शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तातो लहरको चेतावनी : तराई क्षेत्रमा ४० डिग्री नाघ्याे तापक्रम, सतर्कता अपनाउन आग्रह

सोमबार, ०७ वैशाख २०८३, १८ : ५६
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • तराईका केही स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुगेको छ।
  • आगामी तीन दिनसम्म तराईका क्षेत्रमा अत्यधिक गर्मी र तातो लहरको सम्भावना कायम छ।
  • जल तथा मौसम विज्ञान विभागले गर्मीबाट बच्न सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौँ । देशका विभिन्न तराई क्षेत्रहरूमा अत्यधिक गर्मी बढ्दै गएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले साेमबार जारी गरेको विशेष बुलेटिन अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुगेको छ।

त्यसैगरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा तापक्रम ३८ डिग्री सेल्सियस आसपास मापन गरिएको छ, जसले गर्दा जनजीवन प्रभावित हुन थालेको छ।

विभागका अनुसार आगामी तीन दिनसम्म पनि यी क्षेत्रहरूमा अत्यधिक गर्मी कायम रहने सम्भावना छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मध्यम स्तरको तातो लहर (हीटवेभ) चल्ने अनुमान गरिएको छ।

तातो हावा र तातो लहरका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, मांसपेशी दुख्ने, बान्ता हुने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने चेतावनी दिइएको छ।

सतर्कता अपनाउन सुझाव

विभागले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै निम्न उपायहरू सुझाएको छः

  • अत्यधिक गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने
  • चर्को घाममा बाहिर ननिस्किने
  • हल्का र सुती कपडा लगाउने
  • बाहिर निस्कँदा टाउको छोप्ने वा टोपी प्रयोग गर्ने
  • पर्याप्त मात्रामा पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) सेवन गर्ने
  • स्वास्थ्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श गर्ने

विभागले मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा सार्वजनिक गरिने जनाएको छ र सबैलाई आधिकारिक स्रोतबाट सूचना लिन अनुरोध गरेको छ।

तातो लहरको जोखिम बढ्दै जाँदा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र बाहिर काम गर्नेहरूलाई अझ बढी सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

677222201_1966579877584421_3395971741995592269_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप