलले पहिलो चरणको निर्माण पूरा भएसँगै ती रिफ्रेस सेन्टर सञ्चालनका लागि स्थानीय तहलाई जिम्मा लगाउने विषयमा छलफल चलिरहेको रातोपाटीलाई बताए ।

उनले परियोजना सुरुगर्दा नै चरणबद्ध रूपमा काम गर्ने उद्देश्य राखिएको भन्दै दोस्रो चरणको काम सुरु गर्न बजेट अभाव भएको जानकारी दिए ।
दाङको देउखुरी र बर्दियामा रिफ्रेस सेन्टर निर्माण गर्ने योजना रहे पनि देउखुरीमा वनले जग्गा दिन नमान्दा ठेक्का लागे पनि काम सुरु हुन सकेको छैन भने बर्दियामा जग्गा व्यवस्थापन नभएको लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।
स्थानीय तह प्रमुख के भन्छन् ?
लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा पर्ने गरी निर्माण थालिएका रिफ्रेस सेन्टरअन्तर्गत कपिलवस्तुको चन्द्रौटामा पहिलो चरणको काम सम्पन्न भएको कपिलवस्तु खानेपानी कार्यालयका प्रमुख आविद हुसेनले जनाए । रिफ्रेस सेन्टरको भवन, शौचालय, पर्खाल र बोरिङ गाड्ने काम पहिलो चरण अन्तर्गत सम्पन्न भएको जानकारी दिँदै उनले शिवराज नगरपालिकासँग थप छलफल गरेर सञ्चालन गर्ने योजना रहेको प्रस्ट पारे ।
यहाँ पहिलो चरणको कामका लागि ४ करोड २ लाख ६७ हजार ६६१ रुपैयाँको ठेक्का लगाइएको थियो ।
यस्तै, रुपन्देहीको सैनामैनामा पनि निर्माण कम्पनीले पहिलो चरणको काम सम्पन्न गरिसकेको छ । यहाँ भीमेश्वर मामा जेभीले पहिलो चरणका लागि २०७७ मंसिर १२ गते रुपन्देहीको सैनामैनास्थित पिपल डाँडामा ३ करोड ५५ लाख ७९ हजारमा ठेक्का लिएको थियो ।
_RRL9kuJ1TP.jpg)
एक बिघा क्षेत्रफलमा निर्माण गरिएको सेन्टरको पहिलो चरणको भौतिक काम सकिए पनि दोस्रो चरणको काम काम गर्न बजेट अभाव भएको खानेपानी कार्यालय रुपन्देहीका प्रमुख प्रकाश केसीले बताए ।
सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले रिफ्रेस सेन्टर निर्माणको काम पूरा गरेर दिएमा सञ्चालनको जिम्मा लिन तयार रहेको जानकारी दिए ।
यस्तै नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित राजमार्गदेखि ३०० मिटर तल पारिजात सामुदायिक वन हाताभित्र रिफ्रेस सेन्टरको पहिलो चरणका अन्तर्गतका काम सम्पन्न भएको छ । तर उक्त रिफ्रेस सेन्टरको लागि पहुँच मार्ग निर्माण भइरहेको छ । अब करिब एक महिनामा पहुँच मार्गको काम सम्पन्न हुने र त्यसलगत्तै बर्दघाट नगरपालिकालाई रिफ्रेस सेन्टर सञ्चालनको जिम्मासहित बुझाउने नवलपरासी खानेपानी कार्यालयका प्रमुख दिनेश प्रकाश शाहले बताए ।
रिफ्रेस सेन्टर सञ्चालनमा आएपछि राजमार्गमा अहिलेजस्तो चालकले जहाँ मन लाग्यो त्यहाँ गाडी रोकेर यात्रुलाई शौच गराउनुपर्ने अवस्था अन्त्य हुने खानेपानी महाशाखा प्रमुख पोखरेलले बताए । लामो दुरीको यात्रामा चालक तथा यात्रु थाक्ने भएकाले रिफ्रेस सेन्टरको आवश्यकता महसुस गरिएको उनको भनाइ छ ।
उनले भने, ‘रिफ्रेस सेन्टर पूर्ण सञ्चालनमा आएपछि सरसफाइ प्रबर्द्धनका साथै थकान र अनिधोका कारण हुने सवारी दुर्घटना पनि न्यूनीकरण हुने छ ।’
रिफ्रेस सेन्टरहरू यात्रु, सवारी चालकमैत्री हुनुपर्ने र लामो दुरीमा चल्ने सवारी साधनहरूको प्राविधिक जाँच गरेपछि मात्रै गन्तव्यतर्फ पठाउने ढङ्गले सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउने योजना रहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण