मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री

ओलीले दमन गरेपनि मैले त अन्याय गर्नु हुँदैन
बिहीबार, ०३ वैशाख २०८३, १९ : ५९
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • गृहमन्त्री सुधन गुरुङले अदालतले उच्च पदस्थ व्यक्तिहरूलाई छाडिदिँदा आफ्नो कारबाही प्रक्रियामा अवरोध आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
  • उनले कानुनको राम्रोसँग अध्ययन गरेर बलियो प्रमाणसहित पक्राउ प्रक्रियालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
  • गृहमन्त्री गुरुङले जुनसुकै उच्च पदमा बसेको व्यक्ति भए पनि कानुनअनुसार कारबाहीबाट नछोड्ने जिकिर गरेका छन्।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफूले सुरु गरेको हाइप्रोफाइल पक्राउ शृङ्खलामा अदालतले ब्रेक लगाइदिएपछि असन्तुष्टि व्यक्त गरेका छन् । 

बिहीबार मन्त्रालयमा पत्रकारहरूले उनलाई प्रश्न गरे, ‘तपाईँको रफ्तार स्लो डाउन भएको हो ?‘जवाफमा मन्त्री गुरुङले हाँस्दै भने, ‘खोइ त, अदालतले छाड्ने रहेछ ।’

गृह मन्त्रालयमा पत्रकारहरूसँग पहिलोपटक छलफल गरेका मन्त्री गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको स्वीकार गरेका छन् । 

उनले भने, ‘रातभर नसुतीकन पक्राउ गरेका थियौँ, अन्त्यमा के भयो तपाईँहरूलाई थाहै छ ।’ गुरुङले थपे, ‘त्यसमा अलिकति तयारी गर्नुपर्ने रहेछ भन्ने मैले महसुस गरेको छु ।’

पक्राउ परेका उच्च पदस्थहरू धमाधम अदालतको आदेशमा छुटेकोबारे गुरुङले असन्तुष्टि व्यक्त गरे । ‘अहिले म कानुन केलाइरहेको छु’ उच्च पदस्थहरू पक्राउको शृङ्खला नरोकिने जिकिर गर्दै गुरुङले भने, ‘न्यायालयलाई अब खत्रा ब्रेकफास्ट दिन्छु ।’

जतिसुकै ठुलो भएपनि नछाड्ने मन्त्री गुरुङले बताए । उनले भने, ‘छोड्दिन म, जतिसुकै ठुला भएपनि छोड्दिनँ ।’ प्रहरीले पक्राउ गरेको आरोपीलाई न्यायालयले छाड्नै नसक्ने गरी प्रमाण सङ्कलन गरेर बुझाउने गरी आफ्नो टिमले काम गरिरहेको उनले बताए । गुरुङले भने, ‘त्यसमा हाम्रो टिमले काम गरिरहेको छ ।’

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को जेनजी आन्दोलन दमन गरेको उल्लेख गर्दै गुरुङले भने, ‘अहिले म सबैलाई न्याय दिने ठाउँमा छु, त्यसैले उनलाई पनि अन्याय गर्नु हुँदैन ।’

‘ओलीले हिजो हामीलाई त्यत्रो दमन गरे तर, मैले उनलाई पनि अन्याय गर्नु त भएन नि,’ गुरुङले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप